arrow

कोटिभिटी प्रकरणपछिको त्रास

विदेशी आईटी कम्पनीको अवमूल्यन हुँदै, यस्तो छ नेपालमा योगदान

निर्यातमा कर नलाग्ने सर्वमान्य सिद्धान्तविपरीत मूल्य अभिवृद्धि कर ऐनको व्याख्याअनुसार कर लगाइँदा नेपालमा विदेशी लगानीका आईटी कम्पनीहरु टिक्नै नसक्ने अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
cotiviti-revenue.jpg

काठमाडौँ । निर्यातमा करको विषयलाई उठाएर राजश्व अनुसन्धान विभागले अमेरिकी लगानीको नेपाली सूचना प्रविधि (आईटी) कम्पनी कोटिभिटीमाथि दश अर्ब छत्तीस करोड पैतालीस लाख बाइस हजार छ सय बयालीस रुपैयाँ सजाय मागदाबीसहित मुद्दा चलाएपछि अहिले यो क्षेत्र तरंगित छ ।

व्यावसायिक सम्बन्ध भएको विदेशी कम्पनीलाई सेवा निर्यात गरेको र त्यसमा शून्य प्रतिशत मूल्य अभिवृद्धि करको सुविधा लागू नहुने भन्दै विभागले सो कम्पनीविरुद्ध मुद्दा चलाएको हो । 

यो प्रकरणपछि नेपालमा रहेका विदेशी लगानीका आईटी कम्पनीहरुको भविष्य के हुन्छ भन्ने प्रश्न उठेको छ । अर्कोतिर नेपालले वर्षौंसम्म लगाएर कमाएको गुडविलको लाभ नेपालले लिइराख्न सक्छ कि सक्दैन भन्ने अर्को प्रश्नसमेत छ । 

यी प्रश्नहरुबारे व्याख्या गर्नुअघि नेपालमा आईटी कम्पनीले कसरी सकारात्मक प्रभाव पारिरहेका थिए भन्ने चर्चा गरौँ । 

नेपालमा सन् २००० को दशकदेखि आईटी कम्पनीहरु खुल्न थालेका हुन् । सन् १९८३ मा विश्वमा इन्टरनेट प्रविधिको शुरुआत भयो । त्यसको १० वर्षपछि यो प्रविधि नेपालमा भित्रिएको थियो । इन्टरनेट प्रविधिसँगै नेपाली युवाहरुमासमेत सूचना प्रविधि क्षेत्रमा रुची बढ्दै गयो । 

नेपालमा रहेका विश्वविद्यालयहरुमासमेत आईटी इञ्जिनियरिङको शुरुआत हुन थालेपछि सन् १९९० को दशकमा यो विषय पढ्नेहरुको संख्यासमेत बढ्न थाल्यो । इन्टरनेट प्रविधिसँगै भित्रिएको रिमोट वर्क कल्चर अनुसार त्यही जनशक्तिलाई प्रयोग गर्नेगरी विदेशी कम्पनीहरु नेपालमा खुल्न थालेका हुन् । 

त्यतिबेला नेपालीले सिकेको ज्ञान नेपालले किन्न सक्ने अवस्था थिएन । त्यतिबेला नेपालीसँग भएको ज्ञानलाई प्रयोग गरेर कम्पनीहरुले नेपालमा रोजगारी सिर्जना गरिदिएका थिए । ती कम्पनीहरुले नेपालमा बसेर सफ्टवेयर बनाउँथे र आफ्नै मुख्य कार्यालयमा पठाउँथे । यी कम्पनीहरुले ब्याक अफिस मोडलमा काम गर्दै आएका थिए । 

यसो गर्दा उनीहरुलाई दुई प्रकारको फाइदा हुन्थ्यो । पहिलो धेरै देशमा आफ्ना सहायक कम्पनी हुँदा यसले गुडविल बढाउँथ्यो । दोस्रो तुलनात्मक रुपमा कम सेवा सुविधामा जनशक्ति प्राप्त गर्नसक्ने अवस्था उनीहरुलाई हुन्थ्यो । कोटिभिटी पनि त्यही लाभ प्राप्त गर्ने उद्देश्यअनुसार नेपालमा आएको हो । 

त्यसरी नेपालमा बसेर काम गर्ने इञ्जिनियरहरुले डलरमा तलब भत्ता पाउने भएकोले यसले विदेशी मुद्रा सञ्चितिमा पनि सहयोग गरेको थियो । डलरमा तलब पाउँदा नेपालमा अन्य क्षेत्रमा काम गर्नेको भन्दा यो सेवा सुविधा पनि बढी थियो । 

एक जना आईटी कम्पनीका सञ्चालक भन्छन्,‘अहिले नेपालमै बसेर सफ्टवेयर बनाउने इञ्जिनियरहरुले महिनाको डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनीहरुले नेपालमै बसेर ३६ प्रतिशतसम्म कर तिरिरहेका छन् । विदेशमा काम गरेर रेमिट्यान्स पठाउँदा सरकारले कर पाउँदैनथ्यो ।’ 

त्यसो त आईटी क्षेत्रमा काम गर्ने  युवाको जीवनशैलीसमेत विलासी प्रकृतिको हुने भएकोले यसले त्यस्ता प्रकारको वस्तु तथा सेवाको प्रयोग गर्ने भएकोले यसबाटसमेत सरकारले राजश्व प्राप्त गर्दै आएको थियो । विदेशमा गएर सोही जीवनशैलीमा बस्दा सरकारले यस्तो लाभ प्राप्त गर्न नसक्ने अवस्था हुन सक्थ्यो । 

उता नेपालमै बसेर जागिर पाइन्छ भन्ने भएपछि दोस्रो पुस्तामासमेत आईटी पढ्ने लहर चल्दै गयो । यसको चेन इफेक्टका कारण नेपाली युवामा आईटी पढ्ने लहर चलेको ती सञ्चालकको भनाइ छ । अहिले पनि नेपालमा यो विषय पढ्न विद्यार्थीको आकर्षण छ । 

अहिले नेपाली अर्थतन्त्रमा सूचना प्रविधिको वार्षिक योगदान करिब ६८ अर्ब रुपैयाँ रहेको एउटा अध्ययनले देखाएको छ । त्यसमध्ये करिब एक सय वटा विदेशी कम्पनी र चार हजार भन्दा बढी नेपाली कम्पनीहरु अहिले यो क्षेत्रमा काम गर्दै आएको अनुमान छ । यो क्षेत्रमा अहिले करिब ७० हजार व्यक्तिले रोजगारी पाउँदै आएका छन् । 

अहिले यसरी नेपाली कम्पनीहरु फस्टाउनुको कारणसमेत कोटिभिटी जस्तै आईटी कम्पनीहरु हुन् । ती कम्पनीको माध्यमले ‘नलेज ट्रान्सफर’ का कारण अहिले यो अवस्थामा आइपुग्न सकेको नेपाली कम्पनीका सञ्चालकहरु नै स्वीकार गर्छन् । 

ती कम्पनीहरुले शुरुमा पढाइसकेका युवालाई तलबी इन्टर्नशिपमा काम लगाएर दक्ष बनाएका थिए । अहिले पनि नयाँ इञ्जिनियरहरुलाई यसैगरी तलबी इन्टर्नशिप दिएरै काममा लगाइन्छ । आईटी कम्पनीको सबैभन्दा ठूलो लगानी भनेकै यही रहेको सञ्चालकहरुको भनाइ छ ।

नेपालमा उद्योग सञ्चालन हुँदा विभिन्न विवाद निस्किन्छ । जग्गा प्राप्ति, मुआब्जा निर्धारणका प्राविधिक समस्यादेखि जल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण लगायतका सवालहरु आउने गरेका छन् । 

अर्कोतिर शहरी क्षेत्रका मुख्य बजारमा पार्किङ, फुटपाथ अतिक्रमण लगायतका सवालहरु आउने गरेका छन् । तर ६८ अर्बको आईटी उद्योगले न त वातावरणमा असर नै गर्छ, न त यसमा फुटपाथ र पार्किङको समस्या नै हुन्छ । 

शहरका भित्री गल्लीमा सयौँको संख्यामा रोजगारी दिने यस्ता उद्योगहरु सञ्चालन हुँदै आएका छन् । उत्पादनमूलक क्षेत्रमा भारत र चीनलाई जित्नसक्ने अवस्था नभएका कारण नेपालको लागि आईटी नै सबैभन्दा बढी सम्भाव्य क्षेत्र देखिन्छ । 

त्यसो त पछिल्लो समय नेपाली युवाले देखाएको पर्फमेन्सका कारण आईटी क्षेत्रमा नेपालको छवि बढ्दै गएको छ । नेपाली युवाले निर्माण गरेका सफ्टवेयरहरु सजिलो र सुरक्षित हुने गरेको भन्दै यस्ता सफ्टवेयरहरु निर्माणका लागि नेपाली कम्पनीलाई जिम्मा दिने चलनसमेत अहिले बढेको पाइन्छ । ती सञ्चालक भन्छन्,‘हेल्थकेयर मार्केटमा त अझै नेपालको लगानी निकै ठूलो छ ।’

के होला अबको भविष्य ?
निर्यातमा कर नलाग्ने सर्वमान्य सिद्धान्तविपरीत मूल्य अभिवृद्धि कर ऐनको व्याख्या अनुसार कर निर्धारण गरिएपछि अब नेपालमा विदेशी लगानीका आईटी कम्पनीहरु टिक्नै नसक्ने अवस्था छ । अहिले रहेका एक सय भन्दा बढी कम्पनीहरु सबै बन्द हुने आईटी व्यवसायी रुद्र पाण्डेको दाबी छ ।  

नेपाली कम्पनीको आईटी कम्पनीको सञ्चालन र निर्यातमा यसले कुनै असर नगर्ने देखिए पनि यो प्रकरणले विश्व बजारमा नेपाली आईटी क्षेत्रको छविमै नकारात्मक असर पर्ने र यसबाट स्वदेशी लगानीका कम्पनीमा विस्तारै असर पार्नसक्ने ती क्षेत्रका व्यक्तिहरुको दाबी छ ।



लोकप्रिय समाचार
नयाँ