arrow

‘अब शेयर बजारले कम्तीमा ३१९९ को पुरानो रेकर्डलाई तोड्छ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । नेपाल राष्ट्र बैंकको खुकुलो मौद्रिक नीतिपछि यतिबेला अबको शेयर बजार कहाँ पुग्ला भनेर अनुमानहरु गर्न थालिएको छ । शेयर बजारमा निरन्तरदेखि टाउको दुखाइ बन्दै आएको संस्थागत लगानीकर्ताहरुको सीमा हटाउनेदेखि बैंकिङ क्षेत्रका लागि निकै खुकुलो प्रावधान आएकोले यसले शेयर बजारलाई सकारात्मक असर पार्ने विश्लेषण भइरहँदा शेयर बजारसँग सम्बन्धित व्यक्तिहरु भने त्यति धेरै खुशी देखिँदैनन् । 

खासगरी शेयर बजारका लगानीकर्ताहरुले विगतदेखि नै राख्दै आएको माग थियो १५–२० करोडको सीमा हटाउने । यसपटक २० करोडको सीमा त हट्यो तर १५ करोडको सीमा यथावत् नै छ । 

यसको अर्थ अहिले कुनै पनि व्यक्तिले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी गर्छु भन्यो भने वा अरु कुनै पनि प्रयोजनका लागि पनि शेयर धितोमा कर्जा लिन चाह्यो भने उसले अधिकतम १५ करोडसम्म मात्रै ऋण लिन सक्छ । 

यो व्यवस्था मौद्रिक नीतिले यथावत् नै राखेको छ । यसलाई प्रष्ट पार्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भन्छन्, ‘हामीले संस्थागततर्फ २० करोडको सीमा मात्रै हटाएको हो, व्यक्तिगततर्फको १५ करोडको सीमा हटाएको छैन, नझुक्किनुहोला है ?’

यो बाहेक राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत लगानीकर्ताहरुले गरेको अपेक्षा शेयरको मार्जिन कारोबार बढोस् भन्ने थियो । यो सीमालाई राष्ट्र बैंकले कुनै हेरफेर गरेन । अहिले शेयर कर्जाको लोन–टू–भ्यालु रेसियो ५० प्रतिशत मात्रै छ । त्यसलाई ७० प्रतिशत पुर्याउनुपर्ने लगानीकर्ताहरुको माग थियो । यो माग पूरा भएको छैन । 

अर्को शेयर लगानीकर्ताहरुको मुख्य मागको विषय शेयर कर्जाको जोखिम भारलाई घटाउनुपर्छ भन्ने थियो । हाल १२५ प्रतिशत रहेको जोखिम भारलाई घटाएर १०० बनाउँदा यसले बैंकहरुको पूँजीकोष खुकुलो हुने, प्रोभिजनिङ कम गर्नुपर्ने तथा यसले ब्याजदरमासमेत केही राहत मिल्ने अपेक्षा गरेका थिए । तर यसमा पनि राष्ट्र बैंक लचक देखिएन । 

यी विषयहरु हेर्दा अहिलेको मौद्रिक नीतिलाई शेयर बजारको दृष्टिकोणबाट धेरै उत्साहजनक मान्नसक्ने अवस्था नभएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी ढकाल बताउँछन् । 

यद्यपि संस्थागत लगानीकर्ताको क्याप हट्दा यसले संस्थागत लगानीकर्ताहरुलाई सहज बनाएको उनको भनाइ छ । यो व्यवस्थाले ब्रोकर कम्पनीहरुको मार्जिन ट्रेडिङसम्बन्धी कारोबार तथा अन्य संस्थायत लगानीकर्ताहरुलाई शेयर बजारमा प्रशस्त लगानी गर्ने अवसर खुला हुनेछ । 

यस पटक बैंकिङ क्षेत्रका लागि भने राष्ट्र बैंक निकै उदार भएको छ । बैंकहरुको पूँजी पर्याप्तता र नाफाको अवस्था बढाउन सातवटा बुँदामार्फत लचकता अपनाइएको गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ । 

नेपालका सबैजसो बैंक वित्तीय संस्था शेयर बजारमा सूचीकृत भएको र अहिलेको लचकताले बैंकहरुको प्रोफिटाबिलिटी बढ्ने भएकोले यसले शेयर बजारलाई अप्रत्यक्ष रुपमै भए पनि ठूलो र सकारात्मक प्रभाव पार्ने विज्ञहरुको तर्क छ । 

इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाल पनि सोचे अनुरुपको मौद्रिक नीति नआए पनि यसलाई सकारात्मक रुपमै लिन सकिने बताउँछन् । ‘हामीले भनेकोजति सबै विषय नसमेटिए पनि जे विषय आएका छन् ती सकारात्मक छन्, त्यसैले बजारले पनि त्यही अनुसार रेस्पोन्स गर्न सक्छ ।’

‘अब शेयर बजार कति पुग्ला त ?’ ढकाल यसबारे भविष्यवाणी गर्न उपयुक्त नहुने बताउँछन् । उनी भन्छन्, ‘अब बजार यति नै पुग्छ भनेर भन्नु त्यति उपयुक्त नहोला, तर यति चाहिँ भन्न सकिन्छ, यसअघिको ३२ सयको रेकर्डलाई तोड्नेगरी बजार सकारात्मक बन्दै जान्छ ।’

२०७८ साल भदौ २ गते शेयर बजारले ऐतिहासिक ३१९९ विन्दुमा पुगेर फर्किएको थियो । यो रेकर्ड तोड्न अब ६३२ अंक बढ्नुपर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ