arrow

घरायसी र औद्योगिक प्रयोजनका ग्यास छुट्याउन चार विकल्प, कति पर्ला मूल्य ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १ बिहिबार
gas-cylinder.jpg.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने दिन नजिकिँदै गर्दा ग्यासको भाउ के हुन्छ भन्ने सन्दर्भमा बजारमा चर्चा शुरु भएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यासको भाउमा स्वचालित प्रणाली कायम गर्ने सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेसँगै बजारमा अब ग्यासको भाउ बढ्ने हो कि भन्ने चासो देखिएको हो । 

दुई साता अघि मन्त्रालयले सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वमा समिति गठन गरेको थियो । 

के गर्दैछ समिति ? 
गठन भएको समितिले अहिलेसम्म बजारको अवस्था र विकल्पहरुबारे प्रारम्भिक अध्ययन मात्रै गरेको छ । समितिका संयोजक ठाकुरका अनुसार समितिको ध्यान घरायसी उपभोक्तालाई राहत दिने र औद्योगिक खपतमा प्रयोग हुने ग्यासमा नोक्सानको भाग नलिने विकल्पमा केन्द्रित छ । 

‘अहिले पनि घरायसी प्रयोजनको ग्यास र औद्योगिक प्रयोजनको ग्यास कसरी छुट्टयाउन सकिन्छ भन्ने विषय हामीले छलफल गरिरहेका छौँ,’ ठाकुर भन्छन्, ‘यसका लागि दुई रङको सिलिन्डरको प्रयोग, सिलिन्डरको साइजलाई छुट्ट्याउने, घरायसी र औद्योगिक प्रयोजनका लागि छुट्टाछुट्टै उद्योगलाई जिम्मेवारी तोक्नेदेखि राष्ट्रिय परिचयपत्रको माध्यमबाट सिलिन्डर वितरण गर्नेसम्मका विकल्पमा छलफल गरेका छौँ ।’

औद्योगिक प्रयोजनका लागि फरक ग्यासको सिलिन्डर प्रयोग गर्न यसअघि सिलिन्डरलाई दुई रङमा वर्गीकरण गरिएको थियो । यो सफल भने भएन । 

औद्योगिक प्रयोजनका लागि पनि रातो ग्यासकै प्रयोग हुने र अनुगमनसमेत प्रभावकारी नभएपछि मूल्य फरक–फरक गर्ने योजना रोकिएको थियो । 

त्यस्तै औद्योगिक सिलिन्डरको साइजलाई बढाएर ५० देखि एक हजार किलोसम्म पुर्याउनेबारेसमेत छलफल भएको छ । यद्यपि यसको प्राविधिक पक्षबारे भने अध्ययन हुन बाँकी रहेको उनको भनाइ छ । 

त्यस्तै औद्योगिक प्रयोजन र घरायसी प्रयोजनको लागि ग्यास उत्पादन गर्ने उद्योग नै फरक फरक तोक्ने कि भन्ने सम्बन्धमा पनि छलफल भइहरेको छ । तर यसरी तोक्दा अहिले प्रयोगकर्ताले प्रयोग गरिरहेको ग्यासलाई साट्ने विषय चुनौतीपूर्ण हुने देखिन्छ । 

अर्को विकल्प चाहिँ राष्ट्रिय परिचयपत्रको माध्यमबाट सहुलियत दरमा ग्यास उपलब्ध गराउने हो । यसो गर्दा एउटा व्यक्ति वा परिवारले निश्चितसम्म ग्यास किन्दा सस्तोमा पाउँछ । 

धेरै खपत हुँदा त्यसलाई औद्योगिक प्रयोजन मानेर त्यहीअनुसार मूल्य कायम गर्न सक्ने बारेसमेत छलफल भएको ठाकुरले बताए 

‘हामीले सबै प्रकारका विकल्पहरुबारे छलफल गरिरहेका छौँ । यो विषयमा प्रशासन, कानून, इञ्जिनियरिङलगायत सबै क्षेत्रका प्राविधिक विषयका जानकार चाहिन्छ । केही विषयमा हामीले प्राविधिक व्यक्तिको अभाव महसुस गरिरहेका छौँ,’ ठाकुरले भने, ‘यो बीचमा राजनीतिक अवस्था परिवर्तन भएर पनि केही ढिलाइ भयो । यसलाई हामी छिट्टै टुंगोमा पुर्याउने गरी छलफल गर्छौँ ।’

अहिले बजारमा खपत हुने कूल ग्यासमध्ये ७० प्रतिशत घरायसी र ३० प्रतिशत औद्योगिक प्रयोजनमा खर्च हुने अनुमान गरिएको छ । 

अहिलेको मुख्य ध्यान मूल्य बढाउने भन्दा पनि प्रयोजनका आधारमा ग्यासको वर्गीकरण कसरी गर्ने भन्नेमा रहेको उनको भनाइ छ । 

के हुन्छ अबको मूल्य ?
निगमले आगामी शनिबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दैछ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । त्यही दिन नेपाली बजारको मूल्य समायोजन गरिन्छ । 

समितिले अध्ययन गरिरहेको सन्दर्भमा तत्काल ग्यासमा स्वचालित मूल्यप्रणाली कायम हुन सक्ने अवस्था छैन । निगमका सहप्रवक्ता पुष्कर कार्कीले अहिले ग्यासमा प्रतिसिलिन्डर ३२५ रुपैयाँ नोक्सान भएको अवस्थामा सबै मूल्य बढाउन सक्ने सम्भावना नरहेको बताउँछन् । यो अवस्थामा निगमको नोक्सानीलाई कम गर्न केही मूल्य समायोजन भने हुन सक्ने उनको भनाइ छ । 

‘हामी भारतबाट आउने मूल्यसूची हेर्छौँ । घटेर आयो भने नघटाएर नोक्सानी कम गर्ने र बढेर आयो भने पनि एकैपटक सबै नभएर थोरै मात्र मूल्य बढाउने विकल्प हुन सक्छ’, सहप्रवक्ता कार्की भन्छन्, ‘यसबारे के गर्ने भन्ने निर्णय सञ्चालक समितिले नै गर्ने हो । तर सबै मूल्य एकैपटक बढाउन सम्भव देखिँदैन ।’

गत साउनमा निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको थियो । यद्यपि दशैँमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य वृद्धि भएर आईओसीबाट त्यही अनुसार मूल्य आएपछि सरकारको निर्देशनमा स्वचालित मूल्यप्रणाली स्थगित गरिएको थियो । 

चाडबाड सकिएपछि पेट्रोलियम पदार्थमा यो प्रणालीले निरन्तरता पाए पनि ग्यासमा अहिले पनि यस्तो मूल्य प्रणाली लागु हुन सकेको छैन ।

अहिले भारतमा भने ग्यासको मूल्य घटाइएको छ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा भारतको केन्द्र सरकारले ग्यासको मूल्य एक सय रुपैयाँले घटाएको हो । यद्यपि यो गिरावट अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित नभएकाले नेपालमा यसको प्रभाव पर्ने देखिँदैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ