arrow

गणतन्त्रमा विरोध गर्न पाइन्छ, सरकारले असन्तुष्टि समाधान गर्नुपर्छ – गगन थापा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
gaggan-thap-2080-08-06.jpg

भरतपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्रमा गणतन्त्रको विरोध गर्न पाउने बताएका छन् । उनले भरतपुर विमानस्थलमा संचारकर्मीहरुको जिज्ञासामा गणतन्त्रको सुन्दरता भनेको आफ्नो स्वतन्त्रताको अधिकतम प्रयोग गर्न पाउनु हो भन्दै सरकारले भने जनताका असन्तुष्टिलाई सम्बोधन गर्नतिर लाग्नुपर्नेमा जोड दिए । 

सरकारले नागरिकका असन्तुष्टि के कुरामा छन् भन्नेमा ध्यान दिएर त्यसको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा उनले ध्यान दिन आग्रह गरे । उनले सरकार इमानदारीपूर्वक नागरिकका असन्तुष्टि समाधान गर्नतिर लाग्ने हो भने असन्तुष्टिका आवाज पनि आफैँ घटेर जाने बताए । 

महामन्त्री थापाले नागरिकका असन्तुष्टि समाधान गर्नुको सट्टा सरकार उल्टै त्यस्तो आवाज उठाउनेविरुद्ध टिप्पणी गर्दै हिँड्यो भने सरकारका लागि पनि प्रत्युत्पादक हुनेतर्फ सचेत गराए ।

गणतन्त्र विरोधी गतिविधि बढ्दै जानुलाई कसरी हेर्नुहुन्छ भन्ने संचारकर्मीको प्रश्नमा महामन्त्री थापाले भने, ‘कुनै बेला राजाको सक्रिय शासन रहेको बेलामा यो शासनमाथि मेरो प्रश्न छ भनेर प्रश्नमात्रै उठाउँदै गर्दा पनि त्यो बेलामा हिरासतमा पर्नुपरेको, निर्वासित हुनुपरेको, त्यो बेलामा जेल जान परेको अनुभव गर्ने साथीहरु हुुनुहुन्छ, म आफू पनि त्योमध्येको एक हुँ । यो शासन ठीक छैन भन्दा राजद्रोहको मुद्दा लागेको म त्यो आफ्नो क्षण सम्झन्छु । तर गणतन्त्रको सुन्दरता भनेको के हो भने यो व्यवस्था खराब छ म यो व्यवस्थै बदल्छु भन्नेलाई पनि उसले प्रश्न गर्न पनि दिन्छ आफ्नो अधिकारको प्रयोग गर्न पनि दिन्छ । त्यसकारणका लागि हामीले यो व्यवस्था ल्याएको हो । यो व्यवस्थाको सुन्दरता भनेकै मैले मेरो स्वतन्त्रताको उच्चतम प्रयोग गर्न पाउँछु कि मैले व्यवस्थामाथि पनि प्रश्न गर्न पाउँछु । त्यसैले कसैलाई यो व्यवस्था मन पर्दैन भने मन पर्दैन भनेर भन्न पाउँछ पाउनु पनि पर्छ । तर हाम्रो संविधानले दिएको, प्रचलित कानूनले दिएको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको स्वतन्त्रताको प्रयोग गर्ने हो । त्यसैले कसैले मलाई यो व्यवस्था मन पर्दैन भन्छ भने त्यो उसको अधिकार हो उसले भन्न पाउँछ । हामीले जसले यो व्यवस्था लडेर ल्यायौँ, जो यो व्यवस्था ठीक छ भनेर भनिरहेका छौँ हामीले परिणामबाट यो व्यवस्था ठीक छ भनेर प्रमाणित गर्ने उद्धेश्यले हामीले आज अर्थतन्त्रको समस्या छ यसलाई इमानदारीतापूर्वक काम गर्यौँ भने जो नागरिक आक्रोशित छन्, जसमा छट्पटाहट छ स्वभाविक रुपमा उनीहरुको सन्तोष बढ्दै गइहाल्छ नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो नियतलाई, आफ्नो बदनियत जसले राखेको छ बद्नियत राख्नेहरु आफैँ नागरिकको असन्तुष्टि कम भएपछि बदनियत राख्नेको स्वर, बदलियत राख्नेको संख्या आफैँ घट्दै गइहाल्छ । त्यसैले बदनियत राख्नेले कुन स्वरले बोलेको छ, बदनियत राख्नेहरुको संख्या कति छ भन्नेतिर सरकारले हेर्ने होइन कि नागरिकको असन्तुष्टि के छ ? असन्तुष्टि सम्बोधन गर्न मैले के गर्नुपर्छ भन्नेतर्फ उसको बढी ध्यान जानुपर्छ । अहिलेको आर्थिक समस्याहरु के छ यसको हल गर्नेतिर सरकार इमानदारीपूर्वक लाग्यो भने व्यवस्थाका विरुद्धमा उठेका कुराहरु आफैँ निश्क्रिय हुँदै जान्छ । तर त्यो कामचाहिँ गर्दिन तर म व्यवस्थाविरुद्ध उठेको कुरालाईमात्र ध्यान दिन्छु, त्यो कुराको बारेमा टिप्पणी गर्दै हिँड्छु, प्रतिक्रिया दिँदै हिँड्छु भनेर भन्छ भने त्यो आफ्नै निम्ति प्रत्युत्पादक हुन्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ