arrow

जाने बेलामा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको संदिग्ध भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १६ मंगलबार
ganesh-timilsina-canada.jpg

काठमाडौँ । कार्यकालको अन्तिम समयमा आएर राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको क्यानडा भ्रमण संदिग्ध देखिएको छ । उनी निजी भ्रमणमा क्यानडा जानुलाई संदिग्धका रुपमा लिइएको हो । 

उनी आफ्नो निजी भ्रमणमा जाँदा केही व्यक्तिहरुलाईसमेत लिएर गएको दाबी गरिएको छ । उनले एनआरएनए क्यानडालाई आफू क्यानडा आउने र त्यसका लागि एउटा कार्यक्रमको आयोजना गर्न भनेकोसमेत एनआरएनए क्यानडा स्रोतले बताएको छ । 

स्रोतका अनुसार एनआरएनएलाई कार्यक्रम गर्नका लागि दबाब दिने अरु कोही नभएर तिमिल्सिनासँग नजिक भएका नरबहादुर क्षेत्री, केदार बस्नेत र अभिमन्यु बस्नेत  हुन् । 

 

 

स्रोत भन्छ, ‘त्यत्रो पोर्टफोलियो भएको मान्छेलाई हामीले पत्र पठाउनै पर्ने हैन । तैपनि पटक पटक ताकेता गरेपछि पत्र त पठाइयो । उहाँले त्यही पत्रमार्फत कार्यक्रम देखाएर अरुहरुलाई भित्र छिराउन खोज्नु भएको रहेछ भन्ने नेतृत्वले पत्तो पाउन सकेन ।’

उनको पत्रबाट अरु कसरी गए त भन्ने प्रश्न पनि उब्जिएको छ । त्यसका लागि यसअघिदेखि नै यस मामलाका खेलाडीहरु क्षेत्री र बस्नेत भएकोसमेत बताइएको छ ।

एनआरएनएले नेपाल–क्यानडा कूटनीतिक सम्बन्धको अवसर पारेर पत्र पठाउन भनेपछि पत्र पठाएको पाइएको छ । क्यानडाभर अहिले एनआरएनएकै संलग्नतामै यो काम भएको भनेर एनआरएनएलाई बदनाम गराउने कार्यसमेत भएको पाइएको छ । 

व्यक्तिगत भ्रमणमा आएको भए पनि एनआरएनएको कार्यक्रममा आएको भन्न लगाएर उनले आफूसँग गएकालाई एनआरएनले गरेको औपचारिक कार्यकर्ममा परिचयसमेत गर्न दिन मानेका थिएनन् । 

अध्यक्ष तिमिल्सिना जस्तो व्यक्ति पुगेपछि दुतावासदेखि कसैले पनि कुनै कार्यक्रम गरेको थाहा नपाइएको पनि एक सदस्यले भने । 

क्षेत्री र बस्नेतद्धय क्यानडामा विवादित छविका भनेर चिनिन्छन् । तिमिल्सिना एमाले पर्वत जिल्ला विकास समिति सभापति हुँदा पर्वतकै तत्कालीन एक गाविसका पूर्व अध्यक्ष हुन् नरबहादुर क्षेत्री । उनी हाल नेपलिज कम्युनिटी नेटवर्क अफ क्यानडा (एनसीएनसी) का अध्यक्ष पनि हुन् । 

केदार बस्नेत पहिले पनि यसरी नै मानव तस्करी गर्नेमा मुछिएका व्यक्ति हुन् । स्रोत भन्छ, ‘केदार पहिले पनि मान्छे नेपालबाट ल्याउने विषयमा मुछिएकै हुन् । नरबहादुरले यसअघि कलाकारलाई ल्याउने भनेर बोलाउने तर गैरकलाकार लिएर आउने गरेर बदनाम छन् ।’

क्यानडा आएका कतिपय त भेनकोभर पुगिसकेका छन् । स्रोतका अनुसार उनीहरु त्यहाँ शरणार्थी भएर बस्न खोजिरहेकोसमेत पाइएको छ । 

साथै केदार बस्नेत (उनी पशुपति मन्दिर स्कारबोरोको अध्यक्ष हुन् । ब्राउनटाउनमा पशुपतिको मन्दिर रहे पनि अर्को पशुपति मन्दिर बनाउन खोजिरहेका हुन् बस्नेतले) र अभिमन्यु बस्नेत (एनआरएनए आईसीसीको सहकोषाध्यक्ष हुन् । 

तिमिल्सिनालाई एनआरएनए क्यानडाले कार्यक्रममा बोलाउँदा नेपाल क्यानडा फेन्सी क्लबकी अध्यक्ष सोनिया सिन्धू (क्यानडाकी सांसद) र कार्यबाहक राजदूत रोजिना ताम्रकार पनि सहभागी थिइन् ।

उक्त कार्यक्रम जनवरी २० तारिखमा भएको थियो । कार्यक्रममा आफूसँगै रहेका मानिसलाई राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले परिचय नगराउन आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा सहभागी एक जनाले दिएको जानकारीअनुसार तिमिल्सिनाले कार्यक्रम संचालकलाई 'नाम मात्र भन्नुस् अन्य परिचय चाहिँदैन' भनेका थिए ।

जबकि उनीहरु पनि तिमिल्सिनासँगै क्यानडा गएका थिए ।

मानव तस्करीको शंका भएपछि अहिले आएर एनआरएनए क्यानडा झस्किएको छ । उनीहरुमाथि धेरै प्रश्न उठेकोसमेत पाइएको छ । 

तर उनीहरु बोल्न सक्ने अवस्थामा छैनन् न त तिमिल्सिनालाई सोध्ने हैसियत नै राखेका छन् । 

तिमिल्सिना २५ तारिखमै फर्किसकेका छन् । उनका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले अध्यक्ष तिमिल्सिनासहित ३ जना गएको र तीनै जनासँगै फर्किसकेको बताए ।

हाल उनी गण्डकी प्रदेशका कार्यक्रममा व्यस्त रहेको बताए । उनी  १७ गते बुधबार काठमाडौँ फर्कने कार्यक्रम छ । 

शर्माले अध्यक्ष तिमिल्सिनासँग स्वकीय उदय तिमिल्सिना र एमाले नेता पर्शुराम बस्नेत गएको र सँगसँगै फर्केको बताए । उनले भने, 'उहाँ एनआरएनको कार्यक्रममा जानु भएको हो । तीन जनाको मात्र हामीले भिसा लगाएको हो । तीन जना बाहेक कसैको प्रोसेस नै गरेकाे हैन । तीन जना जानु भाछ तीन जना फर्किनु भाछ ।' 

केही अध्यक्ष तिमिल्सिना भन्दा अगाडि नै गएको र चार जना तिमिल्सिनासँगै गएको तथा १५ जनाका लागि प्रक्रिया जारी रहेको भन्ने चर्चा क्यानडाभर ब्याप्त भएको स्रोत बताउँछ । शर्माले यस सम्बन्धमा स्पष्ट पार्दै भने, 'जाने भन्या एक जना मेरो त भिसाको प्रोसेस गरिएन भनेपछि । गएकै तीन जना हो । अर्को तेस्रो मान्छे लानु भएको पनि छैन । त्यसरी जाने र दिने कुरा पनि हैन ।'

यद्यपि अध्यक्ष तिमिल्सिनासँग कुरा गर्ने प्रयास भने सफल हुन सकेन । तिमिल्सिनाको छ वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । अहिलेसम्म कुनै विवादमा प्रत्यक्ष नदेखिएका स्वच्छ छविका तिमिल्सिनाले मानव तस्कर बनाएर लगेको भनेर विश्वास गर्न कठिन हुन्छ ।

तर उनलाई एनआरएनको निम्तोमा क्यानडा बोलाउन एनआरएन क्यानडालाई दबाब दिनेहरुको छवि देख्दा उनको नामको प्रयोग गरेर उनीहरुले पो त्यो काम गरे कि भन्ने शंका गर्ने ठाउँ पनि छ । 

 जे भए पनि कार्यकाल सकिने बेलामा अध्यक्ष तिमिल्सिनाको संदिग्ध क्यानडा भ्रमणले प्रश्न गर्ने ठाउँ राखेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ