arrow

क्षत्रपाटी अस्पतालमा वित्तीय अनुशासन उल्लंघनका घटना बढ्दै, अख्तियारमा उजुरीको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १७ बिहिबार
chhatrapati-hospital-81-02-.jpg

काठमाडौँ । समुदायस्तरबाट सञ्चालित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) मा वित्तीय अनुशासन उल्लंघनका घटना बढ्दै गएका छन् । सञ्चालक समितिका सीमित व्यक्तिहरुको मनोमानीमा अस्पतालको नाममा आएको करोडौँ रकम दुरुपयोग गर्नेगरी यस्तो गतिविधि हुन थालेको हो । 
 
चिकित्सालयले इमर्जेन्सी कक्ष विस्तारको लागि भन्दै बाटो नै नभएको दुईआना जग्गालाई प्रतिआना ७५ लाख रुपैयाँको दरले किन्ने निर्णय गरेको थियो । उक्त जग्गा सरकारी मूल्य र प्रचलित मूल्यभन्दा महँगो भएको, आफ्नो नाममा नै नआइकन संरचना निर्माण थालिएको र नक्सा पाससमेत नगरेकोबारे हाम्राकुराले यसअघि नै समाचार प्रकाशित गरेको थियो ।

अस्पतालका अध्यक्ष मनोजमान श्रेष्ठले भने उक्त जग्गा आफ्नो नाममा नआएको कुरा अस्वीकार गरे । ‘हामीले निर्माण शुरु गर्नुभन्दा केही समय अघि नै त्यो जग्गा हाम्रो नाममा आइसकेको थियो,’ अध्यक्ष श्रेष्ठले भने, ‘जग्गा नै आफ्नो नाममा नआइ कसरी संरचना बनाउन मिल्छ ?’

उनले क्षत्रपाटी जस्तो ठाउँमा जग्गाको मूल्य प्रतिआना ७५ लाख रुपैयाँ महँगो नभएको बताए । ‘त्यो जग्गालाई अरु सँधियारले ३ करोडसम्म दिन आएका थिए । हामीले डेढ करोडमै पायौँ, त्यही भएर किनेको हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘अस्पतालसँगै जोडिएको अर्को खाली जग्गा पनि छैन, त्यसैले जति तिर्छु भने पनि अब किन्न सकिँदैन । त्यसैले त्यो जग्गा किन्ने निर्णय गरेको हो ।’ 

त्यस्तै नक्सा पासको प्रक्रिया पूरा भइनसकेको भए पनि यो प्रक्रिया अन्तिम चरणमा रहेको श्रेष्ठको भनाइ थियो । 

अध्यक्ष श्रेष्ठ कुनै अनियमितता नभएको बताइरहँदा अस्पताल स्रोतले भने इमर्जेन्सी कक्षको संरचना निर्माणको लागि बनाइएको उपभोक्ता समितिसमेत अवैधानिक भएको अर्को दाबी गरेको छ । करिब ६ महिनाअघि गठन गरिएको उक्त उपभोक्ता समितिमा कपिल श्रेष्ठ अध्यक्ष छन् जो चिकित्सालयको सञ्चालक समिति सदस्यसमेत हुन् । 

उपभोक्ता समितिमा सञ्चालक समितिमा रहेको व्यक्तिको प्रतिनिधित्व हुन नमिल्ने भए पनि अवैधानिक रुपमा श्रेष्ठलाई अध्यक्ष बनाइएको हो । उपभोक्ता समितिको नाममा रकमको दुरुपयोग गर्नका लागि सञ्चालक समितिका अध्यक्ष मनोजमान श्रेष्ठको स्वार्थमा उनलाई उक्त समितिको अध्यक्ष बनाइएको स्रोतको दाबी छ ।

यो सम्बन्धमा चिकित्सालय सञ्चालक समितिका अध्यक्ष श्रेष्ठको फरक दाबी छ । उपभोक्ता समितिमा सञ्चालक समितिको पदाधिकारी बस्न नपाउने भन्ने नियम कतै नभएको उनको भनाइ छ । उक्त समितिको गठन वडा कार्यालयको रोहवरमा भएको समेत श्रेष्ठले बताए । उनले भने, ‘हामीले वडाध्यक्षको रोहबरमा वैधानिक रुपमा नै उपभोक्ता समिति बनाएका हौँ । त्यसमा सञ्चालक समितिको मान्छे बस्न मिल्दैन भन्ने हुँदैन । अरु सदस्यहरु चाहिँ सबै स्थानीयवासीलाई राखेका छौँ ।’

अख्तियारमा उजुरीको तयारी

चिकित्सालयमा एकपछि अर्को अनियमितताका घटना बढ्दै गएपछि अस्पतालसँग सम्बन्धित केही व्यक्तिहरु मिलेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिने तयारी गरेका छन् । समुदायबाट चन्दा र विभिन्न दातृ संस्थाहरुबाट अनुदानको नाममा सहयोग जुटाएर चलेको अस्पतालमा यो प्रकारको अनियमितता सह्य नहुने उनीहरुको भनाइ छ । 

‘हामीसँग अस्पतालभित्र भएका अनियमित गतिविधिका धेरै वटा प्रमाण छन्, हामीले औपचारिक अनौपचारिक रुपमा धेरैपटक नेतृत्वलाई सञ्चिन भन्यौँ, तर सुनुवाइ भएन,’ चिकित्सालयका एक जना आजीवन सदस्यले भने, ‘विभिन्न सरकारी, गैरसरकारी निकायले दिएको अनुदान र सदस्यहरुले तिरेको शुल्क र शुभेच्छुकहरुले दिएको चन्दाको दुरुपयोग हुन र अनियमित खर्च हुने अवस्था आउन दिँदैनौँ, अब अख्तियार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिन्छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ