arrow

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर जाने स्थिति नरहेको लेखकको दाबी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
lekhak-ramesh-dabi.jpg

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरू मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरू भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन् । 

उनले मतदाता प्रदेश सभा सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू रहेकाले उनीहरू आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताए उनले एउटा पार्टीका उम्मेदवारहरूले अर्को पार्टीका उम्मेदवारहरू नचिन्ने भएको हुँदा अहिले राष्ट्रिय सभामा आफ्ना उम्मेदवारहरू जिताउन गठबन्धनले बनाएको राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति, प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिहरू मतदातासँग उम्मेदवारको चिनजान गराउन लाग्ने बताए । 

उनले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन रहेको र उम्मेदवार पनि गठबन्धनबाटै दिएकाले यो समितिले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्ने बताए । उनले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको बताए । 

पहिलो चरणमा सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय भएको पनि लेखकले बताए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरूको संसदीय दलको नेता समेत सहभागी हुने गरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने निर्णय भएको बताए । साथै गठबन्धनले सबै जिल्लाहरूमा पार्टीका जिल्ला प्रमुखहरू सहितको जिल्ला समन्वय समिति बनाउने निर्णय भएको बताए ।

उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा सरकारमा संलग्न र सरकारलाई समर्थन गरेका राजनीतिक दलहरूको गठबन्धन छ । हामीले उम्मेदवार पनि गठबन्धनबाटै दिएका छौँ । आफ्ना सबै उम्मेदवारहरूलाई जिताउनका लागि विभिन्न ठाउँमा समितिहरू बनाउने कुरा भएको छ । यसले राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति बनेको छ । हामीले हिजोदेखि त्यसको काम प्रारम्भ गरेका छौँ । पहिलो चरणमा हामीले हिजो नै सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेका छौँ । जुनजुन प्रदेशमा जुनजुन पार्टीको मतदाताहरू छन्, त्यो पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष ती पार्टीहरूको संसदीय दलको नेता समेत सहभागी हुने गरी सात वटा प्रदेशमा समन्वय समिति बनाउने त्यसपछि त्यो सात प्रदेशको समन्वय समितिले सबै जिल्लाहरूमा पनि जुनजुन जिल्लामा जुन पार्टीको मतदाता छ, त्यो पार्टीका जिल्ला प्रमुखहरू सहितको जिल्ला समन्वय समिति बनाउने भन्ने हामीले निर्णय गरेका छौँ । यी समन्वय समितिले एक अर्कासँग समन्वय गरेर सबै मतदाताहरूलाई गठबन्धनका पक्षमा मतदान गर्नका लागि उत्प्रेरित गर्ने, सम्पर्क गर्ने, मत गणनासम्मका लागि यी समितिहरू क्रियाशील रहनेछ । मत बाँडिँदैन, किनभने पहिलो कुरा के छ भने यसमा निश्चित मानिसहरू मतदाता छन् । मतदाता प्रदेश सभाका मान्य सदस्यहरू, नगरपालिकाका प्रमुख र उपप्रमुखहरू छन्, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरू छन् । यी सबै पदाधिकारी भनेका आफ्ना आफ्ना पार्टीका नेता नै हुन् । आफ्ना पार्टीका नेताले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नुहुन्छ । त्यसरी मत विभाजित हुने अथवा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति हुँदैन । यो भनेको व्यवस्थापन गर्ने विषय हो । जस्तो उम्मेदवारहरूलाई सबै मतदातालाई भेट्टाउनुपर्‍यो । हाम्रो पार्टीको उम्मेदवार छन्, अर्को पार्टीको मतदाताले नचिनेको हुनसक्छ । अन्तरक्रिया नभएको हुनसक्छ । यी समन्वय समितिले सबै पार्टीका गठबन्धन भित्रका उम्मेदवारलाई मतदातासँग अन्तरक्रिया गराउँछन् र निर्वाचन व्यवस्थित बनाउने काममा लाग्छौँ । ’

राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समिति संयोजक समेत रहनुभएका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ