arrow

आपूर्तिमा अवरोध जारीरहे मानवीय सङ्कट आउने विश्व खाद्यको चेतावनी

logo
प्रकाशित २०७२ मंसिर २७ आइतबार
wfp-nepal.jpg.jpeg
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालको दक्षिणी सीमाबाट आपूर्तिमा अवरोध जारी रहे नेपालमा गम्भीर मानवीय सङ्कट आउनसक्नेतर्फ सचेत गराएको छ । डब्लुएफपीले जारी गरेको विज्ञप्तिमा तीन महिना पुग्न लागेको सीमा नाकाको अवरोधले नेपालमा आपूर्तिमा कमी आइरहेको र खाद्यवस्तुको मूल्यवृद्धि जारीरहे गम्भीर मानवीय सङ्कटबाट जोगिन कठिन हुने उल्लेख छ । 
 
डब्लुएफपी एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक डेभिड कातु्रडको भनाइ उद्धृत गर्दै भनिएको छ, “मूल्यवृद्धिको सामना गर्दै मानिस आफ्ना परिवारलाई खाना खुवाउन प्रयासरत छन्, भूकम्पपछिको अवस्थामा अभावको सामना गर्न नसक्दा कुपोषण बढ्न सक्ने अवस्था छ।” 
 
तीन महिनादेखिको अवरोधका कारण नेपालमा खाद्यान्न र इन्धन अभावका कारण असहज अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । 
 
नेपाल विशेषगरी भारतबाट हुने आयातमा निर्भर रहेको तथा आधारभूत खाद्य पदार्थ खाने तेल, चामल, दाल, चिनी, नुनको बजारमा कमी रहेको र त्यसको आपूर्ति कम भइरहेको विज्ञप्तिमा जनाइएको छ । 
 
दाल, खानेतेललगायतका वस्तुको मूल्य पछिल्लो तीन महिनामा ३० प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको, जुन गत वर्षभन्दा ५० प्रतिशत बढी रहेको डब्लुएफपीले जनाएको छ । 
 
वैशाखमा गएको भूकम्प र त्यसपछिका परकम्प तथा सीमा अवरोधको कारण खाद्यवस्तुको मूल्य दुई गुणानै बढेको उसले जनाएको छ । 
 
उदाहरणका रुपमा भूकम्पप्रभावित गोरखा जिल्लामा भूकम्पअघि रु दुई हजार ५०० पर्ने २५ केजी चामलको बोरा अहिले रु पाँच हजार परिरहेको, खानेतेल र चिनीको मूल्य पनि दुई गुणा बढेको विज्ञप्तिमा उल्लेख छ । 
 
विज्ञप्तिमा भनिएको छ, “अहिले देशभर पेट्रोलियम पदार्थको मूल्य महँगिएर आकाश छोएको, खाना पकाउने ग्यासको मुल्य रु आठ हजारदेखि ११ हजारसम्म प्रतिसिलिण्डर पुगेको छ, जबकी सीमामा अवरोधअघि रु एक हजार ५०० मा ग्यास भर्न पाइन्थ्यो, यो मूल्यवृद्धि ६३० प्रतिशत बढी हो ।” 
 
निर्देशक डेभिड कातु्रडले भन्नुभयो, “फेरि पनि हामी सबै पक्षलाई खाद्यान्नको आयातमा अवरोध नगर्न आग्रह गर्दछौँ, विशेषगरी दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्ने र उनका परिवारलाई यो दीर्घकालीन राजनीतिक आन्दोलनको बोझ सामना गर्ने शक्ति नरहेको जानकारी गराउँछौँ ।” 
 
एक चौथाइ नेपालीको दैनिक आम्दानी रु १२० प्रतिदिन रहेको र त्यसमध्ये ६० प्रतिशत खानामा मात्रै खर्च हुने अवस्था रहेको बताउँदै विज्ञप्तिमा प्राकृतिक विपत्तिपछिको अवस्थामा उनीहरुको क्षमतामा थप कमी आएको विज्ञप्तिमा उल्लेख छ । 
 
गत महिना पनि डब्लुएफपीले सीमामा जारी अवरोधका कारण पेट्रोलियम पदार्थको अभाव भई भूकम्पपछिको सहायता ढुवानीमा कठिनाइ भएकोबारे अवगत गराएको स्मरण गराउँदै दुई लाख २४ हजार भूकम्पप्रभावित व्यक्तिलाई खाद्यान्न पुग्न कठिनाइ भइरहेको जनाएको छ । 
 
सन २०१५ को अन्त्यसम्ममा भूकम्पप्रभावितहरुलाई आफूहरुले पुर्‍याउनु पर्ने खाद्यान्न सहयोगमध्ये एक तिहाइ मात्रै हालसम्म पुर्‍याउन सकेको तथा औषधि, जाडोमा आश्रयका लागि सामग्री जस्ता गैरखाद्यवस्तुको वितरणमा पनि असहजता आएको विज्ञप्तिमा जनाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ