arrow

ललिता निवास जग्गा प्रकरणको बहस आजै सक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
lalita-niwas-aaropi-2080-03-13.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा कीर्ते गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँमा दायर भएको मुद्दामा चलिरहेको थुनछेक बहसलाई न्यायाधीशले कडाई गर्न थालेका छन् । 

सरकारी वकिलको तर्फबाट दायर मुद्धामा हालसम्म ८ जना अधिवक्ताले प्रतिवादीका तर्फबाट बहस गरेको र अझै बाँकी रहेकाले आजसम्म सिध्याउन निर्देशन दिइसकेका छन् । 

बहसका क्रममा अधिकांश कानून व्यवसायीहरूले हदम्यादको प्रश्न उठाएका छन् । वरिष्ठ अधिवक्ताहरूले पनि ललिता निवासमा हदम्याद नै नभएको मुद्दा दायर भएकाले खारेज हुनुपर्ने जिकीर गरेका थिए । 

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बालुवाटारको सरकारी जग्गा घोटाला प्रकरणमा सरकारले हदम्याद नाघेको मुद्दा अदालतमा दर्ता गराएको दाबी गरे । वरिष्ठ अधिवक्ता सुशील पन्त र शम्भु थापाले पनि यही प्रश्न उठाएका थिए । 

त्यस्तै अधिवक्ता माधवकुमार बस्नेतले पनि हदम्यादको कुरा उठाएका थिए । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको पक्षमा बहस गर्नेहरुले यस्तो प्रश्न उठाएका हुन् । 

मालपोत कार्यालयका पूर्व कर्मचारीहरू कलाधर देउजा, शिवजी भट्टराई, तत्कालीन नापी सर्वेक्षक घमनकुमार कार्की, डिल्लीबजार मालपोतका खरिदार गोपाल कार्की र समरजंग कम्पनीका सहायक लेखापाल विनोदप्रसाद पौडेलको तर्फबाट बहस सकिएको छ । 

जिल्ला न्यायधीश भोलानाथ ढकालले शुक्रबारसम्म बहस सकाउन निर्देशन दिइएको भए पनि बहस नसकिएपछि आइतबारसम्म सिध्याउन निर्देशन दिएका थिए । 

प्रतिवादी योगराज पौडेल, नारायणदास मिश्र, अरुणकुमार श्रेष्ठ, ध्रुवप्रसाद अर्याल, केशव तुलाधर, बाबुराजा महर्जन, देवनारायण महर्जन, सकलानन्द महर्जन, सञ्जयकुमार महर्जन र लोकहरि घिमिरेको तर्फबाट बहस हुन बाँकी छ । 

ललिता निवास प्रकरणमा १८ जना आरोपी थुनामा छन् । सरकारी वकिलको कार्यालयले गत हप्ता आइतबार दायर गरेको मुद्दामा २८९ प्रतिवादीबाट ७५ अर्बभन्दा बढी बिगो मागदाबी गरिएको छ । 

थुनछेक बहसमै एक हप्ता लागिसकेको छ । ललिता निवासस्थित सरकारी जग्गा हिनामिना प्रकरणका जोडिएका कुल ३१० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दायर भएको थियो । 

यीमध्ये २१ जनाको मृत्यु भइसकेकाले उनीहरुको विषयमा बहस गरिरहनु पर्ने अवस्था छैन । हाल पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ पूर्वमन्त्री यो प्रकरणमा अभियुक्त छन् । 

त्यस्तै ६ जना पूर्वसचिवहरूलाई पनि अभियोग लगाइएको छ । बहालवाला सचिव कृष्णबहादुर राउत र सहसचिव सुशील वैद्यविरुद्ध पनि अभियोगपत्र दायर भएको छ । 

आइतबार उनीहरुको तर्फबाट बहस हुनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर अभियोगपत्रमा सीआईबीले अनुसन्धान गरेर बुझाएको फाइलमा केही संशोधन गर्दै जिल्ला सरकारी बकिलको कार्यालय काठमाडौँले अभियोगपत्र दायर गरेको थियो । 

सीआईबीले सञ्चारसचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन सिफारिस गरेको थियो । तर सरकारी वकिलले उनलाईसमेत समावेश गर्दै मुद्दा चलाएको कारण उनको तर्फबाट पनि बहस गराइनेछ । 

निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाहलाई भने उन्मुक्ति दिएको छ । उनलाई उन्मुक्ति दिनका लागि राउतलाई मुद्धा दर्ता गरिएको हुन सक्ने चर्चा पनि चलेको छ । 

राउतलाई टिप्पणी उठाएर कीर्तेलाई सहयोग गरेको आरोप लगाइए पनि कानूनी राय दिन विनोदकुमार गौतमलाई भने छाडिएको छ । 

सरकारी वकिल कार्यालयले प्रतिवादीहरूसँग ६ अर्ब बढीको बिगो माग दाबी गरेको छ । 

अदालतमा दायर मुद्दामा पूर्वमन्त्री विजयकुमार गच्छदारसँग १० करोड ५१ लाखभन्दा बढी बिगो माग दाबी गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ