arrow

मुख्यमन्त्रीको दाबी – ‘गण्डकी विश्वविद्यालयमा लगानी बालुवामा पानी’

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
public-campus-pradayapak-sang-haripanta.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी विश्वविद्यालयको औचित्य खोजिरहेको बताएका छन् । पव्लिक क्याम्पस प्राध्यापक संघ नेपाल गण्डकी प्रदेशको भेला उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

गण्डकी विश्वविद्यालयका लागि यो आर्थिक वर्षमा २२ करोड रुपैयाँ छुट्याइएको भन्दै उनले एक विद्यार्थीका लागि ७ लाख रुपैयाँ खर्च भएको बताए ।

‘त्यहाँबाट उत्पादित जनशक्तिहरुको आवश्यकता छ कि छैन, तिनले के गर्छन्, लगानीको प्रतिफल आयो कि आएन, उत्पादक भयो कि अनुत्पादक भयो ?’ उनले भने, ‘अब यसको चर्चा गरौँ भने शिक्षा विरोधी भइन्छ । फलाना (पृथ्वीसुब्बा गुरुङ) को पालामा विश्वविद्यालय खुल्यो, फलाना (सुरेन्द्रराज पाण्डे) को पालामा बन्द गरिदियो । शिक्षा क्षेत्रमा नै लगानी गर्न चाहेन भनेजस्तो हुन्छ ।’

‘तर कुनै पनि लगानी गर्दा त्यसको प्रतिफल कति हुन्छ ? त्यो हिसाब गर्नुपर्ने आवश्यकता छ’, मुख्यमन्त्री पाण्डेले भने ।

आफूले विश्वविद्यालयका प्राध्यापक र कुलपतिसँगको पटक-पटकको भेटमा भनेको कुरा उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘पृथ्वीनारायण क्याम्पसमा जे पढाएको छ त्यही विषय गण्डकी विश्वविद्यालयमा पढाउने हो भने त्यो विश्वविद्यालयको आवश्यकता के छ ?’
अहिलेको बजार र आवश्यकतालाई हेरेर नयाँ प्रविधियुक्त शिक्षाहरु दिन सकिए गण्डकी विश्वविद्यालयको औचित्य रहने नत्र बालुवामा पानी खन्याएको सरह भन्दा केही नहुने उनले बताए ।

उनले भने, ‘तर पनि खासै सुध्रिने अवस्था देखिएको छैन ।’

गण्डकी विश्वविद्यालयको औचित्यताको आधारमा अघि बढाउने र कसरी लैजाने भन्ने विषयमा थप छलफल गर्न आवश्यक रहेको उनले बताए ।

शिक्षाप्रति विद्यार्थीलाई विश्वास दिलाउन नसकिएकाले नै विद्यार्थीहरु विदेश पलायन भएको मुख्यमन्त्री पाण्डेले स्पष्ट पारे । यसको न्युनिकरणका लागि आवश्यक छलफल गर्न आवश्यक रहेको उनले स्पष्ट पारे ।

उनले पव्लिक क्याम्पसका लागि प्रदेश सरकारले अनुदानको व्यवस्था गरिएको भन्दै अबका दिनमा थप गरेर अनुदान दिन उल्लेख गरे । उनले गण्डकीको सबै क्षेत्रमा मागेजति बजेट पुर्याउन ५ खर्ब आवश्यक पर्ने बताए ।

‘अहिलेको बजेट छ ३३ अर्वको । तर आवश्यकता छ ५ खर्वको, अनि कहाँनिर तालमेल मिल्छ ?’, उनले भने । संघ सरकारले दिन लागेको बजेटको तेस्रो किस्तासमेत काट्न लागेको भन्दै उनले गुनासो गरे ।

उनले समग्र शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि अध्ययन कार्यदल बनाएर अघि बढ्ने बताए । माग मात्र राखेर नहुने भन्दै मुख्यमन्त्री पाण्डेले संस्थागत रुपमा छलफल गरेर आवश्यकताका आधारमा शिक्षालाई अघि बढाउन सकिने बताए । शिक्षा क्षेत्रमा कानूनी अन्यौलता रहेको भन्दै उनले जे भएपनि आफ्नो जिम्मेवारी पूरा गर्ने स्पष्ट पारे ।

संघका पूर्व अध्यक्ष तथा व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले पव्लिक क्याम्पस संघमा लागेका साथीहरु बसेर छलफल गरि आवश्यक नीति नियम बनाउन आवश्यक रहेको बताए ।

हामी आफैले आफ्ना क्षमता र योग्यतालाई विकसित गरेर दवाव सृजना गर्न सबै लाग्नुपर्ने उनले खाँचो औंल्याए । धेरै पूराना कुरामात्र गरेर नहुने भन्दै उनले पव्लिक क्याम्पसलाई समयानुकुल सञ्चालन गर्नुपर्नेमा जोड दिए । युवाहरु बाहिर गइरहेको अवस्थामा धेरै चुनौती रहेको भन्दै मेयर न्यौपानेले यस विषयमा गम्भीर बहस आवश्यक रहेको स्पष्ट पारे ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशिला सिंखडाले संघीय ऐन नबन्दा जनताका चाहना बमोजिम काम गर्न नसकिएको बताइन् ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालले गुणस्तरीय शिक्षा नै आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, संघका निवर्तमान अध्यक्ष गोपाल पाण्डे, वर्तमान अध्यक्ष नरेन्द्र कोइराला, वडाध्यक्ष राधिका शाही योगी, संघका केन्द्रीय सदस्य भेषराज बराल, बागमती प्रदेश संयोजक गौतम केसी, लुम्विनी संयोजक युवराज राउत, सल्लाहकार वेदहरि तिमिल्सिना, महासचिव सन्तोष पण्डित, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष श्रीराम सुवेदीले शिक्षा क्षेत्रको समस्या पहिचान गरेर पव्लिक क्याम्पसलाई व्यवस्थित गर्दै र जीपनोपयोगी शिक्षामा जोड दिए थिए ।

कार्यक्रममा संघका सल्लाहकार वेदहरि तिमिल्सिनालाई संघलाई सक्षम ढंगले अघि बढाउन महत्पूर्ण योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ