- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बिहीबार शेयर बजार परिसूचक (नेप्से)५९ दशमलव ६८ अंकले बढ्यो । झण्डै साढे १५ अर्बको कारोबारसहित बजारमा बढोत्तरी हुँदा १४४ वटा कम्पनीको शेयरमूल्य बढ्यो भने झण्डै ९५ वटा कम्पनीको शेयरमूल्य घट्यो ।
बजार परिसूचक बढ्दा सबैजसो कम्पनीहरु बढ्छन् । त्यस्तै शेयर बजार घट्दा अधिकांश कम्पनीको शेयर मूल्य घटेको देखिन्छ । तर बिहीबार त्यसको ठीक विपरीत भयो । बजारमा बढ्ने मात्रै होइन घट्ने कम्पनीको संख्या पनि उत्तिकै देखियो ।
आज बजारमा बैंकिङ परिसूचकमा मात्रै धेरै बढोत्तरी भयो र यो परिसूचकम मात्रै ६.२८ प्रतिशतले बढेको नेप्सेको तथ्यांक छ । १३ वटा परिसूचकमध्ये आज फाइनान्स र हाइड्रोपावर उपसूचक त उल्टै घटेका छन् । बाँकी बढेका उपसूचमध्ये पनि बैंकिङपछिको सर्वाधिक धेरै माइक्रोफाइनान्स परिसूचक २.७७ प्रतिशतले मात्रै बढेको छ ।
बैंकिङ उपसूचक अन्तर्गत १९ वटा वाणिज्य बैंकको शेयर कारोबार हुन्छ । असार मसान्त सकिँदा ती बैंकहरु वित्तीय विवरण प्रकाशनको तयारीमा छन् । तर उनीहरुको अवस्था राम्रो छैन । प्रवाहित कर्जा समयमा उठ्न सकेको छैन । खराब कर्जाको रिभरी हुँदा समेत राइटब्याक गर्न नपाइने कारणले निष्क्रिय कर्जा अनुपात निकै बढ्ने अनुमान गरिएको छ ।
यस्तो अवस्थाबीच यो परिसूचक किन बढिरहेको छ त ? यसमा मौद्रिक नीतिको सूचना चुहिएको हुनसक्ने शेयर बजारका जानकारहरुको भनाइ छ । राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा छ ।
सम्भवतः शुक्रबार नै मौद्रिक नीति जारी गर्नेगरी राष्ट्र बैंकको तयारी अघि बढेको छ । यद्यपि मौद्रिक नीति सार्वजनिक कहिले हुन्छ भन्नेबारे राष्ट्र बैंकले आधिकारिक रुपमा केही बोलेको छैन ।
शेयर बजारका जानकार देव गुरागाईं अहिले बैंकिङ क्षेत्रको शेयर बढ्नुमा खुकुलो मौद्रिक नीतिको अपेक्षा मुख्य रहेको बताउँछन् । मौद्रिक नीतिसम्बन्धी सूचनाको चुहावट भएरसमेत बजार बढेको हुनसक्ने उनको भनाइ छ ।
गुरागाईं भन्छन्, ‘चौथो त्रैमास सकिए पनि बैंकहरुको रिपोर्ट त्यति राम्रो आउनसक्ने अवस्था देखिँदैन,’ यस्तो अवस्थामा बैंकिङ क्षेत्रमात्रै बढ्नुले सूचना चुहियो कि भन्ने अनुमान गर्न पनि सकिन्छ ।’
पछिल्ला केही दिनमा शेयर बजारमा संस्थागत लगानीकर्ताको प्रवेश भएको पाइएको गुरागाईं बताउँछन् । ‘बैंकमा ब्याजदर घट्दै गएको अवस्थामा त्यहाँ प्रतिफल कम हुने अवस्था छँदै थियो, तर बजारमा लगानी गर्ने आँट गरेका थिएनन् । नयाँ सरकार गठनको गृहकार्य शुरु भएपछि बजारको मनोविज्ञान उच्च भएको छ । यही मौकामा संस्थागत लगानीकर्ताले धमाधम लगानी बढाएको देखिन्छ’, उनले भने ।
सरकार गठनको प्रक्रिया शुरु भएपछि मात्रै शेयर बजार ३ सय ८७ अंकले बढेको छ त्यसमध्ये यो साता मात्रै २ सय १७ अंकले बजार बढेको देखिएको छ । आज शेयर बजारमा १५ अर्ब ४७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो ।
बुधबार पनि १२ अर्ब रुपैयाँको कारोबार भएको थियो । यो साता मात्रै बजारमा ५२ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भइसकेको छ ।
शेयर बजारमा परिसूचक र कारोबार दुवै बढ्दै जानुलाई बजारमा बुलको संकेत मानिन्छ । गुरागाईं भने अहिलेसम्मको वृद्धिलाई बुल मान्न नमिल्ने बताउँछन् ।
‘शेयर बजारमा हिलेसम्कको वृद्धि बुल नभएर सुधार हो । अहिलेसम्म झण्डै २० प्रतिशत सुधार भएको अवस्था छ । अब पनि बढ्दै गयो भने बल्ल त्यसलाई बुलको संकेत मान्न सकिएला’, उनी भन्छन् ।