- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भारतमा चलेको स्वतन्त्रता आन्दोलनबाट आफ्नो औपचारिक राजनीतिक जीवनको प्रारम्भ गरेका वीपी कोइराला नेपाली राजनीतिमा कुनै नौलो नाम होइन । नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व लिएका उनलाई स्वदेश तथा विदेशका सबैजसो नेताहरुले राजनीतिक गुरुको रुपमा लिने गरेका छन् ।
समालोचक हुन पर्याप्त ज्ञान र सीपको आवश्यकता पर्दछ भन्ने वीपी कोइराला नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एक विशिष्ट धरोहर हुन् । कसैको शिरमा कालो टोपी छ वा छैन भन्ने कुराले खास अर्थ राख्दैन । यथार्थमा प्रजातन्त्र भनेको मानवीय व्यवहार हो भन्ने मान्यता राख्ने उनले नेपालमा प्रजातान्त्रिक चेतनाको बिजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।
नेपालको विकास प्रजातान्त्रिक माध्यमबाट मात्रै सम्भव भएकाले एउटा प्रजातान्त्रिक संगठन निर्माण गर्नुपर्ने निष्कर्षमा पुगेका वीपीले विसं २००३ साल कात्तिक १५ गते बनारसमा बस्ने अधिकांश नेपालीलाई समावेश गराइ मुख्यतयाः राज्य स्थापनाको दैविक मान्यतालाई चुनौती दिँदै नेपाल र नेपाली जनताको सार्वभौम अधिकार स्थापनाका लागि आफ्नो कर्तव्य नबुझ्ने राजा नै नेपाली जनताको प्रमुख शत्रु भएकाले देशमा प्रजातन्त्र स्थापनाका लागि अहिंसात्मक सशक्त जनक्रान्तिमार्फत सबै जातजाति, भूगोल, भाषा, धर्म, संस्कृति, लिंग, वर्ण लगायतका नेपालीहरु पार्टीको सदस्य तथा पदाधिकारी बन्न सक्ने आधारसहित ‘नेपाली राष्ट्रिय कांग्रेस’ पार्टीको प्रस्ताव गरेका थिए ।
नेपालमा प्रजातन्त्र प्राप्तिका लागि गरिने जनआन्दोलनको स्वरुप अहिंसात्मक हुने, आन्दोलनको सबैभन्दा सशक्त हतियार जनतालाई मान्ने, जनताका दैनिक दुःख सुख तथा आवश्यकताहरुमा पार्टीले सहकार्य गर्ने, जनजागरणको माध्यमले पार्टी संगठन बलियो बनाउने, पार्टी सदस्यता खुल्ला राख्ने, मुलुकमा नागरिक अधिकार स्थापना गरी नागरिकबाट निर्वाचित जनप्रतिनिधिमूलक विधान परिषद्ले देशको शासन व्यवस्थाको स्वरुप निर्धारण गर्ने मुख्य उद्देश्य वीपी लगायतले पार्टी स्थापना गरेका थिए । हामीले आफ्ना विरोधीहरुलाई सिद्धान्तको आधारमा जित्नुपर्छ भन्ने मूल नीति तथा राजनीतिक उद्देश्य सहित गठन भएको नेपाली कांग्रेस पार्टीलाई वीपीले समानता र न्यायको आधारमा सम्पूर्ण समाजको पुनःनिर्माण गर्ने आर्थिक लक्ष्यसम्म डोहोर्याए ।
तत्कालीन अवस्थामा ५ प्रतिशत व्यक्तिका हातमा देशको अधिकांश जमीन हुनु र ९५ प्रतिशत व्यक्ति भूमिहीन हुनुलाई वीपीले ठूलो अन्याय ठान्थे । त्यसैले भूमिसुधार र जमीनको न्यायोचित वितरण उनको प्रमुख आर्थिक एजेण्डा थियो भने जुन विकासले ग्रामीण जनतालाई पछाडि छोडिदिन्छ, त्यो विकास होइन भन्ने बुझेका वीपीले समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन भन्ने धारणा राख्दथे । तानाशाही व्यवस्थालाई प्रजातान्त्रिक संज्ञा दिने प्रयत्न गर्नु एउटा असत्यलाई अर्काे असत्यले ढाकछोप गर्नु सरह हो भन्ने वीपीले समाजवाद र प्रजातन्त्रलाई अविभाज्य विषयका रुपमा परिभाषित गरेका थिए ।
हामीले आफ्नो सिद्धान्त त्यागेर कोही कसैसँग पनि सम्झौता गर्नु हुँदैन, राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना र विचार हो भन्ने वीपीले असमानता र आर्थिक शोषण विद्यमान भएको प्रजातन्त्र प्राण नभएको शरीर जस्तो मात्र हो, त्यस्तै प्रजातन्त्र नभएको समाजवाद केबल नारा हो, शोषणको अर्को नाम हो । त्यसैले समाजवाद र प्रजातन्त्रलाई अन्तरघुलित बनाउँदै ती दुई तत्वबीच सामञ्जस्यता र सन्तुलन भएको समाज निर्माण गर्नु नै वास्तवमा नेपालका लागि प्रजातान्त्रिक समाजवाद हो भनी व्याख्या गरेका थिए ।
२०१७ सालको वीपी सरकार र प्रजातन्त्र अपहरणको घटना वीपी कोइराला र राजाबीच तानाशाही र प्रजातन्त्रको संघर्ष थियो, जहाँ सैन्य बलका आधारमा वीपीलाई तत्कालीन राजा महेन्द्रले पराजित गरे । तैपनि वीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको कुरा गर्न कहिल्यै छाडेनन् । प्रजातन्त्रका सवालमा राजासँग आफ्नो गम्भीर असहमति रहेको भए पनि राष्ट्रियताका सवालमा आफ्नो र राजाको घाँटी जोडिएको तथ्य बताइरहे । राजनीतिक र दार्शनिक रुपमा आफ्नो पहिचान बनाइसकेका वीपीले आफ्नो जीवनका हरेक कठिन मोडहरुसँग जुध्दै उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङ्मयमासमेत नयाँ चिन्तन, आयाम, परम्परा र शैली दिएर सदाका लागि अमर बन्न सफल भए ।
वास्तवमा जीवनभर प्रजातन्त्रका लागि लडेका वीपी एक शालीन, सुझबुझपूर्ण, गम्भीर चिन्तन तथा अध्ययन भएका अदम्य साहसी नेता हुन् । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने वीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रुपमा परिचित छन् ।
२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका वीपीले त्यसपछि सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसरसमेत पाए भने भारतको निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर वीपी नेपाल फर्किएपछि राजनीतिले नयाँ मोड पनि लियो । किनकि उनले राजादेखि सबै राजनीतिक दलहरु अटाउने नीति लिएर स्वदेश फर्केपछि मात्रै जनमत संग्रहको वातावरण बनेको थियो ।
तर परिणाम निर्दलीय शासन व्यवस्थाकै पक्षमा आएपछि वीपीले भनेका थिए, ‘मैले जनमत संग्रहको परिणामको विरोध गरेको भए मुलुकमा गृहयुद्ध हुने डर थियो, हजारौँ मानिस मर्न सक्थे, त्यसैले मैले इतिहासको यति ठूलो बोझ बोकेर बाँच्ने चाहना राखिन ।’ देश र जनताको लागि यो भन्दा ठूलो राजनीतिक दुरदर्शिता अरु के हुनसक्छ ?
राजनीतिमा लाग्नुको मेरो एउटा मात्रै स्वार्थ भनेको सबै नेपाली जनतालाई मेरो सरहको हैसियतमा पुर्याउनु हो भन्ने वीपी कोइरालाको मान्यता थियो । वीपीका अनुसार देशको राष्ट्रिय स्तरदेखि तल्लो स्तरसम्म एउटा यस्तो वर्ग हुन्छ, जो न सामन्त हो, न पूँजीपति नै हो । पूँजीपति वर्गलाई म धेरै राम्रो व्यापार व्यवसाय गरेर प्रशस्तै धनआर्जन गर्न सकूँ, जसले मेरो र देशको विकास होस् भन्ने स्वार्थ रहेको हुन्छ ।
तर उसले श्रमजीवी मजदूरहरुको शोषण गरिरहेको कुरा ख्याल राख्दैन भने अर्काे सामन्ती वर्ग, जसलाई प्रशस्त खेती उत्पादन गर्ने स्वार्थ हुन्छ, तर किसान र श्रमजीवीहरुको शोषणको कहिल्यै हेक्का राख्दैन र जहिलेपनि उब्जनी धेरै होस् भन्ने उसको चाहना हुन्छ । यस बीचमा एउटा त्यस्तो वर्गको उदय हुन्छ, जसले देशको माथिल्लो तहदेखि तल्लो तहसम्म अधिकार जमाएर सधै धन कमाइरहन्छ । यसले हाम्रो जस्तो मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यता स्थापित गर्न दिँदैन, यो तथ्य देश र जनताका लागि सदैव हानिकारक हुन्छ ।
वीपी आफ्नो जीवनभर कम्युनिष्टहरु सदैव जनताका बीचमा कोरा आदर्शका कुरा र चर्का भाषण गरेर जनतालाई दिग्भ्रमित पार्दै आकाश पाताल जोड्ने गर्दछन् भने पूर्वपञ्चहरु व्यवहारिकताका कुरा गरेर जनताहरुलाई अलमल्याउने कोसिस गरिरहन्छन् । त्यसैले यिनीहरुसँग कुनै पनि हालतमा सँगसँगै राजनीतिक यात्रा गर्नु भनेको प्रजातन्त्रको हत्या गर्नु हो भन्ने मान्यतामा अडिक रहे ।
भनिन्छ, वीपीले आफ्नो आदर्शमा सम्झौता गरी राजा वा कम्युनिष्टहरुसँग सहकार्य गरेको भए उनी आजीवन देशको प्रधानमन्त्री बन्ने थिए । तर वीपीले कहिल्यै पनि पदलोलुपता देखाएनन् । आज नेपालमा जननायक वीपी कोइरालाको आदर्श, विचार, सिद्धान्त तथा जीवनशैलीलाई बुझ्ने र सोही अनुसारको व्यवहार तथा आचरण देखाउने नेता तथा कार्यकर्ता कुनै राजनीतिक दलमा आबद्ध छन् कि छैनन् ? प्रश्न गम्भीर खडा भएको छ ।
अर्कोतर्फ एउटा गम्भीर तथ्य स्मरणीय रुपमा लुकेको रहेछ । नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदा वीपी पत्नी सुशीलाले काठमाडौँमा एउटा आफ्नै घर बनाउने इच्छा राखिछिन् । वीपीले प्रतिप्रश्न गर्दै भने छन् – काठमाडौँमा हामीलाई घर किन चाहियो ? हामीहरु यहाँ राम्रैसँग बस्न पाइरहेका छौँ अधिकांश नेपाली जनताहरुलाई गास, बास र कपासको ठूलो चिन्ता छ, उनीहरुले हाम्रो आशा गरिरहेका छन्, विराटनगरमा हाम्रो आफ्नै घर छ, जनताको सेवा गर्ने पदमा बसेको बेला आफ्नो सुख सुविधालाई ध्यान दिनुहुँदैन, यतिबेला त हामीले जनताको दुःखसुख हेर्ने हो, आफैँ सम्पन्न हुने अभिलाषा राखेको भए त पिताजीले जस्तै व्यापार व्यवसाय गरेको भए हुने थियो । त्यसैले तिमीले म प्रधानमन्त्री जस्तो संवेदनशील पदमा बसेका बेला आफ्ना सुख सुविधाका कुरा गर्नु स्वभाविक हुँदैन भनी जवाफ दिएपछि वीपी पत्नीबाट त्यस्तो विषय कहिल्यै उठेन ।
जननायक वीपी कोइरालाले देशमा प्रजातान्त्रिक समाजवाद र प्रजातान्त्रिक सरकारको स्थापना गरी मुलुकको सम्पूर्ण प्राकृतिक स्रोत साधनको अधिकतम सदुपयोग गर्दै वैज्ञानिक ढंगले उत्पादन एवं वितरण गरी सबै नेपाली जनतालाई युग सुहाउँदो सक्षम बनाउने सपना देखेका थिए । हाम्रो देशमा १०० जनामा ९० जना गरिब र श्रमजिवी छन्, उनीहरुलाई बिहान बेलुुका खान लगाउनको समस्या छ, नेपाल भनेको तिनै खान लगाउन नपाउने गरिब किसान र श्रमजीवी मजदूरहरुको मुलुक हो, जब म नेपालको कल्पना गर्न थाल्छु, तब तिनै गरिब, श्रमजीवी नेपालीहरुको तस्बिर मेरो मनमा झल्झली आउँछ भन्दै आँशु चुहाउँथे ।
आज काँग्रेस पार्टीमा किसान, गरिब र श्रमजीवीलाई वीपीले झैं बुझ्ने कोही नेता छ ? गरिब, किसान र श्रमजीवीले काँग्रेसको नाम लिन सक्ने कुनै आधार छ ?
अहिले असली राष्ट्रवादी तथा प्रजातन्त्रवादीहरु जसले शोषण, भ्रष्टाचार, दुराचार, अत्याचारको विरोध गरिरहेका छन्, उनीहरु पार्टीबाट अलग हुनुपर्ने अवस्था छ । जसले देश, पार्टी अनि असल नेतालाई तिरस्कार गर्दै आए, उनीहरुलाई राष्ट्रिय बफादारीको कुनै ज्ञान छैन, पार्टीभित्र उनीहरुकै हालिमुहाली बढ्दै गइरहेको छ ।
फलस्वरुप अहिले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र संघीयता खतरामा परिरहेको छ । विशेषगरी २०४६ सालको आन्दोलनपछि आजका मितिसम्म कांगे्रस नेतृत्वले सत्ता प्राप्तिका लागि कुनै न कुनै रुपमा नेपालमा रहेका विभिन्न नामधारी कम्युनिष्टहरुको संगत छोड्न सकिरहेको छैन । पछिल्लो समयमा माथिल्लो तहदेखि तल्लो तहसम्मका कांग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरुलाई भोट साटासाट गर्न, सत्ताको मोलमोलाइमा वामपन्थीहरुको वैशाखी बन्न, उनीहरुसँग सत्ता र निजी स्वार्थका लागि सम्झौता गर्न बाध्य पारिएको छ ।
कम्तीमा वीपी स्मृति दिवसको सन्दर्भमा कांग्रेस पार्टीको मूल नेतृत्वले वीपीको आदर्श, सिद्धान्त र योगदानलाई स्मरण गरोस्, महामानव वीपी कोइराला प्रति हार्दिक श्रद्धासुमन ! (लेखक अधिवक्ता हुन्) ।