arrow

मोर्चाका कार्यकर्तामा निराशापन, धर्नामा उपस्थिति न्यून

logo
प्रकाशित २०७२ मंसिर २६ शनिबार
Dharna.jpg.jpeg
महेन्द्रनगर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । 

महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ ।  महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा–सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् । 

आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् ।  त्यहाँ अहिले उनीहरूको धर्ना छैन , यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् । 

अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।  यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् । 

यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।  आन्दोलनले किसानलाई ठूलो सङ्कटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताए । 

यद्यपि मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।  मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयम्ले स्वीकारेका छन् । 

ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको सङ्ख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ