- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । धेरै पूँजी, अत्यधिक शेयरसंख्या र सस्तो शेयरमूल्य । त्यसैले जोखिम मोल्ने लगानीकर्ताको रोजाइमा हत्तपत्त पर्दैन बैंकको शेयर । तर, होल्ड गरेर राख्नको लागि भने यस्ता लगानीकर्ताले पनि बैंकलाई नै रोज्छन् । धेरै शेयर भएकोले तुलनात्मक रुपमा धेरै कारोबार देखिए पनि शेयर संख्याको आधारमा कारोबार हेर्ने हो भने अहिले पनि बैंकिङ क्षेत्र निकै पछाडि देखिन्छ ।
यही कारण यस्तो शेयरको उतारचढाव पनि कम हुन्छ । सस्तो मूल्य र कम उतारचढावका कारणले शेयर सिक्न चाहनेहरु बैंक किनेरै बजारमा प्रवेश गर्छन् । तर, पछिल्लो तीन साताको अवस्था हेर्दे हो भने चाहिँ यसको उल्टो देखिएको छ । बजारमा बैंकिङ क्षेत्रले नै सबैभन्दा धेरै लिड गरिरहेको अवस्था देखिन्छ । अधिकांश बैंकहरुको वृद्धि समग्र बजारको भन्दा धेरै छ ।
तीन साताअघि सोही दिनमा बजार परिसूचक २०५१ दशमलव ९२ अंकमा थियो । बिहीबार यो परिसूचक २४२४ दशमलव ३२ पुगेको छ । यो औसत १८ प्रतिशतको बढोत्तरी हो । तर, कमर्शियल बैंकिङ उपसूचकमा रहेका १९ कम्पनीमध्ये दुईवटा कम्पनी मात्रै यो औसतभन्दा तल छन् ।
बाँकी त्योभन्दा माथि मात्रै छैनन्, झण्डै दोब्बर बढीसम्म नाफा समेत कमाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाको दहीच्युरा ‘प्रकरण’ताका बैंकमा लगानी गर्नेले ३७ प्रतिशतसम्म नाफा गरेको नेप्सेको तथ्यांक छ ।
यसरी नाफा कमाउने बैंकहरुमध्ये सबैभन्दा अगाडी प्रभु बैंक, सिटिजन्स र माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआई बैंक रहेका छन् ।
सस्तो शेयरमा आकर्षण
त्यसो त यो अवधिमा अत्यधिक नाफा भएका बैंकलाई हेर्ने हो भने सस्तो मूल्य भएका अधिकांश कम्पनीमा लगानीकर्ता झुम्मिएको देखिन्छ । धेरै शेयरमूल्य भएका कम्पनीमा लगानी गर्न भने लगानीकर्ताहरु अझै डराइरहेका छन् ।
असार १५ गतेअघिको अन्तिम कारोबारमा प्रभु बैंकको शेयर १३८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो, अहिले यो बैंकको मूल्य प्रतिकित्ता १९० रुपैयाँ पुगेको छ । यो ३७ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, १६३ रुपैयाँ ७० पैसा रहेको सिटिजन्स बैंकको मूल्य २२० रुपैयाँ पुगेको छ । यो झण्डै २५ प्रतिशतको बढोत्तरी हो । माछापुच्छ्रे बैंकको शेयरमूल्य सुरुमा १६६ रुपैयाँ रहेकोमा अहिले बढेर २२३ रुपैयाँ पुगेको छ ।
सर्वाधिक कमाउने शेयरको चौथो नम्बरमा लक्ष्मी बैंकको शेयर छ । उक्त बैंकको शेयर १५१ रुपैयाँबाट बढेर २०१ रुपैयाँ ५० पैसामा पुगेको हो । त्यस्तै, २८७ रुपैयाँ रहेको शेयर ३८० रुपैयाँ पुग्दा नेपाल एसबीआई बैंकका लगानीकर्ताले यो अवधिमा ३२.४ प्रतिशत कमाएका छन् । यो पाचौँ धेरै कमाउने बैंक हो ।
त्यसबाहेक कुमारी बैंक ३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३०.८ प्रतिशत, हिमालय बैंक ३०.१ प्रतिशत, प्राइम कमर्शियल बैंक २९.२ प्रतिशत, कृषि विकास बैंक २७.१ तथा एनएमबि र सिद्धार्थ बैंकले २७–२७ प्रतिशत नाफा कमाएका छन् ।
त्यस्तै, एनआईसी एशिया बैंक र ग्लोबल आईएमई बैंकले समान २५.९ प्रतिशत, नबिल र सानिमाको २४.३ प्रतिशत, नेपाल बैंकको २२.१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकका शेयरधनीले १७.१ प्रतिशत नाफा कमाएका छन् ।