arrow

सार्वजनिक तथा सामुदायिक पुस्तकालयको प्रदेश सम्मेलन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १९ शनिबार
pustakalaya-sammelen-pokhara.jpg

पोखरा । गण्डकी प्रदेशमा २००३ देखि २०८० सालसम्म स्थापित करिब एक सय सार्वजनिक पुस्तकालय छन् । हाल पूर्णकालीन र आंशिकरुपमा चलेका पुस्तकालयको संख्या ४१ छ ।

पोखरा सार्वजनिक पुस्तकालयका सचिव सूर्य क्षत्रीका अनुसार पुस्तकालय यात्राको आरम्भ मल्लकालीन अवधिमा भएको मानिन्छ ।

बृहतरूपमा पुस्तक संकलनको अभियान पृथ्वीनारायण शाहले गरेका थिए । शाहका पनाति गीर्वाणयुद्धविक्रम शाहले वि.सं. १८६९ मा लालमोहर जारी गरी संस्थागत गरेका थिए । २००७ सालको क्रान्तिको जग निर्माणमा ‘मकै पर्व’ र ‘पुस्तकालय पर्व’ को महत्त्वपूर्ण योगदान छ ।

पुस्तकालयको संस्थागत विकासबारे संवद्ध पक्षबीच ऐक्यवद्धता कायम गर्न, पुस्तकालयसम्बन्धी ऐन, नियम निर्माणका लागि प्रदेश सरकार एवं स्थानीय तहलाई अनुरोध गर्नेगरी घोषणापत्र जारी गर्न पोखरामा सम्मेलन सुरु भएको छ । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पुस्तकालय बचाउन र यसको दायरा फराकिलो बनाउनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको स्पष्ट पारे ।

उनले समयानुकुल परिवर्तनसँगै परामर्श केन्द्रका रुपमा समेत पुस्तकालयले काम गरिरहेकाले चुनौतिको सामना गर्दै नयाँ प्रविधिका साथ अगाडि बढ्न आग्रह गरे ।

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले पठन संस्कृतिको विकासका साथै नियमित अध्ययन अनुसन्धानको अवसर, लेखक-पाठक बीचको अन्तरक्रिया र पुस्तक समीक्षा, चित्रकला, कथा, कविता प्रतियोगिता, नेतृत्व विकास, बाल यौन हिंसाबारे सचेतना, युवा उद्यमशील तालिम, कम्प्युटर तालिम लगायत पुस्तकालयका गतिविधिबारे प्रशंसा गरे ।

दीपशिखा सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले जीवनपर्यन्त शिक्षाका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए ।

उनले किशोरीलाई डिजिटल प्रविधिमा आधारित शिक्षा, सीप विकास, नेतृत्व कौशल, आत्मविश्वास र सफलता सुनिश्चित गर्ने एक आदर्श प्लेटफर्म टेक एज गर्ल्स कार्यक्रम तथा ठगी र अरु समस्यामा परेकालाई मनोसामाजिक परामर्श दिँदै किशोरी र महिलाको स्वास्थ्यसम्बन्धी सचेतना, कानुनी साक्षरतालगायतका कार्यक्रमले पुस्तकालयको महत्वलाई अझै बढाएको उल्लेख गरे ।

शिक्षा मन्त्रालय, पुस्तकालय समन्वय शाखाका प्रमुख उपसचिव यादवचन्द्र निरौलाले संविधानले औंल्याएका र हालसम्म बनेका नीति, निर्देशिकाहरू कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले पुस्तकालयलाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने खाँचो औँल्याए ।

नेपाल सामुदायिक पुस्तकालय संघका महासचिव राजेन्द्रप्रसाद पाण्डेले समाजिक-सांस्कृतिक रुपान्तरणमा पुस्तकालयको ठूलो योगदान रहेको स्पष्ट पारे ।

पोखरा सार्वजनिक पुस्तकालयका सचिव क्षत्रीले पुस्तकालयको संस्थागत विकासका लागि ऐन, कानुनमा ध्यान दिन आग्रह गरे ।

पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्राडा विश्व श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य तथा दीपशिखा सामुदायिक पस्तकालयकी उपाध्यक्ष निर्मला पौडेल, पोखरा-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, दीपशिखा सामुदायिक पुस्तकालयकी सदस्य मीनकुमारी डल्लाकोटी लगायतले पुस्तकालयको महत्वमाथि प्रकाश पारेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ