arrow

द्वन्द्वको घाउ

द्वन्द्वकालमा माओवादीले बन्द गर्न भनेको स्कुल पुग्यो २५ वर्ष

logo
नारायण वली,
प्रकाशित २०८० माघ २४ बुधबार
highlight school2.jpg

लुम्बिनी । धर्ना भन्ने बितिकै कुनैबेला धेरैको नजरमा अबहेलनामा पर्दथ्यो । दाङको सदरमुकाम घोराहीदेखि झण्डै नौ किलोमिटर बबई नदीपारी पर्दछ । नदीले वारी र पारीको भूभाग छुट्याएकले धर्नालाई हरेक कोणबाट पिछडिएको क्षेत्रको रुपमा हेरिन्थ्यो । खेतीयोग्य जमीन प्रशस्त भए पनि सिँचाइ, स्वास्थ्य र शिक्षा क्षेत्र खासै उपलब्धिमुलक थिएनन् । धेरै पूर्वाधारको पहुँचबाट टाढा थियो धर्ना । 

बर्सात्को बेला बबई नदीमा पुल नहुँदा जोखिम मोलेर उच्च शिक्षा पढ्न जानु पर्ने बाध्यता थियो । तर सोही ठाउँमा २०५५ सालतिर साविक धर्ना गाविस-४ (हाल घोराही उपमहानगर- ५) एउटा बोर्डिङ स्कुल खुल्यो । जतिबेला देशमा २ सय ३० बर्ष राजतन्त्रलाई फालेर परिवर्तन ल्याउँछौँ भनेर भूमिगत रुपमा युद्ध मोर्चामा होमिएको तत्कालीन विद्रोही माओवादीको दबदबा बढ्दै थियो ।

नयाँ युग ल्याउँछौँ भनेर बिगुल फुक्दै विद्रोहमा लागेको माओवादीले बुर्जुवा शिक्षा पढ्नु हुँदैन, मुक्तिका लागि बन्दुक बोक्नुपर्छ भनेर प्रभावित बनाउँदै हिँडेका बेला धेरै निजी विद्यालयहरु बन्द गराइए । सरकारी विद्यालयका शिक्षकहरु अपहरणमा पर्न थाले ।

शिक्षा क्षेत्र त्रसिद बन्दै गएको थियो । सशस्त्र कालको असहज परिस्थितिमा पनि स्थापना भएर बन्द नगराइएको त्यो बोर्डिङ हो हाइलाइट इङ्लिश बोर्डिङ स्कुल । बुधबार उक्त स्कुलले आफ्नो स्थापनाकालको २५ औँ वर्ष पूरा गरेको छ । सो अवसरमा रजत जयन्ती मनाउने तयारीमा जुटेको छ।

शुरुवातमा कक्षा ५ सम्म सञ्चालन अनुमति लिएर खुलेको स्कुल २०८० सम्म आईपुग्दा कक्षा १० सम्म पुगेको छ । स्थानीय युवाहरुले ग्रामिण क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले खोलेको स्कुल लामोसमय वहालमा सञ्चालन गरिएको थियो । शुरुमा ४० जना विद्यार्थीहरुबाट सञ्चालन गरिएको स्कुलमा हाल ६ सय भन्दा धेरै विद्यार्थीहरु रहेको विद्यालयका लेखा प्रमुख ऋषिमान चौधरीले जनाए ।

'शिक्षकहरु नै सञ्चालक रहेको स्कुलमा शहरका स्कुलहरु भन्दा फरक र सहुलियत रुपमा शिक्षा प्रदान गर्नुपर्छ, ग्रामीण क्षेत्रका बालबालिकाहरुले शहरका स्कुलहरुमा पढ्न निकै खर्चिलो हुने भएकाले हामीले कडा संघर्ष गरेर हाईलाइटलाई स्थापित गराउन लाग्यौं र निरन्तर रुपमा लागिपरेका छौँ', हाईलाइट इङ्लिश बोर्डिङ स्कुलका प्रिन्सिपल कुमार नेपालीले बताए । 

उनले भने, 'विगतदेखि वर्तमानसम्म यस स्कुलबाट फाईदा भन्दा घाटा खाएर पनि हामी निरन्तर कसरी थप गुणस्तर शिक्षा, विद्यार्थीहरुलाई सेवा सुविधा र नजिकै शहरमा भएका स्कुलहरु भन्दा प्रतिष्पर्धात्मक विद्यार्थीहरु उत्पादन गर्न सक्छौं भन्ने तर्फ ध्यान केन्द्रित गरेका छौँ ।'

सो स्कुललाई अब्बल बनाउन स्कुल व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष डम्बरबहादुर नेपालीको भूमिका महत्वपूर्ण छ । द्धन्द्धकालमा माओवादीले बन्द गर्न दिएको चुनौतीलाई सामना गर्न र स्कुलको विकासमा खटिएका अध्यक्ष नेपाली भन्छन्, 'मैले आफ्नो घरको कामै छोडेर कैयौँ पटक स्कुललाई समय दिएको छ, आज यो स्थानमा घर नजिकै एउटा शिक्षाको केन्द्र स्थापित गर्न पाउँदा गर्भ लाग्छ ।' 

शिक्षालाई समयानुकुल विकसित र विद्यार्थीहरुलाई दिनुपर्ने सुविधालाई पूरा गर्न स्कुलले अहिले दुई ओटा बस सञ्चालनमा ल्याएको र जग्गा खरिद गरेर सुविधायुक्त भवनमा अध्यापन गराउँदै आएको स्कुल प्रशासनले जनाएको छ । पछिल्लो समय अतिरिक्त क्रियाकलापमा समेत भाग लिदै आएको स्कुलले राम्रै स्थान हासिल गर्दै गएको र यसलाई अझै प्रभावकारी बनाउन लागि परिरहेको स्कुलका सहायक प्रिन्सीपल ऋषिराज गिरीले जनाए । 

स्थापनाको २५ वर्षमा शैक्षिक विकासमा उत्कृष्टताको नमूना प्रदर्शन गरेको हाइलाइटले ग्रामीण स्तरबाट शहरीया निजी विद्यालयहरुसँग प्रतिस्पर्धा गर्ने क्षमता बनाउन सफल भएको छ । यो अवधिमा स्कुलले उत्पादन गरेका दक्ष जनशक्तिहरु स्वदेश तथा विदेशमासमेत राम्रो प्रदर्शन गरिरहेको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ