arrow

पन्तकाे हत्या आराेपमा परियार पक्राउ (घटना विवरणसहित)

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
kisan-pariyar-gorkhapolice.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले हत्या आरोपमा एक युवकलाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. १४ सलाङगिरीका २३ बर्षका किसान परियार रहेका छन् । गोरखा नगरपालिका वडा नं. १४ अकला मन्दिरस्थित हिल कटेज नामक होटलका सञ्चालक गोरखा पालुङटार नगरपालिका वडा नं. ८ लामाचौरका २८ वर्षीय महेश भन्ने शमशेर बाबु पन्तको पुस १६ गते हत्या भएको थियो ।

प्रहरीका अनुसार पन्तको हत्यापछि परियार भागेर काठमाडौैँ पुगेका थिए । उनलाई बुधबार काठमाडौँ प्रहरीको सहयोगमा कलंकीबाट पक्राउ गरि गोरखा ल्याएर सार्वजनिक गरिएको हो । प्रहरीले पुस १६ गते ९ बजे राति चक्कु र खुर्पा प्रहार गरी पन्तको हत्या भएको जनाएको छ । पन्तको शव होटलभित्रै भेटिएको थियो ।

गोरखा प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले रिसिइबीका कारण पन्तको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखिएको बताए । रिसिइबीको कारणका विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ । परियारविरुद्ध कर्तव्य ज्यान कसूरमा मुद्धा दर्ता गरी अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

परियारले प्रहरीमा दिएको बयान अनुसार पुस १६ गते दिउँसो होटल सञ्चालन पन्त र परियार बीच सामान्य विवाद भएको थियो । त्यसपछि परियार राति लागूपदार्थ सेवन गरेर पन्तको होटलमा आएका थिए । होटल बन्द गर्ने तयारी हुँदै थियो । पन्तले ‘बाहिर जा म होटल बन्द गर्छु’ भन्दै धलेल्न थालेपछि परियारले टेवलमै रहेको चक्कु पन्तमाथि रोपे । चोटले रन्थनिएका पन्तले नजिकै रहेको खुर्पा उचाल्न खोज्दा परियारले नै टिपेर पन्तमाथि प्रहार गरे । पन्त ढलेपछि परियार होटलबाट भागेर घर पुगे । त्यो रात उनी घरमै बसे । परियार भोलिपल्ट बिहानै १० किलोस्थित दिदीको घरमा पुगे । पन्तको हत्या भएको घटना बाहिरिएसँगै दिदी भिनाजुले नै उनलाई १९ गते काठमाडौं पठाएका थिए ।

होटलबाट निस्किँदा परियारले पन्तको मोवाइल फोन पनि बोकेर हिंडेका थिए । पछि दिदीभिनाजुकै दवावमा मोवाइल दिदीको घरभन्दा केही पर माटोमा गाडेका थिए । त्यो मोवाइल पनि प्रहरीले बरामद गरेको छ ।

घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले करिब ३० जनासँग सोधपुछ गरेको प्रहरी प्रमुख श्रेष्ठले बताए । यसका लागि व्यापकरुपमा सादा पोशाकमा प्रहरी खटाएर र प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिर हत्यारासम्म पुग्न सकिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ