arrow

फ्ल्यासब्याकः लक्कि बास्टर्ड–४

logo
कृष्ण शर्मा,
प्रकाशित २०७९ फागुन २७ शनिबार
krishna-sharma-lucky-bastard-4.jpg

सन् २०१८ मा अमेरिकी विदेश मन्त्रालयले ‘मिसन क्रिटिकल असाइन्मेन्ट’ अर्थात् ‘गम्भीर महत्वको कार्य सम्पादन’ गर्न दक्षिण एसिया एवं अफगानिस्तान क्षेत्रका लागि गरेको खतरापूर्ण तर राष्ट्रिय सुरक्षाको दृष्टिले हेर्दा महत्वपूर्ण प्रस्ताव अस्वीकार गरेर ‘ब्रान्ड नेम’ कै पछि परेर ह्वाइट हाउसको सुरक्षित तर ‘अन कल’ जागीरलाई निरन्तरता दिइरहेको भए म आज के हुन्थेँ होला ? 

सन् २०१२ को अन्त्यतिर रान्डम हाउस प्रकाशन गृहले गरेको ‘वन्स इन अ ब्लु मून’ अर्थात् ’कहिलेकहीँ मात्र प्राप्त हुने’ पुस्तक सम्पादनको अवसरलाई लत्याएर यथास्थितिवादलाई स्वीकार गर्दै परिवारसहित राम्रोसँग बाँच्न पनि मुश्किल हुने तलब भएको वाशिंटन पोस्टकै काममा ‘पत्रकारिताको ब्रान्ड नेम’ भनेर झुण्डिइरहेको भए आज म के हुन्थेँ होला ? 

सन् १९९२–९३ ताका भैरहवा एवं काठमाडौंका प्रकाशन गृहहरुमा ओँठतालु सुक्ने गरी काम गर्दा पनि पारिश्रमिक नै नपाएर चरम आर्थिक अभावले छट्पटिएको अवस्थामा ठूलो बुबाको छोराले म टुहुरोलाई संयुक्त परिवारबाट छुट्याइएको भएता पनि पुरानै तारतम्य अनुसार उहाँको सहोदर भाइसँग बसेर पढ्ने व्यवस्थालाई निरन्तरता दिएको भए म आज के हुन्थेँ होला ? 

अलिक पछाडिका त्यत्तिकै महत्वपूर्ण विकल्पहरुको बारेमा सोच्दै जाँदा त म झनै गम खान्छु । हाइस्कुलमा हुँदा परिवारका अग्रजहरुले दिएको सल्लाहलाई शिरोपर गरी विज्ञान विषय पढेको भए आज म के हुन्थेँ होला ? 

प्रविणता प्रमाणपत्र तह दोस्रो वर्षमा अध्ययन गर्दै गर्दा उक्त कलेजको स्वतन्त्र विद्यार्थी संघको नेतृत्व लिने प्रस्तावलाई स्वीकारेको भए आज म के हुन्थेँ होला ? त्यसैताका सँगै कलेज पढ्ने ती सुन्दर युवतीका लागि रोमियोले झैं ज्यानै छोडेर पछि परेको भए आज म के हुन्थेँ होला ? 

त्यसै वर्ष शिवरात्रीको साँझ भाङको लस्सी नपिइकनै पत्रकारिताका मेरा प्रथम गुरु स्वर्गीय विनयकुमार कसजूसँग कमजोर तर्कमात्र गरेको भए आज म के हुन्थेँ होला ? 

‘मरता क्या नहिं करता’ भने जस्तै बुटवलमा मैले पढाइरहेको स्कूलले चार–चार महिनासम्म तलब नदिएपछि फुपुका छोरा र म रक्सी पिएर प्रिन्सिपललाई त्यस साँझ नसिहत सिकाउन नगएको भए आज म के हुन्थेँ होला ? 

मेरा मन्त्र सुनाउने गुरु, काकाहरु राम तथा रमेश घिमिरे, अग्रजहरु भीमराज अर्याल, शिव अधिकारी, भारतदत्त कोइराला, धर्म (नन्द) अधिकारी, जगदिश पोखरेल, सुनील केसी, विजयलाल श्रेष्ठ, लोकदीप थापा, किशोर नेपाल अनि धेरै मध्येका यी मित्रहरुः बुद्धराज, विष्णु, ज्ञानेन्द्र, गोपी, थानेश्वर, सुमन, लोक, पेशल, टीका, रमेश, गोविन्द, नारायण, प्रकाश, अम्बर, सन्तोष, राजेन्द्र, तारा, चिरन्जीवी, चन्द्र, अमर, गिरिश, सुशील, अरुण, मिशाल, अमृत लगायतका साथीहरु मेरो जीवनमा नआइदिएको भए आज म के हुन्थेँ होला ? 

लक्कि बास्टर्ड नै थिएँ । त्यसैले हार्ने र भाग्ने छुट नभएपछि देशको राजधानी शहर पुग्दा साथ बाल मन्च मासिक पत्रिकाको लागि उप–सम्पादक पदमा काम गर्न पाएको थिएँ । तर भगिनी संस्था अन्तर्राष्ट्रिय मन्च मासिक समेतका प्रकाशक नवराज अधिकारीले ‘तलबको मारो गोली’ भनेर स्नेहका साथ कुपण्डोल नजिकै बागमतीको किनारमा लिएको सानो भाडाको कोठामा लाग्ने लामखुट्टेको आक्रमणबाट बच्न झुल किन्ने पैसा मात्रै भए पनि दिएका हुन्थे भने के मैले त्यो पद र पत्रकारिता छोडेर स्कुल पढाउने पेशा रोज्थेँ होला ? 

स्नातकोत्तरपछि दि राइजिङ नेपालमा पत्रकारिता गर्न जाँदा गोरखापत्र संस्थानका ती उच्च पदस्थ कर्मचारीले गरेको उनको बहिनीको बिहेको प्रस्तावलाई स्वीकारेको भए आज म के हुन्थेँ होला ? 

त्यो फाल्गुण महिनाको रूमानी दिनको बिहानीमा मैले आजकी मेरी अर्धाङ्गिनीलाई बाटो पारी नदेखेको भए; उनले मेरो प्रेम अनि बिहेको प्रस्ताव अस्वीकार गरेको भए आज म के हुन्थेँ होला ? 

आफ्नो निर्भिक स्वभावमा लगाम लगाएर अलिकति झुक्ने वा चाकडी गर्ने स्वभावको विकास गरी दि राइजिङ नेपालमा आउने त्यो समयका अवसरहरुको फाइदाको लागि मात्रै लडेको भए आज म के हुन्थेँ होला ? 

श्रीमतीले दिएको सल्लाह स्वीकार गरेर रक्सी पिउने र साथीहरुसँग अलिक बढी समय बिताउने स्वभाव मात्रै बदलेको भए आज म के हुन्थेँ होला ? 

अमेरिका जाने निर्णय बदलेको भए आज म के हुन्थेँ होला ? स्प्रिंगफिल्ड स्थित माइक्स अमेरिकन ग्रिल नामक रेस्टुराँको टन्नै टिप्स आउने टेबुल कुर्ने काम मन परेको मात्रै भए आज म के हुन्थेँ होला ? 

विगतका विकल्परहित अवस्थामा काम मात्रै गरेर ’लक्कि बास्टर्ड’ हुँदै गर्दा आजकल मैले ती नचुनिएका विकल्पहरुको बारेमा अलिक बढी सोँच्न थालेको छु आजकल । 

जीवनको वस्तुपरक परिणति चाहिँ यही हो कि यी र यस्ता सयौं विकल्पमध्ये एक मात्रै निर्णयमा हामी दुरुस्त नउत्रिने हो भने त्यो हुनै सक्दैनौँ जो आज छौँ । 

म ती दाजुप्रति एकदमै अनुग्रहित छु कि उहाँले मलाई सहाराको हात दिनुभएन । दिएको भए म आज जे छु त्यो हुन्थिन । 

म आज जे छु त्यो सब ती सबै रोज्न नसकेका वा रोज्न नपाएका वा रोज्न नचाहेका वा रोज्न नजानेका विकल्पलाई नरोजेकैले नै सम्भव भएको हो । 

पत्रकार मित्र मातृका पौडेलले भने जस्तै जिन्दगीका केही हिसाब त शुत्रले होइन इस्र्या गर्ने शत्रुले मिलाइदिँदा रहेछन् । बाँकी त बाध्यताहरुको काँध टेक्दै सम्भावनाको लहरो समाती अगाडि बढ्ने दुस्साहसको नाम त रहेछ जिन्दगी ।

अघटित सम्भावनाका छातीमा टेकेर खडा भएका घटनाहरुले मलाई यहाँ ल्याइपुर्याए । तर के ती मसँग घट्न लागेका तर सम्पूर्ण रुपमा घट्न नसकेका दमित घटनाहरुसँग मेरो कुनै साइनो रहेन जसले मलाइ आज म जहाँ छु उफ्रेर यो ठाउँमा पुग्न त्यो धरातल दिए ? 

अकाट्य सत्य यो पनि हो कि घटेर देखिने अनि नघटेर पनि प्रभाव पार्ने दुवै घटनाले इतिहास सृजना गर्नमा उत्तिकै भूमिका खेलेका हुन्छन् । 

साक्षी भावले सम्झदै गर्दा यति चाहिँ भन्नै पर्ने हुन्छ कि मलाई लक्ष्य गरी गुज्रिएका तर नघटेका घटनाहरुको प्रभावको स्वामित्व यदि कसैसँग छ भने त्यो मसँग मात्र छ । 

फरक चाहिँ यत्ति हो कि मैले ती तीता, हेपिएका टिठलाग्दा क्षणमा खिचिएका घटनाहरुका फोटोका नेगेटिवहरुलाई स्टुडियोको मालिकले अँध्यारो कोठामा लुकाएर राखे जस्तै आफ्नो स्मृतिको गर्भमा राखेको छु । जसलाइ धुलाएर फ्रेममा राखी भित्तामा झुन्ड्याई फोटो प्रदर्शनीको आयोजना गर्ने दुस्साहस आजसम्म गरेको छैन । 

म आफैँलाई प्रश्न गर्छु किन हामी ती घटनाहरुलाई निरपेक्ष रुपमा सगर्व प्रस्तुत गर्न धक मान्छौं जसको कारणले हामी जे छौं त्यो बन्न सकेका हौँ ? 

हामीले फेल भएका, धोका दिएका, धोका पाएका, हारेका कुरा नगरी जितेका र सफलताका कुराहरु मात्रै किन गर्छौं ? 

हाम्रो जितको लागि सहायक कुराहरुलाई हामी किन सधै पर्दा पछाडि राख्छौं ? आफू नहिँडेका बाटाहरुको बारेमा कुरा गर्नबाट पनि आफूलाई किन परै राख्छौं ? हामीलाई ती कुरा गर्नबाट के कुराले रोक्छ ? 

किन हामी ती सत्यहरुसँग मनको मैदानमा मात्र लुकामारी खेल्छौं ? किन हामी ती सत्यलाई सौतेनी व्यवहार गर्छौँ ? किन डराउँछौँ ?
 
सायद रबर्ट फ्रस्ट पनि आफ्नो ठाउँमा ठीकै थिए जसले पहेँलपुर जंगलबीच दोबाटो आउँदा एउटा बाटो लिए । किनकि एक यात्रीले दुवै बाटाहरु एकसाथ लिन सक्दैन । 

उनले त्यो बाटो लिए जो धेरै हिँडिएको थिएन । सायद मैले पनि ती चाकडीजन्य चिल्ला बाटाहरु रोजिन जसमा अरु धेरै हिँडिरहेका थिए र ती हिँड्नको लागि सजिला पनि थिए । 

जस्तो कि म दाजु सामु घुँडा टेकेर गिड्गिडाइन जुन धेरै सजिलो थियो । त्यो विद्यार्थी राजनीतिका लागि प्रस्तावित पद स्वीकार गरिन जो मेरा लागि सर्वसम्मत रुपमा दिइएको थियो । 

विभिन्न ठाउँहरुमा काम गर्दा राम्रो अवसरको लागि वा तालीमको लागि वा पदोन्नतिको लागि अन्य निडर निर्भीक सहकर्मीहरुले जस्तै चाकडी गरिन जो अरुले सजिलै गर्दथे । सजिलै हात पार्दथे । 

कतिपय अवस्थामा अधिकार जताएर पनि केही अवसरहरु लिन सक्थेँ होला सायद । तर किन किन यो शिर झुकाउन मेरो ब्रह्म कहिल्यै तयार रहेन । 

सधै किन झुकाउने ? भनेर सोधिरह्यो । 

भागवत् गीतामा लेखिएको छ– 
‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते संङगोऽस्त्वकर्मणि ।।’

अर्थात्, तपाईलाई निर्धारित कर्तव्यको पालन गर्ने अधिकार छ । फल वा परिणामको इच्छा राखेर काम नगर्नुस् । (कर्म फल दिने अधिकार त शिर्फ ईश्वरको हुन्छ ) ।

तपाईलाई जीतका कथा जति रोमान्चक लाग्छन् मलाई किन किन हारका कथा त्यत्तिकै सुनौँ सुनौँ लाग्छन् । तपाईलाई अर्जुनको वीरताका कथाले बढी छुन्छन् होला तर मलाई उनको भगवान कृष्णसँगको निरीहताका प्रसंगले बढ्ता छुन्छन् । 

तपाई गौतम बुद्धको ज्ञान मार्गको कुरा गरेर थाक्नु हुन्न होला तर म यशोधराको अलिखित मनोद्वेगको कारुणिक कथालाई आफ्नै मन भरी कल्पना गरेर कहिल्यै सन्तुष्ट हुन सक्तिन । 

तपाईलाई तिलक सिंह पेलाको ‘के लत लाग्यो मलाई..’ ले द्रवित बनाउँछ होला तर मलाई त्यो भन्दा बढी टिल्पिल त उनको परेलीका डिलमा छचल्किने आँखाले बनाउँछन् । 

जब उनी आफ्ना गुरुहरुलाई सम्झेर हातले कान समात्दै द्रवीभूत हुन्छन् र उनका ओँठहरु गुरु नामको श्रद्धाले थर्थराउँछन् । तपाई गन्तव्यमा पुगेर रमाउने आशा राख्नुहुन्छ होला तर म यात्राको पसिना चुहाइमै मस्त मगन हुन्छु । 

तपाई सुखमा रमाउनुहुन्छ होला । म सुखको खोजमा निस्कँदाखेरीको त्यो ब्यग्र, दुःखी यात्रामै दंग हुन्छु । 

तपाईको लागि गन्तब्य होला जिन्दगी मेरो लागि सिर्फ यात्रा । मलाई मेरो गन्तब्य के हो नै थाहा छैन र म आजसम्म गन्तब्यको लागि बाँचेको छु जस्तो पनि लाग्दैन । 

त्यसैले जब म यात्रा गर्छु ’साथीजस्ता दुःखले’ पनि त्यत्तिकै सन्तुष्ट हुन्छु जति ‘पाहुना जस्ता सुख’ ले हुन्छु । राम्रैसँग थाहा छ मैले दुःखलाई नजरअन्दाज गरेको दिन सुखले मलाई त्यो भाव दिने छैन जसका लागि हामी सधैजसो ब्यग्र प्रतिक्षामा हुन्छौँ ।

मेरा लागि उमेर ढल्किँदै गर्दा अबको काम भनेको स्मृतिको गर्भमा रहेको त्यो अँध्यारो कोठा खोल्ने अनि कुखुराले ओथारो बसे जस्तै गरी ती नेगेटिवहरु यादका न्याना बर्का ओढेर धुलाउने अनि प्रदर्शनीमा राख्ने हो । 

आशा छ मेरो जीवनलाई स्पर्श गरेर वा नगरीकनै नजिकैबाट यात्रा तय गरेका ती सबै पात्रहरुलाई प्रदर्शनीको अवलोकन गर्न आउँदा साक्षात्कार गर्न पाउने छु । 

ती सबैलाइ धन्यवाद दिन पाउने छु जसका त्याग, धोका, शब्द, मौनता, माया, घृणा अनि शत्रुतापूर्ण व्यवहारले म मेरो जीवनको यो यात्रामा अविचलित ‘लक्कि बास्टर्ड’ बन्न सकेँ ।

लेखकको लक्कि बास्टर्डको पहिलो भाग पनि पढौं– फ्ल्यासब्याकः लक्कि बास्टर्ड–१

लेखकको लक्कि बास्टर्डको दोस्रो भाग पनि पढौं– फ्ल्यासब्याकः लक्कि बास्टर्ड–२


लेखकको लक्कि बास्टर्डको तेस्रो भाग पनि पढौं– फ्ल्यासब्याकः लक्कि बास्टर्ड–३



नयाँ