arrow

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिलाई श्रीपति पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
shreepati-puraskar-pokhara-haripanta.jpg

पोखरा । पोखरा महानगरपालिका वडा नं ३ स्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । समितिलाई श्रीपति कोइराला गुठीले नगद रु. २ लाख २२ हजार २ सय २२ सहित श्रीपति समाज सेवा पुरस्कारले पुरस्कृत गरेको हो । 

शनिबार पोखरामा आयोजित गुठीको ३१ औं साधारणसभाको अवसरमा पोखरा महानगरकारका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईरालालगायतले समितिलाई पुरस्कार अर्पण गरेका हुन् भने समितिकातर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सचिव तीर्थ श्रेष्ठले पुरस्कार ग्रहण गरेका हुन् ।

यसअघि ‘माईती नेपाल’, राष्ट्रिय आविस्कार केन्द्र र पद्म भुवनेश्वरी नमूना सेवा आश्रम यस पुरस्कारबाट पुरस्कृत भएको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

सो अवसरमा पोखरा महानगर प्रमुख आचार्यले समाज सेवाको क्षेत्रमा श्रीपति कोइराला गुठी अब्बल नाम रहेको बताए । उनले इतिहासलाई गौरवका साथ लिन नसक्ने हो भने वर्तमान पनि गौरव गर्न लायक नहुने स्पष्ट पारे । आजको पुस्ताले हिजोको दुःख नदेखेर आजको पुस्ता इतिहासप्रति अनुदार रहेको उनले बताए ।

उनले भने, ‘नबुझेर हो कि ? वा हामीले नबुझाएर हो । आज एकल काँटेपन व्यक्ति, परिवार र समाजमा नै देखिँदैछ । यस्तो अवस्थामा पनि श्रीपति गुठी भने समाजमा उदाहरणीय बनेर समाज सेवामा ख्याति कमाइरहेको छ ।’

पुरस्कृत संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन र सौन्दर्यकरणसँगै सामाजिक काममा पुर्‍याएको योगदानको पनि उनले मुक्त कण्ठले प्रशंसा गरे । विन्ध्यवासिनी मन्दिर आज धार्मिक क्षेत्र मात्र नभई पर्यटकीय केन्द्र बनेको भन्दै उनले यो सब समितिको अहोरात्र खटाइको परिणाम भएको स्पष्ट पारे ।

कार्यक्रममा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ट विद्यार्थीहरुलाई श्रीपति विद्यापदक प्रदान गरिएको थियो भने जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

गुठीका अध्यक्ष फडिन्द्रराज कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा माविका निर्देशक विश्वगोपाल पराजुली, पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सचिव तीर्थ श्रेष्ठ, गुठीका निवर्तमान अध्यक्ष लक्ष्मण कोइराला, उपाध्यक्ष गणेश कोइराला र सचिव नवराज कोइरालाले बोलेका थिए ।

कार्यक्रममा सहप्राध्यापक डा. सुनिलराम कोइराला, सहप्राध्यापक डा. दिनेश प्रसाद कोइराला, उपप्राध्यापक डा. सुविता न्यौपाने कोइराला र डा. प्रियंका भण्डारी कोइरालालाई शैक्षिक क्षेत्रमा विशिष्ठता हासिल गरेकोमा सम्मान गरिएको थियो ।

यस्तै, बुद्धि सागर कोइराला र उषा कोइरालालाई गुठीका लागि महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ट भएका विद्यार्थीहरुलाई श्रीपति विद्यापदक र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

विन्ध्यवासिनी क्षेत्र विकास समिति

विन्ध्यवासिनी नेपालको प्रमुख शक्ति पीठहरु मध्येको एक हो । नेपाली र भारतीयहरुको आकर्षण र पुजनीय केन्द्रको रुपमा रहेको विन्ध्यवासिनी मन्दिर हिन्दूमात्र नभइ गैरहिन्दू समेतको आस्थाको प्रतिकको रुपमा छ ।

यहि मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ ।

समिति अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विभिन्न देवी देवताका मठ मन्दिरहरु छन् । समितिले विन्ध्यवासिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासीय रुपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रकोरुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ ।

साथै समिति अन्तर्गत प्राकृतिक चिकित्सालय पनि सञ्चालन छ । सर्वसुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ ।

विन्ध्यवासिनीमा धर्म, संस्कार र संस्कृति संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरिएको छ । समितिले टाढाटाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ट सामाजिक सेवा प्रदान गर्दै आएको छ ।

श्रीपति कोइराला गुठी

श्रीपति कोइराला गुठी १८६४ सालमा जन्मेका श्रीपति कोइरालाको नाममा स्थापित संस्था हो । पण्डित, ज्योतिषी, विद्वान श्रीपतिले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार १८९९ मा स्थापना तथा २०४९ सालमा विधिवत दर्ता भएको संस्थामा हाल ३ सय ५६ जना सदस्य आवद्ध छन् ।

गुठीको नेृतृत्व यसअघि भैरव कोइराला, शालिकराम कोइराला, कृष्णप्रसाद कोइराला, हेरम्वप्रसाद कोइराला, यज्ञनाथ कोइराला, रामचन्द्र कोइराला, विष्णुचन्द्र कोइराला, मोहननाथ कोइराला र लक्ष्मण कोइरालाले गरिसकेका छन् ।

को हुन् श्रीपति ?

वि.सं. १८६४ असार २७ गते पोखरा ४ गैरापाटनमा जन्मिएका श्रीपतिले वनारसबाट ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या, आयुर्वेद र षडशास्त्रको अध्ययन गरेका थिए । अध्ययन पूरा गरी नेपाल फर्किएर उनले सरकारी जागिर हाकिम खरदार भएर काम गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार श्रीपति कुशल प्रशासक मात्र होइन कहलिएका ज्योतिषी पनि थिए । उनको विभिन्न स्थानमा पार्टीपौवा, मठ मन्दिर, बाटोघाटो निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।

उनले १८९८ र १९०० मा राजकीय सम्मानसहित ५ गाउँ विर्ता प्राप्त गरेका थिए । तत्कालिन समयमा श्रीपति समाजको एक विद्वान, बहुविषयको विज्ञ, सरकारको उच्च पदको कर्मचारी र अब्बल समाजसेवी थिए । उनी आदिकवि भानुभक्त आचार्यका समकालिन थिए ।

उनको निधन १९२६ सालमा भएको हो । श्रीपतिको व्यक्तित्व र कृतित्वका बारेमा महाकाव्यकार रामनाथ अधिकारी संगीले महाकाव्यसमेत लेखेका छन् । उनको नाममा गुठी र सहकारी सञ्चालनमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ