arrow

प्रचण्डले बोल्न नदिएपछि केन्द्रीय सदस्यहरु रुष्ट, जातिय–क्षेत्रीय मोर्चालाई ब्युँताउने अभिव्यक्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
maoist-central-committee-10.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रको मंगलबारदेखि शुरु हुने विधान सम्मेलनअघि सम्पन्न भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरुलाई आफ्ना धारण राख्न नदिएपछि नेताहरु असन्तुष्ट भएका छन् । 

पार्टी अध्यक्ष केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै प्रदेश इन्चार्ज र जनवर्गीय संगठनका इन्चार्जले धारणा राखेपछि अरुले राख्नु पर्दैन भन्दै रोक लगाएपछि केन्द्रीय सदस्यहरु असन्तुष्ट बनेका थिए ।

खासगरी पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा  प्रदेश इन्चार्जहरूले पेस गरेको रिपोर्टमाथि सोमबारको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको बताउँदै गर्दा केन्द्रीय सदस्यहरुले बोल्न पाएका थिएनन । 

‘अहिलेलाई इन्चार्जहरुले धारणा राख्नुभयो, विधान सम्मेलन पनि त्यहाँ पनि आफ्नो प्रदेशको समूह हुने नैछ त्यहाँ पनि केही टिप्पणीहरु राख्न पाइन्छ, यहाँ उठाउनु पर्ने विषयहरु लिखित रुपमा दिनुस् अहिलेलाई समय छैन’, प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ‘बोल्न पूरै निषेध गरियो, साह्रै नमज्जा भयो, केन्द्रीय कमिटीको बैठक जस्तो भएन ।’ 

ती केन्द्रीय सदस्यका अनुसार प्रचण्डले सम्बोधनका क्रममा कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको बताएका थिए । उनले कोशीमा कांग्रेसबाट भएको अन्तर्घातका साथै विभिन्न घटनाक्रहरु हेर्दा गठबन्धन लाभदायक बन्न नसकेको प्रचण्डको दाबी थियो ।

 ‘कांग्रेससँगको हाम्रो सहकार्य राजनीतिक दृष्टिकोणले त एउटा आवश्यकता हो । तर, हाम्रो पार्टीको समग्र विकासको दृष्टिकोणले त्यो लाभदायक भएको देखिएन’, बैठकमा प्रचण्डले गरेको सम्बोधनलाई उल्लेख गर्दै ती केन्द्रीय सदस्यले भने । 

उनका अनुसार प्रचण्डले बैठकमा यस्तो सम्बोधन गर्दा सरकारबाट बाहिर आएर कांग्रेसबारे टिप्पणी गर्न भन्दै प्रचण्डको भनाइमा होहल्ला गरेका थिए । ‘एकछिन हो हल्ला भयो पछि फेरि प्रचण्डले यसबारे समीक्षा हुन्छ भनेपछि चुपचाप भयो’, ती केन्द्रीय सदस्यले भने । 

प्रचण्डले अर्को गठबन्धन बनाउने आधार भने तय भइनसकेको बैठकलाई बताएका थिए । अहिले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पर्ने अवस्थासहित विभिन्न परिस्थितिले नयाँ गठबन्धन बनाउने अवस्थामा नपुगेको उनको भनाइ थियो । 

प्रचण्डले कांग्रेसलाई आफूहरूकै मतको आधारमा पहिलो पार्टी बनाइएकोसमेत धारणा राखेका थिए । ‘हामीले चाहिँ इमानदारीपूर्वक कांग्रेसलाई पहिलो पार्टी बनायौँ । तर हामीलाई पटक–पटक धक्का मिलेको छ’, प्रचण्डले भनेका थिए । 

राजकीय पद भागबन्डामा पनि पार्टीलाई घाटा भएको उनको भनाइ थियो ।  उनले अबका दिनमा गठबन्धन भन्दा पनि आफ्नै धरातलमा चुनाव लड्ने गरी पार्टीले अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेको र अहिले सरकारले गरेको काम कारबाहीबाट अर्को पल्ट पार्टीले बहुमत ल्याउने गरी आधार तय भएको पनि बताएका थिए । 

प्रचण्डले उत्पीडित जनसमुदायलाई जोडेर जानुपर्ने र आगामी निर्वाचनको पनि अहिलेदेखि नै तयारी थाल्नुपर्ने धारणा राखेका थिए । यस्तै प्रचण्डले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लवको पार्टीसँग एकता निष्कर्षमा पुग्न बाँकी रहेको बैठकलाई जानकारी गराएका थिए । 

प्रचण्डले सुशासन र सामाजिक न्यायको पक्षमा सरकारले काम गरेको बैठकमा बताउदै एक्लै चुनाव लड्ने आधार तय भएको बताएको पनि ती केन्द्रीय सदस्यको भनाइ छ ।

 ‘अन्तर्राष्ट्रिय फोरममा पनि वर्तमान सरकार संसारले देख्ने गरी प्रस्तुत भएको छ, आशा र अपेक्षा माओवादी पार्टीप्रति महसुस भएको छ’, प्रचण्डको भनाइ उल्लेख गर्दै ती सदस्यले भने । 

यस्तै भ्रष्टाचारको निर्मूल नभएसम्म समाजवादको बाटो तय नहुने पनि प्रचण्डको भनाइ थियो । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि भूमाफिया र तस्करीका विरुद्धसम्म सरकार गम्भीर भएर लागिपरेको र निरन्तर लागिपर्ने पनि उनको भनाइ थियो । प्रचण्डले आफ्नो जोश अझै पनि युवाको भन्दा कम नभएको भन्दै देश र जनताका लागि बिहानदेखि बेलुकासम्म निरन्तर खटिइरहेको बताएका थिए । 

प्रचण्डको जातिय मोह 
बैठकमा अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले तत्कालीन सशस्त्र संघर्षका क्रममा गठित जातिय–क्षेत्रीय मोर्चालाई ब्युँताउने अभिव्यक्ति दिएको स्रोतको दाबी छ । 

अध्यक्ष प्रचण्डले  आफूहरूको पहिचानका रुपमा माओवादी नाम मात्रै रहेको भन्ने जनतामा परेको भ्रमलाई चिर्न मोर्चा ब्युँताउने अभिव्यक्ति दिएका थिए । ‘हाम्रो पहिचान बाँकी रहेको नै माओवादी नाम मात्र नै हो भनिन्छ। तर नाम होइन काम ठूलो कुरा हो । नामले मात्र केही हुँदैन, काम अनुसारको नाम चाहिन्छ,’ प्रचण्डको भनाई उद्धृत गर्दै ती सदस्यले भने,  ‘उहाँले  युद्धकालीन जातिय–क्षेत्रीय मोर्चा पुनर्जीवित गरेर आन्दोलन थाल्ने पनि घोषणा गर्नुभयो ।’ 

ती केन्द्रीय सदस्यका अनुसार अब जातिय–क्षेत्रीय मोर्चालाई पुनर्जीवित गर्ने र संगठित आन्दोलन गर्ने र पहिचानको मुद्धा उठाउने प्रचण्डको भनाइ थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ