arrow

सन्दुक रुइतलाई पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
shreepati-guthi-samiti-pokhara.jpg

पोखरा । म्यागासेसे पुरस्कार विजेता डा. सन्दुक रुईतलाई पोखरामा स्थापित श्रीपति समाज सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

श्रीपति कोइराला गुठीले २१७औं श्रीपति जयन्तिको अवसर पारेर रुईतलाई पुरस्कृत गर्ने घोषणा गरेको हो । रस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान पत्र र पदक रहेको गुठीका अध्यक्ष अधिवक्ता फणीन्द्रराज कोइरालाले जानकारी दिए । पुरस्कार गुठीको ३२औँ वार्षिक साधारणसभामा प्रदान गरिने अध्यक्ष कोइरालाले बताए ।

यो पुरस्कार यसअघि माईती नेपाल, राष्ट्रिय आविस्कार केन्द्र, सर्लाहीको पद्म भूवनेश्वरी नमूना बृद्ध सेवा आश्रम र पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राप्त गरिसकेको गुठीका सचिव नवराज कोइरालाले जानकारी दिए ।

गुठीका अध्यक्ष कोइराला संयोजक, प्राडा. दिलबहादुर क्षेत्री, गेहेन्द्रेश्वर कोइराला, प्राडा. विश्वकल्याण पराजुली, अशोक पालिखे, दीपेन्द्र श्रेष्ठ र बिमला भण्डारी सदस्य रहेको प्रतिभा छनोट समितिले रुइतलाई पुरस्कृत गर्न सिफारिस गरेकोमा गुठीको कार्यसमिति बैठकले अनुमोदन गरेको हो ।

को हुन् सन्दुक रुइत ?

ताप्लेजुङमा पिता सोनाम रुईत र माता केसाङ रुईतको कोखबाट २०११ सालमा जन्मिएका डा. रुइत दृष्टिका देवता (गड अफ साइट) का रुपमा चिनिन्छन् । उनी सोना र केसाङका ६ मध्ये माइला छोरा हुन् ।

कम लागतमा मोतियाविन्दुको उपचारका लागि विश्वविख्यात चिकित्सा पद्धति रुईतेक्तोमिताका शुरुवात कर्तासमेत रहेका डा.रुईतले हालसम्म १ लाख ३० हजार भन्दा बढी मोतियाविन्दुको शल्यक्रिया गरेर दृष्टि फर्काइसकेका छन् ।

बहराईन सरकारबाट दृष्टिका संवाहक उपाधिसहित ईशा अवार्ड पाएका डा. रुईतले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, भारतको पद्मश्री पुरस्कार, फिलिपिन्सको रोमन म्यागासेसे पुरस्कार, थाइल्याण्ड, भुटानलगायतका पुरस्कार पाइसकेका छन् ।

श्रीपति कोइराला गुठी

श्रीपति कोइराला गुठी १८६४ सालमा जन्मेका श्रीपति कोइरालाको नाममा स्थापित संस्था हो । पण्डित, ज्योतिषी, विद्वान श्रीपतिले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, प्रस्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार १८९९ मा स्थापना तथा २०४९ सालमा विधिवत दर्ता भएको संस्थामा हाल ३ सय ५६ जना सदस्य आवद्ध छन् ।

गुठीको नेृतृत्व यसअघि भैरव कोइराला, शालिकराम कोइराला, कृष्णप्रसाद कोइराला, हेरम्वप्रसाद कोइराला, यज्ञनाथ कोइराला, रामचन्द्र कोइराला, विष्णुचन्द्र कोइराला, मोहननाथ कोइराला र लक्ष्मण कोइरालाले गरिसकेका छन् ।

को हुन् श्रीपति ?

वि.सं. १८६४ असार २७ गते पोखरा-४ गैरापाटनमा जन्मिएका श्रीपतिले वनारसबाट ज्योतिषशास्त्र, धर्मशास्त्र, तन्त्रविद्या, आयुर्वेद र षडशास्त्रको अध्ययन गरेका थिए । अध्ययन पूरा गरी नेपाल फर्किएर उनले सरकारी जागिर हाकिम खरदार भएर काम गरेका थिए ।

गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाका अनुसार श्रीपति कुशल प्रशासक मात्र होइन कहलिएका ज्योतिषी पनि थिए । उनको विभिन्न स्थानमा पार्टीपौवा, मठ मन्दिर, बाटोघाटो निर्माणमा महत्वपूर्ण योगदान रहेको छ ।

उनले १८९८ र १९०० मा राजकीय सम्मानसहित ५ गाउँ विर्ता प्राप्त गरेका थिए । तत्कालिन समयमा श्रीपति समाजको एक विद्वान, बहुविषयको विज्ञ, सरकारको उच्च पदको कर्मचारी र अब्बल समाजसेवी थिए । उनी आदिकवि भानुभक्त आचार्यका समकालिन थिए ।

उनको निधन १९२६ सालमा भएको हो । श्रीपतिको व्यक्तित्व र कृतित्वका बारेमा महाकाव्यकार रामनाथ अधिकारी संगीले महाकाव्यसमेत लेखेका छन् । उनको नाममा गुठी र सहकारी सञ्चालनमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ