एक महिना लामो भ्याकेशनको तयारी थियो । नयाँ जुत्ता नकिनी पुरानै जुत्ता लगाएर घर जाने सुरमा थिएँ म । तर संगै काम गर्ने साथीले भन्यो— “हैन ! एयरपोर्टमा त चाहिन्छ यार”, मैले उसको कुरामा खासै चासो दिईन । पारिवारिक भेटघाटसँगै महिना दिनको छुट्टि मनाएर म पुनः रोजगारमा दुवाई फर्कने क्रममा थिएँ ।
“हजुर सर, यताबाट”— प्रस्थान द्वारमा भएका प्रहरी दाईले बाटो देखाए । हेर्दै भलादमी देखिने एकजना भद्र—भलादमी सुटकेश तान्दै अघि बढे । जब प्रहरी दाईले टिकट, पासपोर्ट र भिजा हेरे; अनि खाँउला झै गरेर कराए “खोई श्रम गरेको” सम्पर्क डेस्कतिर औँल्याउदै ति प्रहरीले फेरि भने “उ त्यहाँ जाने” ति भद्र भलादमी हेल्प डेस्कतिर गए, उनको कागज पत्र एकैछिनमा मिल्यो । उनको श्रम भईसकेको रहेछ, अर्थात श्रम स्वीकृति लिईसकेका रहेछन तर उनले बिना सित्तिमा गाली र अपमान बेहोर्नु पर्र्यो । यतिन्जेल “म” यो पंङ्तिकार तिनै भलादमीको पछिपछि थिएँ । उनि रोजगारिको सिलसिलामा मलेसिया हिँडेका रहेछन ।
समस्या सानोले पनि धेरै दुखाईदिन्छ । तर उपलब्धि सानो भएपनि जीवनमा सुख, खुसी र आत्मबिश्वास जगाई दिन्छ । बेरोजगारीले निम्त्याएको आम आर्थिक समस्यामा सरकारले यसको खास कारण सहितको समग्र समाधानका लागी अहिलेसम्म कुनै यथोचित पहल कदमी उठाउन सकेको छैन । कुशासनले ग्रसित छ देश । एकातिर देशको दुखाईलाई हेर्दा देशमा सरकार हुनुको झिनो आसा र त्यसमाथिको बिस्वास घट्दै गएको अनुभूति हुन्छ । अर्कातिर; सरकारकै अकर्मण्यताले आज रोजगारिका लागि भौतारिदै हरेकदिन १५ सय यूवा देश छोड्न बाध्य छन् ।
गाँउमा संस्कृति बसिसकेको छ; रोजगारिका लागि बिदेश जाने । यूवाको जिम्मेबारी र दायीत्व निर्वाह गर्न बिदेश जानुको बिकल्प छैन, उनिहरुसंग । तर; फेरिपनि आत्मसम्मान छैन यूवालाई । राज्यको अर्थतन्त्रको मूख्य हिस्सा रेमिट्यान्स पठाउने युवा कामदारहरु नै हुन । उनिहरुनै कहिले काहीँ राज्यका सम्बन्धित निकाय तथा सार्वजनिक क्षेत्रबाटै हुनेगरेका अशिष्ट भाषा—शैली र दुब्र्यवहारको सिकार हुने गरेका छन् । यो कुराको तितो यथार्थ बिशेस गरेर मलेसिया लगायत खाडीमुलुक जानेहरुसंगको अनुभवमा पाउन सकिन्छ ।
घोचेर नभन्नुस मित्रहरु !
यहाँ रहरले कोहिपनि बिदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस,
त्यतिकै त मातृभूमिबाट कोही पर भएको हुँदैन ।
घर छोडेर परदेशिएकाहरु जो कोहिको मन छुने खालको यो कविता केहि साता अगाडी सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित थियो । मातृभूमि र परिवारको माया हुँदाहुँदै, अभाव र पिडाबाट उन्मूक्तिका लागि यूवाजनशक्ति बिदेशिन बाध्य भएको परिवेश यो कविताको भावले ब्यक्त गरेको छ । बरु अहिले परदेशिनुको कारण माथिको समस्यामा समाधान तिर लागेर हामीले आपसमा आदरभाव र सम्मान जगाउने पहल किन गर्दैनौ..? सारा प्रबासी नेपालीका लागि प्रतिनिधी मुलक यो कबिता एकजना प्रवासी नेपालीकै फेसबुक वालबाट साभार गरिएको हो । कबिताको बाँकी अंश..
छुनेमुने लालाबालाको अमूल्य मायाँ त्यागेका छौ ।
मुटु र मायालाई देशमै छोडेर, बिदेशिएका हौं ।
ब्याज र स्याजको पिडाबाट मूक्ति खोज्न आएका हौं,
मुटुका टुक्राहरुको सुन्दर भविष्य निर्माण गर्न आएका हौं ।
भोकले पिल्सेका परिवारलाई एकपेट खुवाउन आएका हौं;
अभावै अभावले रोईरहेका मुहारलाई हँसाउन आएका हौं ।
घोचेर नभन्नुस मित्रहरु !
आफ्नै कर्मचारी, स्यंसेवक र खटिएका सुरक्षाकर्मी प्रहरीहरुबाट नै हुनेगरेका हेपाहा ब्यवहारले रोजगारका लागि परदेशिनेहरुको मन प्राय एकपल्ट दुख्छ । खासगरेर, बैदेशिक रोजगार र श्रमसंग सम्बन्धित निकायहरु, श्रमबिभाग, म्यानपावर अफिस, त्यस्तै एयरपोर्टबाट नै बैदेशिक श्रमिकहरुप्रति गलत ब्यवहारको सुरुवात हुन्छ । एकाध कर्मचारी र प्रहरीहरुबाटै हुने यस्ता अशिष्ट बोली र अभद्र शैलीको ब्यवहारका कारण समग्र प्रशासनको छवी धमिलिएको छ भने बैदेशिक रोजगारमा जानेहरुले पनि आत्मसम्मान बोध गर्न सकिरहेका छैनन् ।
“सामूदायीक स्कुल पढेको कमसल, बोर्डिङ्ग स्कूल पढेको असल’जस्तो गरेर मलेसिया लगायत खाडी मुलुक र अमेरिका, यूरोप र अष्ट्रेलिया जानेहरु बिच ब्यवहारमा तुलनात्मक बिभेद अध्यागमनकै केहि कर्मचारिहरुबाट हुने गरेको,” रुच्चे गायकका रुपमा ख्याति कमाएका, हाल दुबाईमा वितिय क्षेत्रमा कार्यरत प्रकाश पौडेल बताउँछन् । एयरपोर्ट, श्रमबिभाग र म्यानपावर अफिसतिर त श्रमिक भनेर ईज्जतै नगर्ने, कर्मचारी र प्रहरीहरुले श्रमिकप्रति बोली—बचनमा आदरभाव नराख्ने गरेको गायक पौडेलको ठम्याई छ ।
त्यस्तै, कहीँ कतै साथीसंगी र समाजतिर पनि मलेसिया लगायत अरब जानेहरुप्रति उपेक्षित ब्यवहार हुनेगरेको पाईएको छ । “श्रम बिभाग परिसरमै श्रम स्वीकृतीका लागी पुगेका सेवाग्राही माझ पनि कोही अरव जाने, कसैले “हाम्रो त इजरायल” भन्नु र कसैले “मेरो त यूरोप र अमेरिका” भन्नु जस्ता सामाजिक ब्यवहार र वाक शैलीले समाजमा बिभेद जन्माएको प्रष्ट देखिने” कुरा— हाल कुवेतमा कार्यरत सञ्चारकर्मी भुवन सुवेदी पनि बताउँछन् ।
देशको राजनैनिक अस्थिरताको दुष्परिणाम स्वरुप पछिल्लो समयमा खाडीमुलुक, बिशेशगरेर दुबाईमा रोजगारको खोजीमा भिजिट भिजामा आउने यूवाहरुको संख्या ह्वातै बढेको छ । जसको कारकको रुपमा, श्रमिक छनोटका क्रममा म्यानपावर सम्बद्ध कर्मचारिबाटै हुनेगरेको अनियमितता, नाताबाद, कृपावाद र घुसखोरीलाई लिन सकिन्छ । “राम्रो काम र दाम भएको श्रमिक मागपत्र हुँदा नातावाद, कृपावादसंगै हुनेगरेको आन्तरिक आर्थिक चलखेलले गर्दा योग्य कामदारहरुले मौका नपाएर, अयोग्यलाई बढी शुल्क असुल्ने म्यानपावर भित्र कुसंस्कार छ ।, पहुचवालाको मात्र हालीमूहाली चल्ने हुँदा यूवा जमातमा म्यानपावर एजेन्सीप्रतिको बिस्वास गुमेको छ । फलस्वरुप; योग्यता र आत्मबिस्वास भएका कोहि स्वबिवेकले र अधिकाँश दलालको चंगुलमा परेर यूवाहरु भिजिट भिजामा दुवाई आउनेगरेको र यहाँ आएर मानसिक यातनाको सिकार भएको पाईएको” धरान—दुवाई हेल्पिङ्ग ह्याण्सका एड्भाईजर बिजय सुब्बा बताउँछन् ।
राम्रो काम पाउनु नपाउनु एउटा संयोग को कुरा पनि होला तर खाने बस्ने र समयमै उचित काम लगाईदिने सर्तमा जिम्मा लिएर भिजिट भिजामा यूवा ल्याउने र पठाउने दलालहरु आफ्नो हातमा मोटो रकम लिएर यूवालाई अलपत्र पार्नेगरेको गुनासो तिनै भिजिट भिजामा आउनेहरुले गर्ने गरेका छन । एजेन्टहरु सर्त अनुसारको पैसा हातमा लिएर हप्तौं सप्पर्क बिहिन हुने, भेट भईहालेमा आफ्ना समस्याहरु राख्दा उल्टो गालीगलौज र असभ्य भाषा—शैलीमा कुरा गर्ने जस्ता हेपाहा ब्यवहार बाहिर परदेशमा आईसकेपछि पनि यूवाले खेप्नु परेको छ । एउटै कोठामा १५/२० जना सम्म बस्नु पर्ने वाध्यता रहेको राती दुवाईको अल—घुवैवा मेट्रो पार्कमा टहलिदै गरेका काठमाण्डौ घर बताउने २ जना यूवाले बताए । सुत्ने, खाने समस्याका साथै घरको कन्ट्राक्टरले कोठामा धेरैजना बसेको थाहा पाउँदा गालीगर्ने डरले आधा—आधा संख्यामा आलोपालो गरेर समेत सुत्नुपर्ने बाध्यता रहेको ति यूवाले बताए ।
हिजोआज खाडीमुलुकहरुमा पनि ब्यवसायिक मन्दीका कारण भन्नेबित्तिकै र भनेजस्तो काम पाउन गाह्रो छ । तसर्थ लगानी र आर्थिक सुरक्षाका हिसावले धेर—थोर पारिश्रमिक र काम जे जस्तो भएपनि कि त काम गर्ने कि त घर फर्किनु पर्ने बाध्यकारी स्थिति यूवा माझ छ । एजेन्टले खोजिदिएको काम मन नपरे, काम गर्दिन भन्न पाईदैन । कि त काम गर्नै पर्छ, कि त गाली र दुब्र्यवहार खेप्न तयार हुनुपर्छ । नत्र एजेन्टहरु आफ्नो जिम्मेवारीबाट बिमूख भईदिन्छन् ।
यसरी हेर्दा गाली र दुर्व्यवहारको श्रृखला देश देखि परदेशसम्म पनि रोकिएको देखिँदैन । आफ्नो अनुकुल हुनेगरि काम गर्नुको साथै पेटपालो गर्दै पारिवारिक खुसी बाँड्नकै लागि परदेशिनु हामी कतिपयको बाध्यता पनि होला । जो जहाँ रहेपनि उद्देश्य कमाउनु हो, कमाउनु भन्दा बचाउनु हो अनि परिवार र देशलाई माया गर्नु नै हो । अनुशासित भएर शिष्ट, सभ्य ब्यवहार प्रर्दशन गर्दा नै आपसमा सम्मान अभिव्यक्त होला । संगसंगै आफ्ना काम र जिम्मेवारीले पनि आफुलाई गौरवान्वित तुल्याउला । तसर्थ; तितो, रुखो बोली के का लागि..? एक पटक मनन् गर्ने कि !
Email- janakpandey24@gmail.com