काठमाडौं । तत्कालीन राजा वीरेन्द्रको मुख्य पहलमा वि सं २०४३ सालमा त्रिभुवन विश्वविद्यालयको संस्कृत अध्ययन संस्थानलाई फुटाएर एउटा छुट्टै अध्ययन संस्थान गठन गर्ने तयारी भयो । कात्तिक महिनामा यसको ऐन पारित गराएर राखिएको थियो तर, यसको सुरुवात कहिलेदेखि गर्ने भन्ने विषयमा बहस चल्दै गर्दा तत्कालीन राजा वीरेन्द्रले पुष २६ गते मेलमिलाप दिवशको दिन नै यसको शुभ मुहुर्त जुराईदिए र त्यहिदिन यसको स्थापना भयो । सोही दिन नै विश्वविद्यालयको पहिलो सिनेट बसेको थियो । त्यतिबेला विद्यार्थी पनि थिए २ सयको हाराहारीमा शिक्षक पनि थिए त्यति विद्यार्थीलाई पढाउन पुग्ने ।
पूर्वीय दर्शन तथा संस्कृतिको संरक्षणको अभिभारा हिमवत खण्डको भारत वर्षका मुलुकहरुको नै हो भन्ने बुझेका राजाले अरुको बाटो हेरेनन् र एउटा विश्वविद्यालय नै स्थापना गर्ने सोच बनाए । वीरेन्द्र स्वभावैले पनि विद्वानहरुको भनाई टार्न नसक्ने स्वभावका थिए । त्यसैले वीरेन्द्रकै पहलमा सुरु भयो अहिलेको नेपाल संस्कृत विश्वविद्यालयको नामबाट संस्कृतको अध्ययन अध्ययापन । तर विश्वविद्यालयको त्यतिबेलाको नाम भने वीरेन्द्रका दिवंगत पिता महेन्द्रको नामबाट नै राखी सञ्चालन सुरु गरे ।
त्यतिबेला विद्यार्थी थिए बढीमा २०० जना जति । महेन्द्र संस्कृत विश्वविद्यालयका दोस्रा उपकूलपति समेत रहेका प्रा. माधवराज गौतम भन्छन् ‘तत्कालीन राजा वीरेन्द्रले यसलाई पूर्वीय संस्कृति अध्ययनको हव बनाउन भनेर नै खोल्नु भएको हो । तर, अहिलेको अवस्था यस्तो छ ।’ उनका अनुसार त्यतिबेला पूर्वीय साहित्यका विविध अभिलेखालयहरु पनि नेपालमा रहेकोले वीरेन्द्रले यस्तो चाहाना राखेका हुन् । तर अहिले अभिलेखालयका धेरै पुस्तकहरु नष्ट भईसकेका छन् ।
त्यतिबेला धरानको पिण्डेश्वर, जनकपुरको मटियानीमा लक्ष्मीनारायण विद्यापीठ, वाल्मीकि, दाङ जनता लगायतका विद्यापीठहरु त्यतिबेला महेन्द्र संस्कृत विश्वविद्यालय अन्तर्गत् थिए ।
के के पढाई हुन्थे त्यतिबेला ?
त्यतिबेला सुरुवाती चरण भएर पनि वेद व्याकरण, न्याय, दर्शन र वेदान्तको मात्रै अध्यापन गराईने गरिएको थियो । यसलाई थप गर्दै लैजाने भनेर तत्कालीन राजाले बजेटको पनि अभाव नहुने गरी व्यवस्था मिलाएका थिए । उनको दीर्घकालीन लक्ष्य नै पूवीय वाङ्मयको अध्ययन केन्द्र बनाउने भनिएपनि उनको त्यो चाहाना पूरा हुन सकेन । राजनीतिक खिचातानीका कारण नेपाल संस्कृत विश्वविद्यालय अहिले अवशानको अवस्थामा पुगेको छ ।
के हो नेपाल संस्कृत विश्वविद्यालय ?
नेपाल संस्कृत विश्व विद्यालय नेपालको दोस्रो ठूलो विश्वविद्यालयको रुपमा सरकारले मान्यता दिएको छ । विश्वविद्यालय अनुदान आयोगबाट निकाशी हुने रकमको पनि दोस्रो ठूलो हिस्सा यही विश्वविद्यालयको नाममा जान्छ । तर, यसले आशातीत प्रगति भने हाँसिल गर्न सकेको छैन ।
विभिन्न पूर्वीय वाङ्मयसँग सम्बन्धित विषयहरुमा अध्ययन गराईने विश्वविद्यालयमा अध्ययन गर्नका लागि नेपाल भन्दा बाहेकका अन्य विदेशी मुलुकबाट पनि विद्यार्थीहरु आउने गर्दछन् ।
अहिले विश्व्विद्यालयमा भाषा वा कर्मकाण्डी विद्याका रुपमा मात्र नहेरी आर्युर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, ज्योतिष, धर्मशास्त्र, तन्त्रजस्ता मानवजीवनसँग सरोकार राख्ने विषयहरु अध्ययन अध्यापन गराईन्छ । तर अहिले अध्यापनका विषयहरु राखिएको भएपनि विद्यार्थी संस्ख्या नइून मात्रै हाईन कि प्राध्यापकहरु अध्यापनको लागि विद्यापीठ नआउने, समयमा परीक्षा नहुने जस्ता यावत समस्याहरुले गर्दा वीरेन्द्रको पूर्वीय वाङ्मय अध्ययनको केन्द्र बनाउने लक्ष्य अहिले त्यसै तुहिएको छ । पूर्वीय शास्त्र अध्ययनको केन्द्र बन्न सकेको थियो भने यो पक्कै पनि सम्पूर्ण नेपाललाई नै विश्वमा परिचित गराउने एउटा माध्ययम बन्न सक्थ्यो भन्नेमा विश्वविद्यालयका पूर्व उपकूलपतिहरु वताउँछन् ।
पछिल्लो समय पश्चिमाहरु पूर्वीय वाङ्मय अध्ययनको लागि बढी इच्छुक देखिएका छन् । यसका लागि सरकारले व्यवस्थापन सुदृढीकरणमा ध्यान दिनुपर्ने जानकारहरुको सुझाव रहेको छ ।
को हुन् दोषी ?
पूर्व उपकूलपति गौतम भन्छन् विश्वविद्यालयले प्रगति गर्न नसक्नुमा आमुक व्यक्तिलाई दोष दिनु भन्दा पनि यो अहिलेको व्यवस्थाले गर्दा नै यस्तो स्थिती सिर्जना भएको छ । कुनैपनि शैक्षिक संस्थामा राजनीतिक नियुक्ति हुनु नै सबैभन्दा दुखद् पक्ष रहेको उनको बुझाई रहेको छ । यसलाई नसुधारेसम्म यो समस्या रोकिन नसक्ने उनको बुझाई रहेको छ । राजनीतिक नियुक्ति लिएको मान्छेले राजनीतिक दृष्टि भन्दा माथि उठेर काम गर्न नसक्ने उनको बुझाई छ ।