- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एघार महिनाअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियामा गएर अलपत्र परेका स्याङजाका एक युवा घर फर्किएपछि प्रधानमन्त्रीलाई धन्यवाद दिन सिंहदरबार पुगेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले उद्धार गरी नेपाल फर्काएका स्याङ्जा चण्डिकालिका घर भई पोखरामा बस्दै आएका ३९ वर्षीय भोजराज आचार्य वैदेशिक रोजगारीका लागि २०७२ फागुन ७ गते साउदी अरेबियाको रियादमा गएका थिए । रियादको मुसारी अल्मोसारी कम्पनी बन्द भएपछि उनी अलपत्र थिए ।
अलपत्र परेका आचार्यले २ महिनाअघि प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी आफूलाई उद्दार गर्न अनुरोध गरेकामा प्रधानमन्त्रीको सचिवालयले परिवारलाई बोलाएर उद्धारको प्रक्रिया अघि बढायो । सचिवालयले श्रम र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी १४ नोभेम्बरमा आचार्यलाई नेपाल फर्काएको हो ।
विहीबार आचार्यले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेटी आफूलाई बचाएर नेपाल ल्याएकोमा प्रधानमन्त्री, नेपाल सरकार र प्रधानमन्त्रीको सचिवालयलाई धन्यवाद दिए । भेटमा आचार्यले भने, ‘प्रधानमन्त्रीज्यू र हजुरको सचिवालयले प्रयास नगरेको भए म बाँचेर नेपाल आउन सम्भव नै थिएन । मलाई पुनःजीवन दिनु भएकामा धन्यवाद दिन मात्र आएको हुँ ।’
भेटमा प्रधानमन्त्रीले सरकार विदेशमा रहेका नेपालीहरुका समस्याप्रति चिन्तित रहेको भन्दै अब उच्च मनोवलका साथ नेपालमै काम गर्न आचार्यलाई आग्रह गरे ।