arrow

मिलेनियम ट्रेकमा समेटिँदै महत्वपूर्ण गन्तव्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार
mileniyam-treak.jpg

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेकमा विभिन्न नयाँ गन्तव्य जोड्न पहल थालिएको छ ।

पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइँ लम्ब्याउन आसपासका गन्तव्यको प्रवर्द्धन र विकासका लागि पोखरा महानगरसँग जोडिएको यस पदमार्गलाई अन्य गन्तव्यसँग जोड्ने गरी मिलेनियम ट्रेक व्यवस्थापन समितिले सक्रियता बढाएको हो ।

स्थापनाको २५औँ वर्ष लाग्दै गर्दा यस मार्ग क्षेत्रमा २५ वटै विशेष कायक्रम गर्ने तयारी गरिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए ।

“स्थापनाको २५औँ वर्षका अवसरमा सन् २०२५ को जनवरी १ देखि डिसेम्बरको अन्त्यसम्म हामीले विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेका छौँ”, उनले भने, “यो पदमार्गको उद्घाटन सन् २००० जनवरी १ मा हालका राष्ट्रपति रामचन्द्र पौडेल (तत्कालीन मन्त्री)ले गर्नुभएका कारण २५औँ वर्ष विशेष कार्यक्रमसहित मनाउने सोच छ ।”

 

स्थापना भएको केही समयपछि नै देशमा सुरु भएको द्वन्द्वलगायत कारण अपेक्षित गति लिन नसके पनि कोरोना महामारीयता पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको उनले बताए ।

पछिल्लो समयमा समितिले विभिन्न अत्यावश्यकीय पूर्वाधार विकाससँगै यसको दायरालाई अझै फराकिलो बनाउने सोच राखी नयाँ नक्साङ्कनसमेत गरिरहेको छ ।

यसैक्रममा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीमा रहेको पदमार्गमा नछोएका पोखराका महत्वपूर्ण गन्तव्यलाई नक्साङ्कन समेटिएको छ । पदमार्गको पुनःनक्साङ्कनको काम भूगोलविद् सहप्राध्यापक डा रामजी पोखरेल नेतृत्वको टोलीले गरेको हो ।

नयाँ नक्साङ्कनमा पोखरा महानगरपालिका-१७ को विरौटादेखि निर्मलपोखरी, भरतपोखरी, प्युरीदोभान हुँदै मिलेनियम ट्रेककको लामागाउँमा जोडिसकिएको सहप्राध्यापक डा पोखरेलले जानकारी दिनुुभयो ।

यसले भरतपोखरी र निर्मलपोखरीका पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने र ओझेलमा परेका भरतपोखरीको मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुमको महारुद्रथान फोक्सिङकोट आदि धार्मिक एवं पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

नयाँ नक्साङ्कनमा यसअघि छुटेका तनहुँकै धार्मिक पर्यटकीयस्थल च्यवनधाम, वंशु पार्क, तमु हिल पार्क आदि सांस्कृतिक एवं ऐतिहासिकस्थल समेटिएका छन् ।

समुद्री सतहबाट चार सय २० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा रहेको यो पदमार्ग उच्च पहाडी क्षेत्रमा जान नसक्ने तर पदयात्राको इच्छा राख्नेका लागि उपयुक्त मानिन्छ ।

पदमार्गको दायरा फराकिलो बनाउने प्रयासस्वरुप मिलेनियम ट्रेक व्यवस्थापन समितिले हालै पुतलीबजार नगरपालिका-८ स्थित क्रान्ति चौतारा, बहाकोट कालिका मन्दिरका साथै पुतलीबजार नगरपालिका-७ स्थित बौद्धस्तूपालाई जोड्ने गरी पहल बढाएको महासचिव गुरुङले बताए ।

विसं २००७ मा जहानियाँ राणाशासनको अन्त्यका लागि क्रान्ति सुरु गरिएको स्थलमध्येको एक क्रान्ति चौतारालाई राजनीतिकरुपमा महत्वपूर्णस्थलका रुपमा लिइन्छ । यहाँस्थित बहाकोट कालिका मन्दिर नेपालका बाइसेचौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको प्राचीन तीर्थस्थल हो ।

अन्यत्र कालिका मन्दिरमा ठाडो मौलो रहने भए पनि यहाँको मौलो भने तेर्स्याएर राखिएको पाइन्छ । दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले यसको गरिमा र महत्व बढाएको पाइन्छ । यी ऐतिहासिक महत्वका गन्तव्यलाई मिलेनियम ट्रेकमा जोड्ने गरी स्थलगत अध्ययन अवलोकन गरिसकिएको उनले बताए ।

प्रस्तावित मार्गमा मिलेनियम ट्रेकअन्तर्गतको सादिखोलादेखि सुरु भई लुम्छाक पन्ध्रमुरे, हुदिभञ्ज्याङ, भार्कोट, गैया धोवादी, क्रान्ति चौतारा, बहाकोट कालिका, डाँडास्वरा हुँदै काउलेमा पुगी पुनःमिलेनियम ट्रेकमा जोडिन्छ । यसले यस क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै महत्वपूर्ण स्थललाई ट्रेकसँग जोड्ने महासचिव गुरुङले जानकारी दिए ।

प्राकृतिक विविधताले सम्पन्न यस ट्रेकमा नेपालमा मात्रै पाइने ‘काँडेभ्याकुर’ चरा पाइने गन्तव्य पनि हो । कूल ७२ किमी दूरीसहितको क्षेत्रफलमा समेटिएको यस पदमार्गको ५२ किमी क्षेत्र वन जङ्गलले ढाकिएको छ ।

जुनसुकै मौसमममा पदयात्रा गर्न सक्ने यो पदमार्गका अधिकांश स्थानबाट धवलागिरि, अन्नपूर्णलगायत हिमशृङ्खला एकसाथ अवलोकन गर्न सकिन्छ भने वनजङ्गल, चराचुरुङ्गी आदिको अवलोकनले यहाँ आउने जोकोहीलाई लोभ्याउने गरेको छ ।

पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुरसमेत देख्न पाइने भएकाले पदमार्गको महत्व अझ बढी रहेको बताए । स्थलगत अध्ययनअनुसार पदमार्ग क्षेत्रमा तनहुँको प्रसिद्ध ढोरबाराही मन्दिरबाट रजस्थल, कोल्माबाट भैँसेगौँडा, बुढाकोट तलतिरको भागलगायत विभिन्न स्थानमा ठूलो सङ्ख्यामा काँडेभ्याकुर पाइएका छन् ।

पदमार्गका लामागाउँ, घरेडी, भैँसेगौँडा, गहते, बलुलगायत स्थानमा पनि काँडेभ्याकुर फेला परेका उनले जानकारी दिए ।

अध्ययनबाट पदमार्ग क्षेत्रमा एक सय ७३ प्रजातिका चरा फेला परिसकेको बताउँदै घिमिरेले सीमित क्षेत्रमा पाइने प्रजातिमध्येको पहाडी चुइँया, पहाडी सेन बाज पनि यस पदमार्गमा फेला परेका बताए ।

उनका अनुसार विश्वकै दुलर्भ प्रजाति डङ्गोर गिद्ध,, सुन गिद्ध, अतिसङ्कटापन्न प्रजाति सानो खैरो गिद्ध, सङ्कटापन्न प्रजाति सेतो गिद्धजस्ता धेरै प्रजाति यहाँ पाइएका छन् ।

अध्ययनले वर्षात्को समयमा यस क्षेत्रमा ६० भन्दाबढी प्रजातिका चराले बच्चा कोरलेको पाइएको बताउँदै उनले यस पदमार्गलाई चरा पर्यटनको गन्तव्यका रुपमा पनि विकास गर्न सकिने बताए ।

पदमार्गर्मा पर्यटकको आकर्षण बढ्दै जाँदा यहाँका बाजस्थल ट्रेडिस्नल रिसोर्ट, कोल्मामा रिसोर्टका साथै विभिन्न १९ स्थानमा घरबाससमेत सञ्चालनमा आइसकेका छन् ।

पर्यटकलाई स्थानीय उत्पादनका परिकार खुवाउने गरी घरबास सञ्चालक लागिरहेका मिलेनियम भैँसेगौँडा सामुदायिक ‘होमस्टे’का अध्यक्ष एवं मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य बालकुमार गुरुङले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ