arrow

के गगन थापा देशद्रोही हुन् ? हैनन् भने गृहमन्त्री लामिछानेलाई कारबाही के ? 

logo
मनोज लामिछाने, 
प्रकाशित २०८१ जेठ १२ शनिबार
manoj-lamichhane-81-2-12.jpg

नेपालको राजनीतिमा समय समयमा देखिने उतार चढाव, राजनीतिकर्मीहरूको बोली, व्यवहार, आचरण र अपरिपक्कताले नेपालको राजनीति कति जीर्ण छ भन्नेकुरा जोकोहीले पनि सजिलै आँकलन गर्न सक्छन् । देशको एउटा जिम्मेवार निकायमा बसेका व्यक्तिहरूबाट बेला बेलामा  सञ्चार माध्यम र संसद जस्तो गरिमामय सदनमा दिएका अभिव्यक्तिहरूबाट नेपालका राजनीतिज्ञहरूको अपरिपक्कता र अदूरदर्शिता प्रष्ट झल्किन्छ । 

उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समय समयमा  सञ्चार माध्यम र संसदमा दिएको अभिव्यक्ति र उनको हाल देखिएको कार्यशैलीप्रति नेपाली जनता अचम्मित भएका छन् । विगतमा एउटा टेलिभिजनमा सिधाकुरा जनतासँग भन्ने कार्यक्रमबाट नेपाली  सञ्चार जगतमा छुट्टै पहिचान बनाएका लामिछाने अहिले सत्तामा पुगेपछिको उनको बोली, व्यवहार र कार्यशैलीप्रति जनमानसले उनीप्रतिको दृष्टिकोणमा फरक महसुस गरिरेहका छन् । 

हुनतः नेपालको राजनीतिमा अनुभवी र दिग्गज कहलिएका नेताहरूले पनि आफ्नो बोली र व्यवहारहरूमा बेलाबेलामा लगाम लगाउन नसकेका उदाहरणहरू धेरै छन् । नेपालको राजनीतिमा छोटो समयमा राज्यको अभिभावकीय पदमा पुग्न सफल लामिछानेप्रति जनताले ठूलो आशा गरेका छन् र पुराना दलहरूले आफ्नो कार्यशैली र राजनीतिक इमान्दारीलाई कायमै राख्ने हो भने मिसन ८४ मा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको भन्दा बढी मत आउने एकथरीको आँकलन थियो । तर अहिले यो पार्टी, यसका नेताहरू र उनको व्यवहार र कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका लागि मिसन ८४ अपूर्ण दिवा सपना हुन्छ कि भन्ने शंका जनताले गर्न थालेका छन् ।     

लामिछानेले संसदमा नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले राज्यको सूचना विदेशीलाई बेचे भन्ने आरोप लगाएका छन् । उनको यो आरोपले अहिले नेपाली राजनीति गर्माएको छ । राज्यको सूचना विदेशीलाई बेच्नु भन्ने आरोप सामान्य आरोप होइन । यो आरोप देशद्रोहको आरोप हो । 

अन्य देशहरूमा देशको सूचना विदेशीलाई बेच्नु भनेको संघीन अपराध गरेको ठहर छ र दोषीलाई हदैसम्मको कारबाही हुन्छ । गगनकुमार थापा नेपाली राजनीतिमा छोटो समयमा उदाएका नेता होइनन् । प्रजातन्त्र, बहुदल र गणतन्त्रका लागि राजनैतिक आन्दोलनमा पटक–पटक होमिएका नेता हुन् । 

नेपाली राजनीतिकी प्रखर वक्ता रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा लेखेको प्रतिक्रिया हेर्ने हो भने गगनको वास्तविक परिचय झल्किन्छ । रामकुमारी र गगनले सँगसँगै विद्यार्थी राजनीतिमा दुवै जना दुई ध्रुवका (रामकुमारी अखिलको र गगनले नेविसंघको राजनीति गर्ने) थिए । तर मुलुकको राजनीतिक परिवर्तनका क्रममा भने उनीहरु सँगसँगै नै भए । 

उनले लेखेकी छिन्, ‘गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो ।’

त्यस्तै नेपाली राजनीतिमा स्थापित, एमालेका प्रखरवादी नेता डा. भीम रावलले पनि सामाजिक सञ्जाललाई यो विषयमा गम्भीर ढङ्गले लेखेका छन् । उनले लेखेका छन्, ‘गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारेसमेत संसदमा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानूनी कारबाही होस् । राज्य कानून र मर्यादमा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ ।’

माथिका दुवै प्रखर गैरकांग्रेसी नेताहरुका विचार पढ्दा गृहमन्त्री लामिछानेले गगन थापालाई लगाएको आरोपलाई त्यति हल्का रूपमा लिनु हुँदैन भन्ने हो । 

विगतमा टेलिभिजनमा नेपालका नेताहरूलाई नाकको डाँडी भाँच्ने गरी कुट्नु पर्छ भनेर अन्टसन्ट बोल्ने र बेलगामको बोली बोलिरहने उनको शैलीलाई उनले सच्याउन अति आबश्यक छ । कुराले विकास कदापि हुँदैन न त संसदमा छातीमा हात राखेर प्रतिज्ञा गरेर नै हुन्छ । नेपाली समाजमा एउटा भनाइ छ –बोल्नेले गर्दैनन्, गर्नेले बोल्दैनन् । यसको उदाहरण हो, काठमाडौँ र धनगढीका मेयरले गरेका कार्यहरू । उनीहरू बोल्दैनन् र उनीहरूका कामहरू नागरिकले अनुभूति गरेका छन् । त्यस्तै धरानका मेयर यो मामलामा अलि पृथक छन् । उनी बढी बोल्छन् तर उनले गरेका कामहरू नागरिकले अनुभूति गरिरहेका नै छन् ।  

कामको कुरा गर्ने हो भने गगन थापा विगतमा छोटो समय स्वास्थ्य मन्त्री भएका बेलामा स्वास्थ्य क्षेत्रमा नीतिगत उपलब्धिहरू हासिल गरेका थिए । डाइलासिस सेवा पूरै निःशुल्क भएको घोषणा, मृगौला प्रत्यारोपण पूरै निःशुल्क, मृगौलाको प्रारम्भिक परीक्षणका लागि डिपिस्टिक किटको व्यवस्था, बाथ तथा मुटु रोगको निःशुल्क शल्यक्रिया, नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा, विशिष्ट व्यक्तिलाई १५ लाख रुपैयाँ भन्दा बढी उपचार खर्च नदिने व्यवस्था, कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था, सैनिक अस्पताल सर्वसाधारणका लागि खुला, हरेक सरकारी अस्पताल बिहान ९ देखि दिउँसो ३ बजेसम्म अनिवार्य सञ्चालन, ३ देखि ५ सम्म पेइङ सेवा, सबै स्वास्थ्य चौकीहरू अपरान्ह ४ बजेसम्म चलाउनु पर्ने ब्यवस्था, प्राथमिक स्वास्थ्य केन्द्रहरूमा उपकरणहरू, औषधी र चिकित्सकहरूको ब्यवस्था, लगभग ७ सय चिकित्सकहरूको नियुक्ति, स्वास्थ्यचौकीमा नसर्ने रोगको परीक्ष्ण शुरू गरएिको थियो । 

त्यस्तै विदेशबाट ल्याउनै पर्ने महँगा औषधी सरकारी निकायबाटै किनेर बेच्ने व्यवस्था, ५० भन्दा बढी अस्पतालमा फार्मेसीको स्थापना र संचालन, सबै सरकारी अस्पतालमा बहिरंग सेवा बिहान १० देखि साँझ ५ बजेसम्म संचालन, जिल्ला स्तरबाट पनि औषधी खरिदको व्यवस्था, फार्मेसी संचालनका लागि केन्द्रमा ३० लाख, क्षेत्रमा २५ लाख, उपक्षेत्रमा २० लाख, अञ्चलमा १५ लाख बिउ पूँजी पठाइएको, जिल्ला अस्पतालका लागि मात्रै ३ करोड ४४ लाख रुपैयाँ बिउ पूँजी पठाइएको, मुटु र क्यान्सरको उपचार सेवा विस्तार, बिना दर्ता सञ्चालन भएका स्वास्थ्य संस्थाहरू बन्द र कानूनी दायरामा ल्याईएको थियो । 

साथै सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था, स्वास्थ्य सामग्री, सर्जिकल सामग्रीको नियमन गर्ने पहिलो प्रयास, विपन्न नागरिक उपचार सहायता, कडा रोग ८ बाट १२, लाइन व्यवस्थापनका लागि केन्द्रीय अस्पतालहरूमा कुपन प्रणाली लागू, काठमाडौँमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ ओटा स्वास्थ्य संस्थाहरूलाई निःशुल्क डायलासिस सेवाका लागि अनुमति, मृगौला डायलासिस मेसिनको व्यवस्था, काठमाडौँ बाहिर डायलासिस सेवा विस्तार, सिकलसेल एनिमियाको परीक्षण तथा उपचार धनगढीबाट शुरू, हृदयरोग निवारण सेवा भेरीबाट शुरू गर्नुका साथै जनकपुरमा शुरू गर्न अध्ययन थालिएको, सेनासँगको सहकार्यमा रौतहटबाट बृहत स्वास्थ्य शिविरको शुरूआत गरिएको थियो । 

मेडिकल कलेजहरूसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रिया सहितको विषेशज्ञ सेवा शुरू, नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय, पुल दरबन्दी सृजना, ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा इकाइ गठन गर्ने व्यवस्था, पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था, सुर्तिजन्य पदार्थ जथाभाबी बेच्न रोग, छुट्टै लाइसेन्स लिनु पर्ने व्यवस्था, हरेक महिनाको पहिलो शनिबार अस्पतालको सरसफाइ, मेरो वर्ष, म स्वस्थ्य, मेरो देश स्वास्थ, अभियान, विद्यालयमा सामुदायिक नर्सको अवधारणा, खोप निर्देशिका लागू, एम्बुलेन्स निर्देशिका लागू, प्रयोगशाला निर्देशिका लागू, मदिरा नियन्त्रण तथा नियमन नीति लागू, मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू, नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड लागू, स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सम्बन्धी कार्यविधि लागू, वैदेशिक तालिम र भ्रमण सम्बन्धी मापदण्ड लागू, मदिरा ऐन लागू, आयुर्बेद नीति लागू, गुणस्तर सुनिश्चितता सम्बन्धी ऐन लागू, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका लागू, मानसिक स्वास्थ्य नीति लागू गरेका थिए । उनले छोटो समयमा गरेका यी कामका उदाहरण हुन् ।

यो लेखको आशय, न कुनै नेताको बयान गर्नका लागि हो न त कसैप्रति नकारात्मक टिप्पणी । यो लेखको आशय मात्र यत्ति हो कि नयाँ नेपालको निर्माणका लागि युवाहरू नेपाली राजनीतिमा आउनु पर्छ र युवाहरूले देशको बागडोर सम्भाल्नु पर्छ र पुराना नेताहरूले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने मान्यता राखेका युवा नेताहरूको छेँडखानी, आरोप र प्रत्यारोपले यो देशको भविष्य के हुने भन्ने प्रश्न खडा गरेको छ ।

देशमा भ्रष्टाचारको अन्त्य गर्छु र सुशासन कायम गर्छु भनेर नेपाली राजनीतिमा पाइला चालेका लामिछाने आफैँ दोहोरो नागरिकता काण्डमा मुछिए, अहिले उनीमाथि सहकारी ठगीको आरोप लागेको छ । उनको कारण संसद अवरुद्ध भइरहेको छ । सुशासनको दुहाइ दिएका लामिछानेले विगतमा भुटानी शरणार्थी काण्डमा मुछिएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले जस्तो नैतिकतासमेत देखाउन सकेनन् । 

विदेशी नागरिकताको कारण चितवनमा भएको २ पटकको चुनावमा देशले कति आर्थिक भार बोक्नु पर्यो ? यसको हेक्का उनले राख्नु आबस्यक छ । उनि लगायात गगन थापा, स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, रामकुमारी झाँक्री, योगेश भट्टराई, विश्वप्रकाश शर्मा जस्ता धेरै नेताहरू पार्टीमा छन् यी नेताहरू देशका लागि आवश्यक छ । 

तर जनताले आशा गरेका युवा नेताहरूबाट गरेका व्यवहार र कार्यशैलीले नेपाली जनताको मन कुँडिएको छ । गृहमन्त्रीलाई सहकारी ठगीको आरोप लागेको छ । यसका लागि उनले आफ्नो पार्टी र आफ्नो हितको लागि नैतिकता देखाउनु पर्छ । अहिलेको बाटो फुक्का गरिदिनु पर्छ र म निर्दोष छु भनेर आफूलाई प्रमाणित गर्न सक्नुपर्छ । 

अर्कोतर्फ उनले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई लगाएको संघीन आरोपको प्रमाणित गर्नुपर्दछ । एमालेका नेता डा.भीमबहादुर रावलको भनाइलाई सापटी लिँदा ‘राज्यका सूचना बेच्नु देशद्रोह हो । यसरी सूचना नेपाली कांग्रेसका महामन्त्री, सांसद गगन थापाले बेचेको गम्भीर आरोप गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले लगाएका छन् । 

यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसदमा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानूनी कारबाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रधानमन्त्री प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ । गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ हेक्का रहोस् ।’ 

गगन थापाले देशको सूचना बेचेको हो त ? के उनी देशद्रोही हुन् त ? यो कुराको सत्य, तथ्य बाहिर जनता माझ ल्याउनु पर्छ । यदि यो कार्य उनले गरेको हो भने गगन थापालाई देशद्रोहीको मुद्दा लगाउनु पर्दछ र हदैसम्मको कारबाही गर्नुपर्दछ साथै गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनेर संसदमा प्रस्तुत गरेका छन् । त्यसको तुरुन्त अनुसन्धान हुनु आबश्यक छ । 

राजनीतिमा सुझबुझ र परिपक्वता हुनुपर्छ भन्ने कुराको ख्याल गृहमन्त्रीलगायत उनका पार्टीका नेता तथा कार्यकर्ताहरूले बुझ्नु पर्दछ । गगन थापामाथि लगाएको आरोप झुठा ठहरे देशको गृहमन्त्री जस्तो जिम्मेवार पदमा टाँसिरहन उनलाई कुन नैतिकताले दिन्छ भन्ने हेक्का राख्नु पर्दछ । साथै डा. रावलले भनेझैँ राज्य कानून र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ