arrow

केएमसीमा भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट झिकियो बालिकाको छातीमा जमेको पिप

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १० मंगलबार
kmc-peep-2080-09-09.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले फोक्सोमा जमेको पिप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ । भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधिबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पिप निकालिएको हो । 

काठमाडौँ मेडिकल कलेजका बालरोग शल्य चिकित्सक डा आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएको बताए । डा. आशिषलाल श्रेष्ठका अनुसार ९ वर्षीया बालिका आकृति ठाकुरलाई ज्वरो र वान्ता हुने समस्या भएपछि अस्पताल ल्याइएको र परीक्षण गराउँदा छातीमा निमोनियापछि पिप जम्ने समस्या भएको पाइएकाले छातीमा जमेको पिप निकाल्न यो प्रविधिबाट उपचार गरेको बताए । 

यसअघि यस्तो समस्याको छाती चिरेर अप्रेशन गर्ने गरिन्थ्यो तर यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट पिप बाहिर निकालिएको बताउँछन् ।

अप्रेशन गर्दा बिरामीलाई ठीक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठीक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको उनले जिकिर गरे । 

उनले भने, ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको थियो । त्यसले फोक्सो फुल्न नसक्ने भएकाले त्यो पिप क्लियर गर्नुपर्ने थियो । पिप क्लियर गरेन भने त्यो फोक्सोपछि पनि फुक्न पाउँदैन । त्यसमा समस्या आउँछ र पछि गएर फोक्सो नै निकाल्नु पर्ने हुन सक्छ । हामीले उसको केसमा भ्याच भन्ने अप्रेशन गर्यौँ । अन्य केसमा छाति नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने हुन्थ्यो, घाउ पाक्ने हुन्थ्यो यसबाट त्यस्तो गाह्रो हुँदैन । प्रविधिको विकास नहुँदा पहिला यस्ता बिरामी अन्यत्र पनि पठाउनु पर्ने थियो । हामी पछिल्लो समय लागिरहेका थियौँ । अहिले काठमाडौँ मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलभ भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसाबले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किन सक्ने भएको यो प्रविधि राम्रो हो ।’

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठीक हुँदै गएको बताए । उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए ।

उनले भने– ‘घरमा ज्वरो र वान्ता आउँथ्यो, डाक्टरले अप्रेशन गर्नुपर्छ भन्नुभयो, निमोनियाको औषधि लिँदा ठिक भएन, सिट स्क्यान गर्दा फोक्सोमा पिप जमेको रहेछ । यो अप्रेशन गर्नुपर्छ भन्नुभयो । केही सामानहरु हामीले खोज्यौँ । त्यसपछि सबै सामान पाएनौँ तर जति पनि सामान छ, त्यसले अप्रेशन गरेर आज सफल भएको छ । अहिले नानी खाना खाने हिँड्ने गरेको छ ।’

यसभन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ