arrow

फ्ल्यासब्याकः लक्कि बास्टर्ड – ६

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० मंसिर १६ शनिबार
krishna-sharma-2080-08-16.jpg

विक्रम सम्वत् २०५२ पुस ३ । चाडबाड सकिएपछि मानिसहरू आ–आफ्नो काममा लागिसकेका थिए । स्नातक तह दोस्रो वर्षको परीक्षा दिएपछि काम नभएकाले परिणाम कुरेर बस्ने बाहेक म भुल्ने अरु ठाउँ थिएनन् । तलब दिनु पर्दा मर्छु कि जस्तो गरी मुन्टो बटार्ने मानिसहरूको स्कुलमा गएर फेरि खाली पेट पढाउने जाँगर थिएन ।

आफूसँग भएका सीमित पुस्तक दोहोर्याइ तेहेर्याइ पढ्ने बाहेकको अतिरिक्त समय म गाउँका ठूलाठालुसँग कलब्रेक खेलेर दिन बिताउथेँ । तासको खाल उठेपछि त्यो साँझ स्कुले साथी पारसले सेमरा बजार जाने प्रस्ताव ल्यायो । म ऊसँगै बजार गएँ । मिस्त्रीले उसको साइकल बनाउँदै गर्दा हामी दुईले एउटा सान मिगेल बियर बाँडेर पियौँ । घर फर्कदा सूर्य अस्ताइसकेको थियो । 

पल्लो घरकी काकीले पारस र म आउँदै गरेको देखेपछि एक आपसमा बीस वर्ष लाग्दा नलाग्दै जँड्याहा हुन थालिसकेको कुरा कसोकसो हजुरआमाले सुन्नु भएछ । उहाँलाई त्यस साँझ परेको पीर सायद मेरी आमालाई पनि परेन कि जस्तो लाग्छ । त्यो रात उहाँ राम्रोसँग सुत्न सक्नु भएन । 

अर्को दिन बिहान उठेर नित्य पूजा गरेपछि उहाँ बेवरी पुग्नुभयो र काठमाडौँ बस्ने आफ्ना भतिजालाई फोनमा मेरो लागि तुरुन्त त्यहाँ बस्ने र पढ्ने व्यवस्था मिलाउन भन्नुभयो । त्यसपछि एक स्थानीय पटवारीमार्फत नौतनवाबाट एउटा नयाँ साइकल मगाइदिनु भयो । त्यसैदिन दिउँसो झिनुवालाई बोलाएर आंगनमा पुराना सिरक डसनाका कपास फट्कार्न लगाउनु भयो र त्यसमा चार किलो नयाँ कपास थपेर नयाँ कपडामा सिरक, डसना, सिरानी बनाइदिनु भयो ।

सारा ब्यवस्था गरेर काठमाडौँ जाने दिन पुस १२ गते थियो सायद । किनकि म उपत्यका पुगेको अर्को दिन टुँडिखेलमा तत्कालीन राजा वीरेन्द्रको
जन्मोत्सवको समारोह थियो । मेरो हातमा १५ सय रुपैयाँ राखिदिँदै भन्नुभयो, ‘आफ्नो नाक काट्न मन लागे काट्नु तर काठमाडौँमा भएका माइती सामु मेरो नाक नकाटिदिनु ।’ 

ढोगेर बिदा माग्दै गर्दा मेरा आँखाबाट खसेका ताता आँशुका थोपा हजुरआमाको चरणमा पनि परेछन् । अनुहार लुकाएर निस्कन खोज्दा पछाडिबाट हात समातेर आफूतिर फर्काउँदै भन्नुभयो, ‘छोरा मान्छेले रुँदै घर छोडेको सुहाउन्न । आँशु पुछ्...। खुशी मन लिएर हिँड्नु पर्छ ।’
 
ती वाक्यले आँशु रोकेनन् । अर्को खहरे थपिएर बगेको भेल जस्तै आँशु अबिरल बगिरह्यो । रुँदै हिड्नुको विकल्प रहेन । मलाई भैरहवासम्म आएर रात्रिबसमा एक बोरा चामल, लगभग आधा बोरा दाल, एक ग्यालेन तोरीको तेल, बिस्ताराको गुण्टो अनि साइकल लोड गरिदिएपछि छोड्काले ‘मालिक बाबु ! औरोँको भुलियो या नाभुलियो कौनो बात नाहिँ, लेकिन अपनि बुढाइल मालिकनको कभि मत भुलियो’ भन्यो । 

‘अरे भाइ, अब तु भी रुलाएगा क्या मुझे ?’ छोड्काको काँधमा आफ्नो चिउँडो बिसाउँदै गर्दा मेरा आँखा फेरि बिझे । साना साना घटनामा पनि खसिरहने आँशुले मानिसको कमजोर समयको सूचना बडो दीगो तवरले लिँदोरहेछ । रातभरको बस यात्रा बाँकी आँशु बगाउँदैमा बित्यो ।

हजुरआमाले यसै पनि हामी नातिनातिनालाई बेपनाह माया गर्नुहुन्थ्यो । हजुरबुबाको स्वर्गेपछि छोरा बुहारीको अनि छोरी ज्वाइँको मायामा झ्याम्मिएपछि हजुरआमाको माया हामीमा स्वभाविक रूपमा बढेर आउने भएकोले नै होला ‘साँवाको भन्दा ब्याजको माया धेरै’ भन्ने उखानले पात्रता पाएको । कडा मिजासकी मानिस भएकाले उहाँको माया पनि कफी जस्तै थियो । पिउँदा टर्रो हो कि जस्तो अनुभव हुने तर पिएपछिको ‘डोपामाइनिक असर’ लामो समयसम्म रहिरहने ।

सायद आफूले भोगे गरेका हजारौँ अन्य सम्झनलायक काम–कुरा बिर्सेँ होला मैले तर हजुरआमाको त्यो ‘नाक काट्ने’ बचनलाई म आज पनि सम्झन्छु । मेरो नैतिक चरित्रको मानक बनेर बसेको उहाँको त्यो बचनलाई म आफ्नो जीवनको अन्तसम्म सम्झन चाहन्छु । उहाँको त्यही बचन थियो जसले मलाई सयौँ संकटका खोलामा खस्न अनि डुब्नबाट बचाउँदै ‘लक्कि बास्टर्ड’ बनाएर छोड्यो ।

अर्को दिन बिहान म चढेको बस थानकोट हुँदै छिर्दा उपत्यकालाई तुषारोले सेताम्मे पारिरहेको थियो । समुद्र सतहबाट धेरै उचाइमा अवस्थित भएकाले तराईको तुलनामा काठमाडौँमा अलिक बढी नै जाडो हुन्छ । ललितपुरको कुपण्डोल भन्दा अलिक भित्र गुसिंगालस्थित डेरामा पुग्दा साथ बूढा मावली रमेश काकाले भन्नुभयो, ‘बाबु ! बुटवलमा भन्दा यहाँ त निक्कै चिसो हुन्छ ।


बिरामी पर्न बेरै लाग्दैन । टोपी पनि लगाएका रहेनछौ । लौ हेर, सिरेटोले हानेर आँखा पनि सुन्निन थालेछन् । रात्रिबसको सिसा बन्द गर्न बिर्सिएर
निदाए जस्तो छ । ल यो लगाऊ ।’ 

उहाँले दिएको उनीको टोपी हातमा लिएर म फेरि रोएँ । सोचेको थिएँ हजुरआमालाई छोडेपछि त्यो नयाँ शहरमा म एक्लो हुने छु । टुहुरो हुने छु । तर म एक्लो रहेनछु ।

काकाले दिएको टोपी अनि न्याना कपडा लगाएर हप्ता दश दिनजसो हजुरआमाले किनिदिएको साइकलमा काठमाडौँ, भक्तपुर र ललितपुरको शहरी क्षेत्र भित्रका सम्पदा सूचीमा परेका ठाउँ घुमेँ । उपत्यका छिरेको दोस्रो हप्ताको अन्तिम दिन माघको २ गते परेको थियो । 

त्यो दिन बिहान बूढा–मावली राजेन्द्र काकाले आफ्ना मामा कान्तिपुर दैनिकका तत्कालीन प्रकाशकको चाबहिल चुच्चेपाटीस्थित निवासमा लैजानु भयो । 

सस्ता कपडाले नमिल्दोसँग ढाकेको मेरो पातलो शरीर र ख्याउटे अनुहारमा गौर गर्नुपर्ने त्यस्तो केही नभएकोले उहाँले काकातिर हेर्दै मलाई आफ्नो बारेमा बताउन भन्नुभयो ।

हातमा रहेको चियाको कपलाई एक पटक पनि ओठमा नपुर्याइकनै टेबलमा राखेँ र आफूले तानसेनमा पत्रकारिताको तालिम लिएको, भैरहवाबाट प्रकाशित हुने सूचना नामक अर्ध–साप्ताहिक पत्रिकामा पत्रकार रही करिब ६ महिना काम गरेको, त्यसपछि अर्थाभावका कारण स्कुल पढाउन थालेको अनि तत्काल स्नातक तहको अन्तिम वर्षको परीक्षाको परिणाम कुरिरहेको कुरा गरेँ । 

फेरि पनि मलाई नहेरिकनै उहाँले आफूलाई आगामी आइतबारका दिन बिहान ११ बजे थापाथलीस्थित कान्तिपुरको कार्यालयमा भेट्न भन्नुभयो । टेबलमा रहेको चिया नपिइकनै हामी निस्कियौँ ।

उहाँले चिया पिएर जाउ पनि भन्नु भएन । मैले आफ्नो जीवनमै पहिलो पटक कसैले अतिथीलाई यो तहको व्यवहार गरेको तीतो अनुभव बटुल्दै थिएँ । सायद सभ्य काठमाडौँको स्वभाव यस्तै पो थियो कि ? नयाँ ठाउँमा मैले गम खाँदै थिएँ ।

बानेश्वर फर्कदै गर्दा मैले राजेन्द्र काकालाई गौशालामा उतारिदिन अनुरोध गरेँ । किन किन मलाइ केही समय एक्लै रहन मन लाग्यो । काकाले पनि त्यस्तै महसुस गर्नु भएको रहेछ । 

उहाँले ‘चिन्ता नगर, मैले पनि उहाँ बदलिएको महसुस गरेँ’ भन्नुभयो । मलाई गौशालामा उतारिदिएपछि ‘पशुपति दर्शन गरेर आइहाल्नु, खाना तिमी आएपछि मात्रै खाने हो’ भन्दै जानुभयो । 

मैले मलाई नकुर्नुहोला भन्दै गर्दा उहाँको गाडी अगाडि बढिसकेको थियो । त्यसताका मेहनत बिना ईश्वरले पनि केही दिन्नन् भन्ने लाग्थ्यो । त्यसैले मैले पशुपतिनाथको मन्दिर अगाडि उभिएर जागीरका लागि त्यस्तो कुनै प्रकारको अनुनय विनय मनमनै गरेजस्तो लाग्दैन । 

श्रद्धापूर्वक दर्शन गरेपछि म बागमतीको पुल तरेर ष्लेश्मान्तकको जंगलमा पुगेँ । त्यहाँका बाँदरले पनि म उपर पहिलो दृष्टि घुमाएपछि हेर्न छोडे जस्तो लाग्छ । 

किनकि मसँग उनीहरुलाई दिनको लागि केही थिएन । मेरो निरीहतालाई नजिकबाट नियालिरहेका एक साधुले केही बेरपछि म नजिक आएर मौनता तोडिदिए, ‘बेटा, क्या सोँचमे पड गए हो ?’

उनको सम्बोधनले मलाई करिब तीन वर्षअघि घर छोडेर हिँडेका आफ्ना पिताजीलाई सम्झाइदियो । म झनै विक्षिप्त भएँ । मनले नानाथरी कुरा खेलाइरहेकोले ती साधुले मलाई केही समय रोकेर के दीक्षा दिएका थिए मैले यादै गर्न सकिन । 

तर शरीरले घामको किरण मधुरो हुँदै गएको महसुस गरेपछि कुपन्डोल फर्कनको लागि गौशालातिर मोडिएका मेरा पाइला यन्त्रवत छिटो छिटो कुँदेकोसम्म याद छ ।

पशुपति–गौशालाबाट चढेको बसबाट माइतीघरमा ओर्लेपछि लगनखेल जाने अर्को बस कुर्नु भन्दा हिँड्नु ठीक सम्झेँ । पैसा पनि जोगाउनु थियो । त्यसैले थापाथलीतिर पाइला लम्काउन थालेँ । 

राम भण्डार हुँदै कुपन्डोल जाने कालोपुलको नजिकैबाट बाटो काट्दै गर्दा दायाँतिर अवस्थित खैरो टिनले छाएको अनि हरियो पर्दाले ढाकेको रेस्टुराँबाट मोमोको मीठो बासना नाकमा ठोक्कियो ।

त्यस सुगन्धले म त दिनभर भोकै छु भन्ने कुरा याद गरायो । भोकका अगाडि पाइला चल्न किन मानुन् । मेरा पाइला आफैँ बटारिए । 

रेस्टुराँभित्र पुगेपछि मेरो मन बटारियो । मोमोसँग बियर मगाउँदै गर्दा झ्याप्प हजुरआमाले भनेको वाक्य याद आयो । 

काकाले मैले पिएर आएको थाहा पाएपछि डेराबाट निकालिदिनुभयो भने भने कहाँ जाने के गर्ने होला भन्ने कुरा सम्झेर अत्यास लाग्यो । 

हतार हतार बियरको अर्डर क्यान्सिल गरेँ । मोमो मात्रै खाएर म काकाको डेरामा जाँदा बाटो सुनसान भइसकेको थियो । जाडोका महिनामा उपत्यका आजपर्यन्त संसाँझै सुत्छ । सडक छेउँका भुस्याहा कुकुरले समेत मन पराएनन् त्यस साँझ ।

त्यो सारा दिन राम्रो थिएन मेरो लागि । उनी मेरो पछाडि भुक्दै आए । म डराउँदै डराउँदै पाइलाका गति बढाउँदै गएँ । डेरामा पुग्दा झमक्क अँध्यारो भइसकेको थियो । 

काकाले खाना खाँदै गर्दा जागीरको उपलब्धिको सम्भावनाबारे सोध्नुभयो । मैले थप केही नभनी आइतबार अन्तर्वार्तामा बोलाएको कुरा गरेँ ।

शनिबार दिउँसो कपडा धुँदै गर्दा मैले योग्यता हुँदाहुँदै आफन्तवादको फरिया ओढेर कान्तिपुरमा काम गर्न जान्न भन्ने निश्चय गरिसकेको थिएँ । मलाई मेरी हजुरआमाको माइती तिरबाट नाता लाग्ने कान्तिपुरका तत्कालीन प्रकाशकको रवैया पनि मन परिरहेको थिएन । 

मलाई दयाको भीख लिनु थिएन । किन–किन पत्रकारिता गर्न नपाएको खण्डमा पढाउनको लागि त सयौँ स्कुल छन् नि भन्ने अटल विश्वास जागिरहेको थियो ।

आइतवार बिहान काकाले अफिस जानु भन्दा अघि कान्तिपुरमा जागिर होस् भन्ने शुभकामना दिनुभयो । मलाई कान्तिपुर जाने मन थिएन । कसैको निगाहमा जागीर पाउने लालसा थिएन । आगन्तुकलाई एउटा मुस्कानले स्वागत गर्न नसक्ने मानिसको अदवमा कसरी कोही काम गर्न सक्छ जस्तो लागेको थियो । 

तर अन्तरवार्तामा नगएर राजेन्द्र काकाको नजरमा घमण्डी देखिन मन लागेन । म आधा घण्टा ढिलो गरी थापाथली पुगेँ । प्रकाशकलाई मात्र होइन म स्वयंलाई पनि सजिलो बनाउनु थियो । 

त्यसैले मलाई अन्तर्वार्तामा के भन्ने होला भन्ने कुनै चिन्ता थिएन । म पुग्दा साथ भित्र जाने बोलावट आयो । योगेश दाइले पत्रकारिताको बारेमा, अनुभवको बारेमा भन्दा बढी भविष्यमा पत्रकारिता गरेर के बन्ने भन्ने आशयका गजबका प्रश्न सोध्नु भयो । 

प्रकाशकले प्रशासनिक ज्ञान भए नभएको कुरा सोध्नु भयो । मैले चिफ रिपोर्टर नै बनाए पनि त्यहाँ काम नगर्ने निधो गरेको हुनाले जागीर पाउने लालसा बेगर, बेडर दार्शनिक तवरमा उत्तर दिएँ । त्यसरी उत्तर दिएपछि बल्ल प्रकाशकले मलाई दृष्टि दिन थाले । 

मेरा कुरा सुन्न थाले । अन्त्यमा उहाँ दुवैलाई सजिलो हुने गरी निस्कने विचार गरेँ र भनेँ – मलाई नियुक्ति दिने नदिने, दिने भए कुन तहमा दिने, तलव कति दिने आदि कुरामा चिन्ता नलिनु होला ।

किनकि मलाई लागिरहेको छ कि म तपाईको यो भव्य कम्पनीमा काम गर्न योग्य छैन । मलाई यो पनि लाग्दैछ कि मैले यहाँ काम गरेको खण्डमा आफ्नो समय खेर फाल्ने बाहेक केही हुने वाला छैन । तपाईको समय र चियाको लागि धेरै धेरै धन्यवाद ।

म ढोकाबाट निस्कदै गर्दा प्रकाशकले चश्मा माथिबाट बिस्फारित नेत्रले एकटक मतिर हेर्दै थिए ।

भविष्यमा सरकारी सेवा अन्तर्गत परराष्ट्र समूहमा प्रवेश गर्ने सपना बोकेको थिएँ । लोकसेवाको तयारी गरिरहेकाबीच त्यतिबेलाको प्रसिद्ध ‘अन्तर्राष्ट्रिय मञ्च’ मासिकको अनामनगरस्थित कार्यालय थापाथलीबाट त्यति टाढा थिएन । त्यही पोशाकमा हिँडेरै अनामनगर पुग्दा भने पसिनाले छपक्कै भिजेको थिएँ । त्यहाँ पुगेको पाँच मिनेट पनि नकुराइकन प्रकाशक नवराज अधिकारीले मलाई भेट दिए । 

निर्धक्क आफ्नो कुरा राखेँ । कान्तिपुरका प्रकाशक र सम्पादकलाइ भर्खरमात्र भेटेर आएको कुरा गरेँ । त्यही दिन अन्तर्राष्ट्रिय बाल मञ्च मासिकको सम्पादकको नियुक्ति लिएर गुसिंगाल फर्केँ । 

केही दिनपछि राजेन्द्र काकाले चुच्चेपाटीमा आयोजित एक पारिवारिक कार्यक्रममा जान निम्तो आएको कुरा गर्नुभयो । मैले नयाँ जागीरको कारणले गर्दा निम्तोमा जान सक्दिन हजुरले मेरो तर्फबाट असमर्थताका लागि क्षमा सुनाइदिनुहोला भनेँ ।

आजकल सोच्दछुः मेरो त्यो भद्दा दम्भ शायद उमेरको अपरिपक्वताको परिचायक थियो । कान्तिपुरमा काम गर्न नजानु मेरो नितान्त वस्तुपरक एवं निजी निर्णय थियो जसको म आज पर्यन्तः गर्व गर्छु । 

मलाई आज पनि लाग्दछ कि सिर्फ एउटा जीवन बाँच्नको लागि कसैसँग एक पटक पनि झुक्न पर्दैन । 

अन्तर्राष्ट्रिय मञ्च लिमिटेडले तीन महिनासम्म पनि तोकेको तलब नदिएपछि सम्पादकको पगरी बुझाएर शिक्षण पेशामा होमिनु मेरो परिस्थितिजन्य बाध्यताको निर्णय थियो । 

स्नातकोत्तर सकिएपछि दि राइजिंग नेपालमार्फत पत्रकारितामा फर्किने वातावरण बन्नु समयको मीठो खेल थियो जस्तो लाग्दछ ।

मनमनै नवराज अधिकारीलाई धन्यवाद दिन्छु मलाइ पद दिएर तलव नदिई आजको लक्कि बास्टर्ड बन्न सहयोग गरेकोमा । अधिकारीले त्यस दिन मलाई नियमित रुपमा तलब दिएर राखेको भए म कस्तो प्रकारको लक्कि बास्टर्ड हुन्थेँ होला ? 

र अन्तमा, कान्तिपुरका तत्कालीन प्रकाशकले ममाथि सिर्फ एक आतिथ्ययुक्त नजर दिएको मात्रै भए म कस्तो प्रकारको लक्कि बास्टर्ड हुन्थेँ होला भन्ने कुराले मलाई आज पर्यन्त गम खुवाइरहेछ ।



नयाँ