arrow

पोखराबाटै अन्तर्राष्ट्रिय कल बाइपास, दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १२ शनिबार
call-by-pass-pakau-pokhara.jpg

पोखरा । पोखराबाट गैरकानूनीरूपमा अन्तर्राष्ट्रिय कल बाइपास हुने गरेको खुलासा भएको छ । प्रहरीले अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पोखराबाट २ जनालाई पक्राउ गरेसँगै यस्ताे खुलासा भएकाे हाे ।

कल बाइपास गरेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को सहयोगमा शुक्रबार दिउँसो पोखरा महागरपालिका वडा नं. ११ फूलबारीबाट २ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ का २७ वर्षीय इमरान अहमद र पर्सा सखुवापर्सौनी गाउँपालिका वडा नं. ५ का ३७ वर्षीय विशाल साह कलवार छन् ।

उनीहरूको साथबाट १ सय २८ पोर्ट क्षमताको डिभाइसमा सीमकार्ड प्रयोग गरी कल बाइपास गरिरहेको अवस्थामा बरामद भएको छ ।

साथै ६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने २ वटा उपकरण, १ सय २८ वटा सीमकार्ड, वर्ल्डलिंकको राउटर, युपिएस, एक्टेन्सन कर्ड, नेट फाइवर, पेनड्राइभ, मोवाइल र ५ सय ९७ वटा एनसेलको सिससमेत बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

उनीहरुविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान गर्ने र बिगोका लागि नेपाल दूरसञ्चार प्राधिकरण पठाउने कास्की प्रहरीको तयारी छ । उनीहरूबिरुद्ध दूरसञ्चार ऐनसम्बन्धी मुद्धा चलाइनेछ । यससम्बन्धी मुद्धामा ५ वर्षसम्म कैद र बिगो बराबरको जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।

कसरी हुन्छ कल बाइपास ?

प्रहरीका अनुसार गैरकानूनी रुपमा इन्टरनेटको माध्यमबाट एसएमएस बाइपास गरेर पठाउँदै कर छलीको काम चलिरहेको छ । म्यासेजमात्र नभएर कल नै बाइपास गरेर दूरसञ्चार केन्द्र र सरकारलाई असर पार्ने काम गोप्यरुपमा चलिरहेको प्रहरीको भनाइ छ । पछिल्लो समयमा गैरहकानूनी भिओआइपीको धन्दा सक्रियरुपमा देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रहरी निरीक्षक प्रदीप खत्रीका अनुसार अवैधरुपमा अन्तर्राष्ट्रिय कल बाइपासको धन्दा चलाएर दूरसञ्चार र नेपाल सरकारले करबापत् पाउने रकम विदेशी गिरोहको कब्जामा गइरहेको छ । गेटवेको (सिम बक्स) ले एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्छ ।

नेपालमा दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् । यो वैधानिक बाटाे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक बाटाेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गरेर अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्याइन्छ । यसलाई गैरकानूनी मानिने प्रहरी निरीक्षक खत्रीकाे भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ