arrow

वर्षौंपछि पेट्रोलियम ढुवानी अवरोधः निगम नेतृत्वको क्षमतामा प्रश्न, कर्मचारी असन्तुष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
oil-corporation-chandika-dh.jpg

काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ट्यांकर चालकहरुले आइतबार र सोमबार पेट्रोलियम पदार्थको ढुवानी अवरोध गरे । उनीहरुले डिपोबाट नउठाउने मात्रै होइन, पेट्रोलियम पदार्थ बोकेर थानकोट आइपुगेका ट्याङ्करहरुलाई नै रोके ।

यो करिब ६ वर्षपछिको अवरोध थियो । कोरोना महामारीको समस्या बाहेक सामान्य अवस्थामा यसअघि २०७५ सालमा ढुवानी अवरोध भएको थियो । त्यसपछि यस्तो समस्या आएको थिएन । 

अत्यावश्यक वस्तुमा सूचीकृत पेट्रोलियम पदार्थको रुपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी अवरोधदेखि आइतबार नै अभाव देखियो । सोमबार बिदाको दिनका बाबजुद पनि पेट्रोल पम्पहरुमा देखिएको लाइन चिन्ताको विषय बनेको थियो, बिदाको दिन थिएन भने झनै अत्यासलाग्दो हुन सक्थ्यो । 

पेट्रोलियम पदार्थको अभावको सूचना फैलिन थालेसँगै निगमले हतार हतार आन्दोलनरत पक्षलाई वार्तामा बोलायो । वार्ता लम्बिँदै जाँदा पेट्रोल पम्पहरुमा लाइनसमेत बढ्न थालेपछि निगम आत्तिएर सम्बद्ध पक्षसँग सहमति गर्यो । उक्त सहमतिअनुसार पेट्रोलियम पदार्थ ढुवानीकर्ता चालक तथा सहचालकको सेवा सुविधा लगायतको सम्बन्धमा १५ दिनभित्र अध्ययन गरी सुझाव पेश गर्ने सहमति भएको थियो । 

यो सहमतिसँगै तत्कालको लागि समस्या हल भएको छ । तर १५ दिनपछि के हुन्छ भन्नेबारे यसै भन्न सक्ने अवस्था छैन । निगमले गरेको सहमति अनुसार अध्ययन समिति बनाउने प्रयोजनको लागि निगमले सदस्यको नाम मागेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार यसका लागि बुधबार नै तीन वटा संघलाई पत्र पठाइएको छ । 

त्यसरी पत्र पठाइएका संघहरुमा पेट्रोलियम ट्यांकर चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास ढुवानीकर्ता संघ रहेका छन् । पत्रअनुसार प्रतिनिधि आएपछि सो अध्ययन समितिले काम थाल्नेछ । उक्त समितिमा मन्त्रालयबाट २ जनाको प्रतिनिधित्व रहने ठाकुरले बताए । 

दुई दिनको यो अवस्थाले नेपालको पेट्रोलियम पदार्थको सप्लाईको अवस्था कसरी ‘तरबारको धार’ जसरी अघि बढेको रहेछ भन्ने प्रष्ट गर्छ । सरकारी पम्पहरुसँग पर्याप्त मौज्दात हुँदा निजी पेट्रोल पम्पहरु पर्याप्त मौज्दात राख्ने मामिलामासमेत कति उदासिन रहेछन् भन्ने विषयसमेत यसले प्रष्ट पारेको छ । त्योभन्दा महत्वपूर्ण चाहिँ यसले निगमको नेतृत्व क्षमतामा प्रश्न उठाएको छ । 

उमेशप्रसाद थानीले राजीनामा दिएपछि अहिले नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा चण्डिका भट्ट निगमको नेतृत्वमा आएका छन् । निजामति सेवाबाट उदाएका भट्ट यसअघिसमेत कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणकोसमेत कार्यकारी निर्देशक भइसकेको व्यक्तिको रुपमा भट्टलाई योग्य उम्मेदवारको रुपमा हेरिएको थियो । 

सबैजसो नियुक्तिहरु विवादित भइरहेको समयमा उनको यस पटकको नियुक्ति तुलनात्मक रुपमा कम विवाद रह्यो । तर नियुक्ति भएको चार महिनामै ढुनानी अवरोधका कारण कृत्रिम अभावको अवस्था सिर्जना हुनुले भने उनको क्षमतामाथि नै प्रश्न उठेको छ ।

दीर्घकालीन रुपमा समस्या समाधान होला ? 

निगमका प्रवक्ता ठाकुर अहिले पेट्रोलियम पदार्थको चालकको आन्दोलन प्रत्यक्ष रुपमा निगमसँग जोडिएको विषय नै थिएन । यो ढुवानीकर्ता ट्यांकरका साहूहरु र त्यसका चालक र सहचालहरुको सौदाबाजीको कुरा थियो, यसमा निगम चेपुवामा परेको मात्रै हो । तर अहिले निगमले गरेको सहमतिपछि यसमा निगममात्रै नभएर सरकार नै यसको एउटा स्टेकहोल्डर बनेको छ । 

अब बन्ने समितिले दुई पक्षबीच भएको सहमतिअनुसार सेवा सुविधा बढाउने गरी निष्कर्ष दिन सक्छ । यस्तो अवस्थामा अहिले नै कमिसन पुगेन भनेर असन्तुष्टि व्यक्त गरिरहेका पेट्रोलियम डिलर्स एसोसिएसनलगायत संस्थालेसमेत आन्दोलन गर्न थाल्ने हुन् कि भन्ने आशंका छ । 

यस्तै ग्यास उद्योग, ग्यास बिक्रेताहरुको माग पनि त्यही किसिमको छ । त्यसैले अहिले भएको सहमति भोलिका दिनमा एकपछि अर्को आन्दोलन र हड्तालको कारक बन्ने हो कि भन्ने आशंका सरोकारवालाहरुको छ ।

आफ्नो क्षेत्रमा के कस्तो हुँदैछ र त्यसलाई समयमै कसरी उपयुक्त रुपमा छलफल गर्ने भन्ने निर्णय शुरुमै गर्नुपर्ने भए पनि त्यसमा कार्यकारी निर्देशक भट्ट चुकेको निगम सम्बद्ध सरोकारवालाहरु बताउँछन् । 

‘निगम देख्दा मोनोपोली भए पनि यहाँ डुवानीकर्ता, डिपो, ग्यास उद्योग, पेट्रोल पम्पहरु गरी हजारौँ निजी क्षेत्रसमेत एकैसाथ जोडिएको छ । यो अवस्थामा सबै पक्षसँग राम्रोसँग डिल गर्न नसक्ने हो भने आइतबार र सोमबारको अवस्था फेरि नआउला भन्ने ग्यारेन्टी नभएको उनीहरुको भनाइ छ  ।

कर्मचारीवृत्तमा असन्तुष्टिको स्वर

त्यसो त यो चार महिनाको कार्यसम्पादनदेखि कर्मचारी वृत्तमासमेत असन्तोष बढ्दै गएको छ । चार महिनाको यो अवधिमा कर्मचारीवृत्तमासमेत असन्तुष्टिसमेत चुलिएको बताइन्छ । यद्यपि अहिले यो विषय सतहसम्म देखिएको छैन ।

पछिल्लो समय निगमले सञ्चित नोक्सानी व्यहोरेर नाफाको अवस्थामा गइसकेको छ । यस्तो अवस्थामा कर्मचारीहरुलेसमेत नयाँ नेतृत्वबाट धेरै अपेक्षा गरेका छन् । त्यसै अनुरुप कर्मचारी संगठनहरुलेसमेत विभिन्न माग राख्दै आएका छन् । तर कार्यकारी निर्देशकले कुरा नसुन्दा कर्मचारीवृत्तमासमेत असन्तुष्टिको स्वर सुनिन थालेको छ । 

‘पहिले पनि कार्यकारी निर्देशक भइसक्नुभएको र निगमलाई बुझेको मान्छे फर्किएर आउँदा हामी जति उत्साही थियौँ, अहिलेसम्मको उहाँको कामले निराश हुने अवस्था भएको छ, निगम योबीचमा नाफामा गएको छ, तर हामीले केही पाएका छैनौँ’, निगमकै कर्मचारी संगठनका एक जना पदाधिकारी भन्छन्, ‘अरु कार्यकारी निर्देशकहरु हुँदा जटिल अवस्थामा पनि नभएको हड्ताल अहिलेजस्तो सहज अवस्थामा भएको छ । उहाँ केही गर्ने भन्दा पनि जागिर खाने हिसाबले आउनुभएको अहिलेसम्मको कामले देखाएको छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ