arrow

अगुवा विद्यालयले जगाएको आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
jaimini-nagarpalika.jpg
तस्बिर-फाइल

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न थालेको छ । शैक्षिक गुणस्तर वृद्धि गर्ने र एकीकृत विद्यालय निर्माण गरी टाढाका विदार्थीलाई विद्यालयमै राखेर अध्ययन गर्ने योजना नगरपालिकाले कार्यान्वयनमा लगेको छ । 

बढ्दो बसाइँसराइका कारण विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्ने र नगरपालिकाको लगानी सदुपयोग नहुने भएकाले नगरपालिकाले दुई वर्षदेखि अगुवा विद्यालय, आवासीय विद्यालय, पढ्दै कमाउँदै र प्राविधिक अध्ययनको अवधारणा अघि सारेको हो । 

विद्यार्थी र अभिभावकालई आम्दानीसँग जोड्ने, आवासीयसहितको विद्यालय बनाउँदै नगरकै शैक्षिक हब बनाउन जैमिनी नगरपालिका-५ बिनामारेस्थित सर्वोदय जनक माध्यामिक विद्यालयलाई अगुवा विद्यालयका रूपमा अगाडि बढाएको छ । यस वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि समेत विद्यालय छनोट भएको छ ।

अगुवा विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने, अतिविपन्न परिवारलाई पढ्दै कमाउँदै अभियानसँग जोड्ने र पालिकाकै शिक्षा क्षेत्रको नमूना विद्यालय निर्माण अभियानमा जैमिनी नगरपालिकाले लगानी गरिरहेको उपप्रमुख हरिहर शर्माले बताए । 

“छरिएको बस्ती नजिकको विद्यालयमा विद्यार्थी घट्न थालेपछि एउटा वडामा एक नमूना विद्यालय बनाउने, पालिकास्तरीय अगुवा विद्यालय बनाउने र प्राविधिक धारतर्फको अर्को विद्यालय बनाउने हाम्रो गुरुयोजना हो ।” 

पालिकाको केन्द्र कुश्मिसेराको शान्ति माविमा कम्प्युटर प्रविधितर्फ पढाइ भइसकेको छ भने बिनामारेको सर्वोदय जनक माध्यमिक विद्यालयमा आवासीय सुविधा, पढ्दै कमाउँदैलगायतका सुविधा थपेर अगुवा विद्यालय बनाइएको छ । 

उपप्रमुख शर्माका अनुसार विद्यार्थी घटेको विद्यालयलाई गाभ्ने र टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने नगरपालिकाको योजना कार्यान्वयनको चरणमा छ । सबै विद्यालयमा पूर्वाधार, शैक्षिक गुणस्तर वृद्धिमा लाग्दा परिणाम नआउने भन्दै वडा-वडामा नमूना विद्यालय बनाउने, आसपासका विद्यालयलाई नमूना विद्यालयमा गाभ्ने योजना नगरपालिकाको छ । विद्यालय गाभ्दा अपायक परेका विद्यार्थीलाई होस्टल वा यातयातको व्यवस्था नगरपालिकाले मिलाउने गुरुयोजना बनाएको छ ।

दुई वर्षअघि अगुवा विद्यालय घोषणा गरिएको सर्वोदय जनक माविमा नगरपालिकाले रु १८ लाख लगानी गरिसकेको वडाध्यक्ष ठगेन्द्रबहादुर थापाले जानकारी दिए । 

विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर ६७ प्लाष्टिक टनेल स्थापना गरिएको छ । गाउँमा रहेको एक संस्थागत विद्यालय गाभेपछि उक्त विद्यालयलाई नमूना विद्यालयका रूपमा अगाडि बढाइएकामा पालिकाले लिड विद्यालयका रूपमा विकास गर्न लगानी बढाएको उनको भनाइ छ ।

संस्थागत विद्यालयको पूर्वाधार समुदाय र विद्यालयको अग्रसरतामा सामुदायिक विद्यालयको मातहतमा लिएर उक्त पूर्वाधारलाई होस्टल प्रायोजनका लागि विकास गरिएको विद्यालयका प्रधानाध्यापक भवानी आचार्यले बताए ।

उनले पालिकाकै अगुवा विद्यालयका रूपमा नगरपालिकाले घोषणा गरेपछि अभिभावकमा विद्यालयप्रतिको भरोसा भढ्दै गएको बताए । 

“तीन सय तीन विद्यार्थी अध्ययनरत छन्, यहाँको निजी विद्यालयसमेत यहाँ गाभिएको छ, विद्यार्थी बढाउन अगुवा विद्यालयको अवधारणा पालिकाले लिएको छ”, प्रधानाध्यापक आचार्यले भने, “विद्यार्थी थोरै भएको विद्यालयलाई गाभेर ठूलो विद्यालयमा ल्याउने, शिक्षकको दरबन्दी थप भएपछि पढाउन सहज हुन्छ, घरबाट आउन टाढा हुने विद्यार्थीलाई यातयातको साधन अथवा आवासीय रूपमा शिक्षा दिनेगरी अगाडि बढेका छौँ ।”

पढ्दै कमाउँदैअन्तर्गत भाडाको चार रोपनी जग्गामा ६ प्लाष्टिक टनेल निर्माण गरिएका छन् । यस वर्षदेखि विद्यार्थीकै सक्रियतामा तरकारी उत्पादन गरिँदैछ । कक्षा १० का विद्यार्थीलाई गत वर्षदेखि आवासीय सुविधा दिइएको छ । 

कृषि उपजलाई विद्यालयको दिवाखाजा र होस्टलमा प्रयोग गरिने प्रधानाध्यापक आचार्यले बताए । विद्यालयका लागि आएको रु १८ लाखबाट होस्टेल, तारबार र आवासका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ