arrow

व्यवहारिक चुनौती

कति सम्भव छ बालेनले चाहेजस्तो ‘डि–माइग्रेसन’ ?

मेयर साहको सतही विश्लेषणमा भुलेको समाज

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ११ मंगलबार
balen-81-3-7.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले ब्राजिलमा आयोजित मेट्रोपोलिस निर्देशक समितिको बैठकको प्यानल डिस्कसनमा बोलेका विषय अहिले चर्चामा छ । भ्रमण सकेर काठमाडौँ फर्किसक्दा पनि उनको चर्चा सेलाएको छैन । खासगरी बौद्धिक जमानतसम्म पनि यो सम्बोधनको चर्चा भएको छ ।  

बालेनको यो सम्बोधनपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आएका छन् । धेरैले उनलाई ‘भिजनरी लिडर’को रुपमा अर्थ्याएका छन् । कतिपयले यो अभिव्यक्तिलाई राष्ट्रिय राजनीतिमा छिर्ने सोचको रुपमा बुझ्दा कतिपयले भने महानगरको क्षेत्राधिकारमै नभएको कुरा अन्तर्राष्ट्रिय फोरममा गएर गरेको भन्दै आलोच समेत गरेका छन् । 

के भनेका थिए बालेनले ? 

करिब तीन मिनेटको सम्बोधनमा बालेन खासगरी तीन–चारवटा विषय उठाएका छन् । काठमाडौँमा भएका अधिकांश घरविहीनहरुको उपत्यका बाहिर घरजग्गा भएको र उनीहरुलाई त्यहाँ नै ‘डिमाइग्रेसन’ गराउनुपर्ने उनको भनाइ छ । अहिले काठमाडौँकेन्द्रित बसाइँसराइ हुँदा गाउँको संस्कृति तथा मूर्तअमूर्त सम्पदा नासिँदै गएको उनको बनाइ छ । 

अहिले बसाइँसराइ हुनुको कारण शिक्षा र स्वास्थ्य सुविधाको कमि तथा रोजगारीको अवसर नहुनु रहेको बालेनको बुझाइ छ । यो सुविधा गाउँमा पुर्याउने हो भने उपत्यका बाहिरका सहर र गाउँसम्म पुर्याउने हो भने यस्तो बसाइँसराइ दर रोकिने वा सहरमा आएको जनसंख्यासमेत गाउँ फर्किने उनको विश्वास छ । सम्बोधनको क्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि के गर्नुपर्छ भन्ने केही उल्लेख गरेनन् । तर रोजगारीका लागि भने उनीहरुलाई प्लम्बिङ, इलेक्ट्रिसियन, कुक लगायतको तालिम दिने उनले बताए ।  

बालेनको सम्बोधनको पूर्णपाठ– 
दक्षिण एसियाली सहरहरुको समस्या विश्वका अन्य देशहरुको समस्याभन्दा फरक देखिन्छ । वास्तवमा हाम्रो देशमा धेरै मान्छेहरु भूमिहीन वा घरहीन छैनन् । बरु उनीहरु गाउँ वा अरु सहरहरुबाट राजधानीमा आएका छन्, काठमाडौँ नेपालको राजधानी हो । 

हाम्रो अवधारणा भनेको यो समस्याको कारण जरासम्म पुग्नु् हो । यसको मुख्य कारण सबै सहरहरुमा राम्रो शिक्षा, राम्रो स्वास्थ्य सुविधा र रोजगारीको अवसर छैनन् । हाम्रो अवधारणा भनेको अरु सहरहरुसँग समेत अरु सहर र अरु गाउँपालिकाहरुसँग उनीहरुको शिक्षाको प्रणाली, रोजगारीको अवसरलाई माथि उठाउन सहकार्य गर्ने हो । 

हामी बाहिरबाट काठमाडौँ बसाइँसराइलाई प्रवद्र्धन गर्दैनौँ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर देशभर सबैतिर बराबर नै हुन्ुपर्छ । एउटै सहरले सबै शक्ति र अर्थतन्त्र बोकेर बस्नु हुँदैन । 

हामीले अरु जिल्लाहरुबाट आउने व्यक्तिहरुको उनीहरुको नागरिकता कहाँबो छ भन्ने आधारमा पहिचान गरेका छौं । धेरैजसो त्यस्ता व्यक्तिहरुको गाउँमै जग्गाजमीन छ । उनीहरुसँग घर पनि छ, तर गाउँमा । 

जोसँग कहिँ पनि जग्गाजमीन छैन, त्यस्ता व्यक्तिहरुका लागि हामीले गैर सरकारी संस्था वा अन्य संस्थासँग समन्वय गरेर उनीहरुको खानपान र आवासका लागि गर्छौं । तर, जो राजधानीमा रोजगारीको लागि मात्रै आएको छ, उनीहरुको लागि हामी एउटा सीप महोत्सव गर्छौं । उदाहरणका लागि प्लम्बिङ, इलेक्ट्रिसियन, आवास निर्माण, कुकिङ लगायतका तालिम दिन्छौं जसले गर्दा उनीहरुलाई रोजगारीको अवसर सिर्जना होस् । आफ्नै सहरमा सानो व्यवसाय गर्न सकुन् । 

कोही मान्छे कुनै विकसित मुलुकमा पनि बसाइँ सरेका छन् । हामीले अरु देशबाट हाम्रो सहरमा र हाम्रो सहरबाट अरु सहरहरुमा बसाइँसराइलाई प्रोत्साहन गर्छौं । पक्कै पनि कोही पनि घरबारविहीन हुनुहुँदैन । हामीले कसैलाई घरबारबिहीन पाउँछौं र त्यो वास्तविकता हो भने ।

त्यस्तै, दक्षिण एशियाली देशको एउटा संस्कृति छ । हाम्रो देशमा मात्रै १२६ वटा भाषाहरु बोलिन्छन् र विभिन्न संस्कृति छन् । उनीहरु आफ्नो सहर खाली गरेर राजधानीमा आउनुले मान्छे मात्रै होइन संस्कृतिलाई समेत मेछटाउँछ, भाषालाई समेत मेटाउँछ । यसले सांस्कृतिक कार्यक्रम र चाडपर्वलाई पनि मेटाउँछ । 

त्यसैले संस्कृति जोगाउन, मूर्त तथा अमूर्त सम्पदाहरु जोगाउन राजधानी बाहिरका सबै ठाउँहरुमा त्यहाँका मानिसहरुलाई जोगाउन आवश्यक छ । हामी उनीहरुलाई हाम्रो सहरमा आमन्त्रित गर्नुभन्दा उनीहरुको अर्थतन्त्रलाई प्रवद्र्धन गर्न सहयोग गर्दैछौँ ।

सरकारले बसाइँसराइ नियन्त्रण गर्न सक्छ ?

नेपालको संविधानले बसाइँसराइलाई व्यक्तिको मौलिक हककै रुपमा व्याख्या गरेको छ । कुन व्यक्ति कहाँ बस्ने, कसरी बस्ने भन्ने कुरा व्ययक्तिक स्वतन्त्रताको विषय हो । चीनलगायत केही देशले बसाइँसराइमा राज्यले हस्तक्षेप गर्दै आएको छ । यद्यपि लोकतान्त्रिक मुलुकहरुमा भने सरकारले बसाइँसराइ व्यवस्थापनका लागि उत्प्रेरणात्मक कार्यहरू मात्रै गर्छन् । 

बालेनले पनि आफ्नो सम्बोधनमा गरेको ‘डिमाइग्रेसन’मा सरकारको भूमिका उत्प्रेरणात्मक हुने खालकै व्याख्या गरेका थिए । त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विषयमा सहायक प्राध्यापक तथा समाजशास्त्री विष्णु बस्यालको भनाइमा बालेनले भनेको काठमाडौँ महानगरपालिकाको भूमिका यही हदसम्म मात्रै सीमित गर्ने ठानेको हो भने त्यो स्वागतयोग्य नै रहेको बताउँछन् । तर, ‘फोर्सफूल’ रुपमा गरिने नियन्त्रण भने त्यो संवैधानिक र कानूनी मात्रै होइन समाजशास्त्रीय र व्यवहारिक दृष्टिकोणले पनि गलत हुने उनी बताउँछन् । 

सरकारले गर्ने उत्प्रेरणात्मक कार्य भनेको पूर्वाधार र सेवा सुविधाहरुको विकास गर्ने, प्रोत्साहनस्वरुप करका दरहरुका छुट दिने विभिन्न प्रकारका अनुदानको व्यवस्था गर्ने लगायत कार्यहरुसम्म गर्न सरकारले सक्छ । तर, त्यसबाहेक अल्पकालीन वा दीर्घकालीन रुपमा हुने बसाइँसराइलाई रोक्नै भने सरकारले सक्दैन । 

किन हुन्छ बसाइँसराइ ? 

मेयर बालेनको बुझाइमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव नै अहिले बसाइँसराइको प्रमुख कारण हो । तर, बसाइँसराइजस्तो बहुआयामिक विषयलाई यसलाई यी तीन कुराको सीमित घेराभित्र मात्रै हेर्न नहुने समाजशास्त्री बस्याल बताउँछन् । उल्लेखित विषयहरु बसाइँसराइको कारण भए पनि यसको प्रभावको हिस्सा थोरैमात्र रहेको उनको विश्लेषण छ । 

‘पछिल्लो ६०–७० वर्षको इतिहास हेर्ने हो भने काठमाडौँमा बसाइँसराइको मुख्य कारण शिक्षा नै थियो, तर अहिले त्यो अवस्था परिवर्र्तन भएको छ । अहिले उपत्यका बाहिरका सहरहरुमा पनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा राम्रो प्रगति भएको छ,’ बस्याल भन्छन्, ‘उपत्यका बाहिर मात्रै अहिले एक दर्जन भन्दा बढी विश्वविद्यालय खुलेका छन्, मेडिकल कलेजहरु खुलेका छन्, तर पनि मान्छे काठमाडौँ नै आउन चाहन्छ किन त ?’

उनको भनाइमा अहिलेको अवस्थासम्म रोजगारी बसाइँसराइको एउटा मुख्य कारणको रुपमा कायमै छ तर त्यो नै मुख्य कारण भने होइन । उनी भन्छन्, ‘रोजगारीका लागि मान्छे काठमाडौँ आएको थियो भने रिटार्यर्ड भएपछि ऊ गाउँ फर्किनुपथ्र्यो नि त, तर किन फर्किन चाहँदैन ? वा गाउँमै जागिर खाएर रिटायर्ड भएको भएको मान्छे पनि किन सहर पस्छ ? गाउँमै बसिरहेका जेष्ठ नागरिक पनि किन बुढेसकालमा किन सहरमा सरिरहेका छन् त ?’

बस्यालको भनाइमा कुनैपनि व्यक्तिको बसाइँसराइमा त्यस्तो व्यक्तिको पारिवारिक, सामाजिक, मनोवैज्ञानिक र अर्थशास्त्रीय कारणले एकसाथ काम गर्छ । सबै कुराहरुको व्यवस्थापन एकैसाथ हुँदा मात्रै यो विषयलाई व्यवस्थापन गर्न सकिन्छ । 

अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा रोजगारीको एकपक्षीय दृष्टिकोणले मात्रै हेर्न नहेरेर यसमा माग र आपूर्ति पक्ष दुवै पक्षलाई एकसाथ ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘यदि मान्छेले आम्दानी गर्छ भने उसले खर्च गर्ने ठाउँ पनि हुनुपर्छ । गाउँका पढाउने शिक्षक वा कुनै सरकारी कर्मचारी केही दिन बिदा भयो कि किन काठमाडौँ आउँछ ? किनभने गाउँमा उसले पैसा त कमाउँछ, तर खर्च गर्ने ठाउँ नै छैन,’ बस्याल भन्छन्, ‘हामी पहिले गाँस, बास र कपासको कुरा गथ्र्यौं, अहिलेको आधारभूत आवश्यकता त्योभन्दा माथि पुगिसकेको छ । लक्जरी होटल रेष्टुरेन्ट, शपिङ कम्प्लेक्स, थिएट, क्लब लगायत मात्रै म्युजियम, बच्चाहरुका लागि खेल्ने वा घुम्ने ठाउँ, पार्क र अझै त्याभन्दा पनि धेरै कुराहरु अहिलेको आवश्यकता भइसक्यो । मान्छेका यी आवश्यकताको परिपूर्ति गर्ने पक्ष विकास नभए फेरि पनि बसाइँसराइ रोकिँदैन ।’

बसाइँसराइमा सामाजिक पक्षको भूमिका अझै महत्वपूर्ण हुन्छ । गाउँमा बसेको मान्छेभन्दा बजार एरियामा बसेकोलाई इज्जत गर्ने, बजारमा बसेकोभन्दा काठमाडौँमा बसेकोलाई र काठमाडौँमा बसेकोभन्दा विदेश गएकोलाई इज्जत गर्ने अवस्था सुधार नभएसम्म पनि डिमाइग्रेसन सम्भव नभएको समाजशास्त्रीहरुको भनाइ छ । कामलाई सानोठूलो मान्ने र इज्जत नहुने समस्याले बसाइँसराइ अर्को डरलाग्दो समस्या छ, त्यसलाई समेत नजरअन्दाज गर्न नहुने उनीहरुको भनाइ छ । 

पारिवारिक रुपमा हेर्ने हो भने एउटा व्यक्ति जागिरे भएपछि उसले आफ्नो सम्पूर्ण परिवारलाई त्यही ठाउँमा ल्याएर राख्ने गर्छ, यो नेपालको मात्रै नभएर संसारकै प्रचलन समेत हो । तर, त्यसरी माइग्रेट भएर जाने ठाउँमा परिवारका सबै सदस्यको आवश्यकता पूरा गर्नसक्नेगरी सेवा सुविधाको विकास भएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । गाउँमा शिक्षा, स्वास्थ्य, सञ्चार, यातायातजस्ता आधारभूत पूर्वाधारले मात्रै बसाइँसराइलाई रोक्न सक्दैन ।

यी सबै पक्षहरुलाई विचार गर्ने हो भने बालेनले उठाएका विषयहरु बसाइँसराइ नियन्त्रणको एउटा निकै सानो कारण मात्रै हो । अझ बसाइँ सरेर काठमाडौँ आइसकेका व्यक्तिलाई फेरि फर्काउन त यी प्रयासहरुको कुनै प्रभाव नै नपर्ने बुझाई समाजशास्त्र तथा अर्थशास्त्रका विज्ञहरु बताउँछन् । त्यसैले यसलाई सतही दृष्टिकोणबाहेक केही मान्न नसकिने उनीहरुको भनाइ छ ।
 



नयाँ