arrow

सुदूर सरकारमा ट्विस्ट – नाउपाका लक्ष्मण पुगे दाबी बोकेर प्रदेश प्रमुख कार्यालयमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
laxman-kishore-chaudhary-na.jpg

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरी नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।  

सरकार दाबी गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम समय साँझ ५ बजेसम्म हो । आइतबार प्रदेशको ठूलो दल कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको थियो ।

प्रदेश सरकार निर्माणको लागि कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो । कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोरचौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको थियो ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबीच सहमति भएको हो । 

सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतको लागि आवश्यक २६ मत पुग्ने भएको छ । 

यद्यपि केन्द्रको नयाँ समीकरणका दलहरुबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी  अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ