arrow

एलोबेराः दबाइ कि विष ? 

logo
डा. बद्रीप्रकाश ओझा,
प्रकाशित २०८१ जेठ १२ शनिबार
badri-ojha-81-2-12.jpg

कुरो सन् २००५ तिरको हो । भारतको मुम्बई महानगरले गल्लीका कुकुर (जसलाई सभ्य भाषामा सामुदायिक कुकुर भनिन्छ) को परिवार नियोजनको प्रक्रिया अघि बढायो । एक जना पश्चिमा नायिका जो पशुअधिकारवादी पनि थिइन्, उनले भारतका राष्ट्रपतिलाई सम्बोधन गर्दै चिट्ठी लेखिन् । चिट्ठीमा एउटा गज्जबको व्यंग्यात्मक प्रश्न थियो, महामहिमज्यू तपाईंलाई कुकुरले कन्डम लगाउँदैन भन्ने थाहा छ ? 

यस घटनापछि पनि सहरमा कुकुरहरूको शल्यक्रिया गरी बाँझो बनाउने क्रम जारी नै छ । अब कहिलेदेखि पृथ्वी कुकुरका लागि पनि हो, त्यसैले कुकुर पार्क खोलौँ र बाटोमा नछोडौँ भन्ने धारणा विकास हुन्छ, त्यो भने हेर्न बाँकी नै छ । 

हार्भार्ड विश्व विद्यालयकी अनुसनधानकर्ता डा.मार्था सी नसाबामले प्राग भारतीय सम्राट अशोकले जनावरप्रतिको अन्याय देखेर आफूले मासु खान छोडेको प्रसङ्गग कोट्याएकी छिन् ।

त्यस्तै आदिम ग्रीक दार्शनिक प्लुटार्क र प्रोफेरीले पनि जनावरप्रति सम्मान जनाउँदै मासु खान छोडेको प्रसङ्ग पनि उनको अनुसन्धान लेखमा उल्लेख छ । उनको अनुसन्धान प्रतिवेदनमा दुई सहश्राब्दीयता मानिसले जनावरमाथि गरेको अत्याचारबारे उल्लेख छ । 

यता मेरो घरमा पनि एउटा कुकुर छ, कालु । म आफैँले ती पश्चिमा नायिकाको पत्र पढ्ने अवसर पाएकाले म कालुप्रति निकै सजक छु । म उसलाई बाहिर पनि जान दिन्छु । उसको पनि मानिसले झैँ डुल्ने, साथी बनाउने र जैविक आवश्यकता पूरा गर्ने अधिकार छ भन्नेमा म विश्वास गर्दछु । 

उसलाई घर पछाडिको इस्कुसको फेँदमा आची गर्ने व्यवस्था मिलाइदिएको छु । भरसक बाहिर आची गर्दैन तर पिसाब भने गर्छ । 

कुकुरको दुनियाँमा पिसाब फेर्नुलाई आफ्नो अधिपत्य क्षेत्र घोषणाका रुपमा लिइन्छ । त्यसैले अन्यत्र अरु कुकुरले पिसाब फेरेको गाडी आयो भने कुकुरहरू भुक्दै पछिपछि लाग्छन् ।

त्यो उनीहरूले मानिसलाई आक्रमण गर्न खोजेका होइनन् । यदि गाडी रोकिदिने हो भने टायरमा खुट्टा उचाल्छन् र आफ्नो बाटो लाग्छन् । अध्ययनहरूले यसै भन्छन् । 

मेरो कालु पनि बाहिर गएका बेला एक दुई दिनसम्म पनि घर आउँदैन । उसको पनि कतै रोधीघर होला भन्ने लाग्छ । खान पाएन भने दुई दिनमा फर्किन्छ । कथंकदाचित कसैले खान दियो भने सातासम्म पनि टप्किँदैन ।

उसले तल गोदावरी मार्गमा एउटा रेस्टुरेन्टलाई खाने थलो बनाएको छ । ब्लन्च रेस्त्रोका सञ्चालकलाई फकाएर खान्छ । अब त त्यहाँ हरेक दिन उसका लागि केही न केही पाक्छ । 

यसैगरी डुल्दै हिँड्दा कुनै दिन कुनै धारिलो वस्तुको सम्पर्कमा आएर उसको ह्याकुलोमा चार इन्च लामो चोट लागेछ । उसले खुट्टाले मलाई कोट्याएर घाउ देखायो । घरका सबै त्रसित भए । डाक्टरको सुविधा नभएकाले मैले घरेलु उपचार गर्ने विचार गरेँ । 

आमाले भन्नुभएछ, उहाँको गाईलाई चोट लाग्दा घ्यूकुमारीको लेदो लगाइ दिनुभएको थियो रे । 

मैले दैनिक दुई पटक एलोबेराको लेदो दलिदिएँ । दलेर सक्दा चाट्ने । तैपनि उसले निले पनि काम गर्ला भन्ने लाग्यो । दश दिनमा उसको त्यति लामो चोट पूर्णरुपले पुरियो । दिएको तस्बिरमा हेर्न सक्नुहुन्छ । त्यसपछि मलाई घ्यूकुमारीबारे भएका अनुसन्धान पढ्न मन लाग्यो ।

हाम्रोमा कुनै बेला एलोबेराको खुब हल्ला थियो । एक दुईजनाले बिरुवा भिडाएर कमाए भन्ने पनि सुनिन्थ्यो । अझै पनि कृषिमा लगानीका कुरा चल्दा एलोबेरा खेतीको उदारण दिइन्छ । 

दबाइ नै हो त घ्यूकुमारी ?
हो । मेडिकल न्युज टुडेमा नियमित रुपमा अनुसन्धानात्मक आलेख लेख्ने जो लिच र उनकी अनुसन्धान निर्देशक डा. केरी बोयलले गरेको अनुसन्धान अनुसार एलोबेरामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ जसले रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्दछ । 

त्यस्तै यसमा एन्टिब्याक्टेरियल गुण पनि हुन्छ जसले किटाणुसँग लड्न शक्ति प्रदान गर्दछ । उक्त अनुसन्धान अनुसार एलोबेराले घाउ निको पार्छ । यो त हाम्रै कालुले देखाइदियो । 

यसैगरी ब्लड सुगर लेभल सन्तुलन, उमेरका कारण देखापर्ने चाउरीपनलाई लुकाउन आदिमा सहयोग गर्दछ । आगोले पोलेको ठाउँमा त उहिलेदेखि नै लगाइन्थ्यो । खासगरी पहिलो र दोस्रो वर्गका पोलाइमा एलोबेरा राम्रो दबाइ मानिन्छ । 

चिकित्कहरूले पहिलो तहको छाला पोलिनुलाई पहिलो वर्ग र मासु पनि पोलिनुलाई दोस्रो वर्गको पोलाइ मान्दछन् । तर तेस्रो वर्गको पोलाइ जो मानिसको शरीर पूरै जलेको अवस्था छ भने एलोबेराको खासै असर नहोला । 

सन् २०२२ मा गरिएका नौवटा अध्ययनको सिंहावलोकनले पनि मुखको अल्सर निको पार्न एलोबेरा सबैभन्दा असल दबाइ भनिएको छ । यसका साथै चाउरीपन लुकाउन, कपाल बढाउन र कब्जियत कम पार्न पनि एलोबेराको प्रयोग गर्न सकिने अनुसन्धानले देखाएका छन् ।

खान मिल्छ त ? 
यस्तो दामी चिज किन नखाने भनेर हतार नगर्नुहोस् । बजारमा एलोबेराको जुस बेचेका कथा सुनिन्छ । चिकित्सकको सल्लाह बिना कच्चा जुस नपिउनुहोला । 

एलोबेराले कलेजोमा असर पार्ने तथा झाडापखालाको त्रास बढ्ने अमेरिकी नेसनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशन गरेको अनुसन्धान आलेखमा उल्लेख छ । 

एलोबेरा खानाले लिभरमा हानि पुग्दछ भन्ने तथ्य सन् २००५ मा पत्ता लागेको हो । अनुसन्धान अनुसार एलोबरा खान थालेको तीनदेखि २४ साताको बीचमा कलेजोमा हानि पुगेको थियो । 

जर्मनीकी ५७ वर्षीया एक महिलाले एलोबराका कारण उमेर बढेको संकेत लुकाउन सकिने सुनेर दैनिक पाँच सय मिलिग्राम एलोबरा ट्याब्लेट खाइन् । 

उनलाई तीन सातादेखि कलेजोमा दुःखाइ शुरू भयो । उनीमा मादक पदार्थ वा हेपाटाइटिसको समस्या थिएन । जन्डिस भने भएको थियो । 

जब उनलाई एलोबेराको साइडइफेक्ट थाहा भयो, उपचार गर्न पाँच महिना लाग्यो । एक वर्षपछि मात्र उनी पूर्णरुपमा स्वस्थ्य भइन् । 

त्यस्तै कोरियाकी एक ६२ वर्षीया महिलाले दैनिक चार सय २० मिलिग्राम एलोबेरा पाउडर खाएको तीन महिनापछि उनको शरीरमा हेपाटाइटिसको समस्या देखियो । उक्त जडिबुटी खान छोडेको डेठ महिनापछि उनी हेपाटाइटिसको आक्रमणबाट आंशिक रुपमा मुक्त भइन् । 
त्यस्तै अमेरिकामा गरिएका तीन वटा अनुसन्धानमा दुई सय ३६ जना वयस्कहरू सहभागी थिए । त्यस्तै युरोपमा पनि ४४ जनाबीच यस्तो अनुसन्धान गरियो । दुवै अध्ययनले एलोबेरा खाँदा स्वास्थ्यमा समस्या देखायो । 

त्यसैले खानुअघि चिकित्सकको सल्लाह लिनुहोला । तर घाउमै लगाउँदा भने त्यति असर नपार्ला । (लेखक इलाम चुलाचुलीका सिमल तरुल उत्पादक किसानको सिक्न सक्ने क्षमतामाथि पोस्ट डक्टरल अनुसन्धानमा संलग्न छन् ।) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ