arrow

नागरिकता र लाइसेन्स किर्ते गरेको अभियोगमा निरञ्जन अग्रवाल पक्राउ

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८१ साउन १६ बुधबार
niranjankumar-agrawal-birju.jpg

वीरगञ्ज । वर्षौंदेखि नजरानाको भरमा जोगिँदै आएका विवादस्पद निरञ्जनकुमार अग्रवाललाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।  वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ बस्ने नरेश ठाकुर हजामले निरञ्जनकुमार अग्रवालमाथि झुटो विवरण दिई नागरिकता लिएको तथा सवारी चालक अनुमति पत्र किर्ते गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पर्सामा मुद्दा दिन जाँदा दर्ता नगरेपछि जिल्ला सरकारी वकिल कार्यालय पर्साको पत्र अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा २०७६/११/२६ मा मुद्दा दर्ता भएको थियो ।

निरञ्जनकुमार अग्रवाल वीरगञ्जका प्रतिष्ठित किराना व्यापारी अजय अग्रवाल (हाल स्वर्गीय) को आदर्श किरानामा काम गर्न राजस्थानबाट बोलाइएको थियो ।

छोटो समयभित्र भित्र अजय अग्रवालको परिवारमा विग्रह पैदा गरी निरञ्जनले हालीमुहाली गर्न थाले। जसकारण वीरगञ्जको स्थापित व्यापारी अजय अग्रवालको वीरगञ्जबाट उठिबास भयो र निरञ्जनकुमार अग्रवाल २०६३ सालमा जन्मको आधारमा झुटो विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय पर्सामा भेटी चढाएर नेपालको नवनागरिक बनेपछि जग्गामा लगानी गरेर छोटो समयमा सय करोडभन्दा बढीको सम्पत्तिको मालिक बन्न पुगे । 

जग्गाको कारोबारसँगै सुर्ती, गुटका, चुइँगमको कारोबार गर्दै आएका निरञ्जनको व्यापारिक प्रतिष्ठानमा कयौँ पटक राजस्व अनुसन्धान र प्रहरीले छापा मार्ने मिल्ने मिलाउने काम हुँदै गयो ।

यही बीच वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ का स्थायी वासी नरेश ठाकुर हजामसँग जग्गा सम्बन्धी निरञ्जनको विवाद भयो। पैसा र शक्तिको आडमा चुर भएका निरञ्जनले भुइँमान्छे नरेश ठाकुर हजामलाई तह लगाउन अनेक प्रयत्न गरे पनि सफल भएनन् उल्टै प्रमाण जुटाएर अहिले नरेश ठाकुर हजामले निरञ्जनकुमार अग्रवाललाई प्रहरीको हिरासतमा पुर्‍याइदिएका छन् ।

हाम्राकुरासँग कुरा गर्दै हजामले भने, '२०७६ सालपछि लगातार जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दाफाँटमा निरन्तर धाइरहेको कुनै सुनवाइ भएन । एक दिन साथीभाइहरूले अहिलेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोद ढुंगेललाई सिधै भेटेर आफ्नो कुरा राख्न सल्लाह दिए। त्यही बमोजिम सम्पूर्ण कागजपत्र लिएर एसपी ढुंगेललाई भेट्न गएँ । उहाँले मुद्दा शाखाका प्रहरीलाई बोलाएर तत्काल आदेश दिनुभयो ।'

अदालतबाट पक्राउ पुर्जी जारी गराएर आज बुधबार निरञ्जनलाई गिरफ्तार गरेपछि आफूलाई सन्तुष्टि मिलेको ठाकुरको कथन थियो ।

अग्रवालले २०५१/४/५ गते लिएको सवारी चालक अनुमति पत्र भारतीय भएको जन्ममिति २०३२/४/३ उल्लेख थियो । नारायणी यातायात व्यवस्था कार्यालयका कर्मचारीहरूलाई पैसा खुवाएर उनको सवारीचालक अनुमति पत्रमा किर्ते गरेर २०३६-११-१७ जन्ममिति सच्याए र कार तथा जिप थप्न लगाई आफूले प्राप्त गरेको नागरिकता नम्बर ३४१०२२/७९ समेत उल्लेख गर्न लगाए । तर निरञ्जनको व्यक्तिगत तथ्याङ्क (मेन लाइसेन्स इन्फर्मेसन) ले उनको पोल खोलेको छ । 

अग्रवालको नागरिकतामा उल्लेख भएको जन्ममितिलाई सही मान्ने हो भने उनको नाममा जारी भएको २०५१/४/५ गते कसरी लाइसेन्स जारी हुन्छ ? त्यस वखत उनको उमेर १४ वर्ष ४ महिना १८ दिन मात्र हुन्छ।

नेपालको कानून अनुसार १६ वर्ष नपुगी नागरिकता र सवारीचालक अनुमति दुवै पाइँदैन । केही वर्ष गाडि विभिन्न ब्यक्तिले अग्रवालमथि झुटो विवरण दिएर नागरिकता लिएको विषयमा जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन दिएका थिए । त्यसमाथि कारबाही गर्नुको साटो प्रमाण फेला नपरेको भन्दै तमेलीमा राख्दै फाइल  तत्कालीन प्रमुख जिल्ला अधिकारीहरुले पैसा खाँदै गरेकाे आरोप पहिलेदेखि नै थियो ।

 अहिले आएर अग्रवालको नागरिकता, सक्कल र प्रतिलिपि सम्बन्धी फाइल खोज्दा फेला नपरेको जवाफ जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला अदालत पर्सालाई पठाएको एक पत्रमा उल्लेख गरिएको छ ।

भारतको राजस्थान चुरु जिल्लाको सरदास सहरका मूल निवासी दाबी गरिएका अग्रवालमाथि अपराध संहिता २०७४ को दफा २७६ बमोजिम झुटो विद्युतीय अभिलेख बनाएर किर्ते गरेकोसमेत आरोपमा कारवाहीको माग गरिएको पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ