arrow

उपत्यकामा भान्सा महँगियो, तरकारी र फलफूलमा अढाई गुणा सम्मले बढ्यो मूल्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
vegetables-market.jpg

काठमाडौँ । बिहीबार राति मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरोमा परी दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेको घटनापछि यतिबेला यो सडकको आवतजावत घटेको छ । 

सरकारले रात्रीकालीन बसमा प्रतिबन्ध नलाए पनि रातिको समयमा यात्रा गर्ने ठप्पप्रायः छ । यात्रुबाहक बस मात्रै नभएर मालबाहक सवारी साधन समेत रातीको समयमा ठप्पजस्तै छन् । 

त्यसो त अहिले सरकारले नागढुंगादेखि मलेखुसम्मको सडकसमेत रातिको समयका लागि बन्द गरेको छ । यस अनुसार यो सडक खण्डमा राति १० बजेदेखि बिहान ३ बजेसम्म आवतजावत गर्न पाइँदैन । यो प्रतिबन्धले पृथ्वी राजमार्गको वैकल्पिक मानिने त्रिभुवन राजपथ बन्द गराएको छ । त्यसो त यो राजमार्गमा रातिको समयमा ठूला सवारी साधनललाई नियमित अवस्थामा समेत प्रतिबन्ध लगाउने गरिएको छ । 

काठमाडौँको लाइफलाइन मानिने यो सडकमा अवरोध हुँदा काठमाडौँमा भने दैनिक उपभोग्य वस्तुको मूल्य उच्च रुपमा बढेको छ । खासगरी तरकारी र फलफूलको मूल्यमा यसको प्रभाव देखिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठ तराई तथा भारतबाट आउने तरकारी र फलफूलको आयात घट्दा मूल्यमा प्रभाव परेको बताउँछन् । 

समितिको बजार सर्वेक्षण अनुसार एक सातामा धेरैजसो तरकारीको मूल्य बढेको छ । भान्सामा धेरै प्रयोग हुने तरकारीहरुको मूल्यवृद्धि उच्च देखिएको छ । सागको मूल्य अत्यधिक बढेको छ । 

समितिका अनुसार एक साताको अवधिमा अढाई गुणाले बढेको छ । अघिल्लो साता औसत ९५ रुपैयाँ रहेको सागको मूल्य अहिले प्रतिकिलो २३६ रुपैयाँ पुगेको हो । त्यस्तै, बोडी, सिमी लयायतका तरकारीहरु झण्डै दोब्बरले बढेका छन् । गत आइतबार ६५ रुपैयाँ रहेको तनेबोडी अहिले १२५ रुपैयाँ पुगेको छ । त्यस्तै, घ्युसिमी ११० रुपैयाँबाट २१० रुपैयाँ पुगेको समितिको तथ्यांक छ । 

त्यस्तै, परवर प्रतिकिलो ४५ रुपैयाँमा बिक्री हुँदै आएकोमा ७५ रुपैयाँ पुगेको छ । यो झण्डै ६७ प्रतिशतको मूल्यवृद्धि हो । त्यस्तै, डल्लेच्याउ २४६ रुपैयाँमा बिक्री हुँदै आएकोमा ४२६ रुपैयाँ पुगेको छ । कन्ये च्याउ १६३ रुपैयाँबाट २२६ रुपैयाँ पुगेको छ । त्यस्तै, भिण्डी, फर्सी, भण्टा, चिचिण्डो, रायोको साज लगायतको मूल्य पनि एकै साता ४० प्रतिशत हाराहारीले बढेको विकास समितिले जनाएको छ । 

यो अवधिमा मूला, काउली, बन्दा, हरियो प्याज, धनियाँ लोकल काँक्रो लगायतको मूल्य भने घटेको छ । यो अवधिमा गोलभेँडा ठूलो २० प्रतिशत हाराहारीमा बढेकोमा सानो गोलभेँडा र टनेल गोलभेँडाको मूल्य भने सामान्य घटेको छ ।

खाद्यान्नको मूल्य भने स्थिर
तरकारीको मूल्यमा वृद्धि हुँदा खाद्यान्नको मूल्यमा भने यसले तत्कालै असर पारेको छैन । नेपाल खुद्रा व्यापार संघका सह–कोषाध्यक्ष ध्रुव अधिकारीका अनुसार पछिल्लो समयमा चामल तथा गेडागुडीको मूल्य बढेको भए पनि बाढी पहिरोकै कारण मूल्य बढेको छैन । 

उनका अनुसार खाद्यान्नहरु लामो समयसम्म स्टक राख्न सकिने भएकोले अहिले पुरानै स्टक बिक्री भइरहेको छ । आयात अवरोध साउन १५ वा भदौ १ गतेको सर्भेक्षणमा प्रभाव पार्नसक्ने उनले बताए । 

संघले प्रत्येक १५ दिनमा बजारको मूल्य सर्भेक्षण गर्दै आएको छ । यसअघि असार मध्यमा गरिएको सर्भेक्षणमा बैशाख सुरुको तुदनामा सबैजसो चामलको मूल्य प्रतिकेजी चारदेखि सात रुपैयाँसम्म बढेको अधिकारीले बताए । 

यसबाट प्रतिबोरा मूल्य १०० देखि २०० रुपैयाँसम्म बढेको उनको भनाइ छ । दाल तथा गेडागुडीमा पनि प्रतिकिलो १० देखि २० रुपैयाँसम्म वृद्धि भएको संघको तथ्यांक छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ