arrow

शेयर गर्जन

शेयर बजार बढ्दा जीडीपीको ७५ प्रतिशत नाघ्यो बजार पूँजीकरण

कतिसम्म पुग्दा के हुन्छ ? यस्तो छ विश्वको बजार पूँजीकरणको अवस्था 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
nepse-stock-share-up-bull-market.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पछिल्लो समय शेयर बजारमा दिनप्रतिदिन सुधार हुँदै जाँदा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत शेयरहरुको बजारपूँजीकरण ७५ प्रतिशत भन्दा माथि पुगेको छ । बिहीबारको अन्तिम कारोबारमा आधारित बजारपूँजीकरणलाई हेर्दा शेयर बजार परिसूचक ७६.६४ प्रतिशत पुगेको हो । 

बिहीबारको अन्तिम कारोबारका आधारमा अहिले शेयर बजारको कुल बजारपूँजीकरण ४३ खर्ब ७२ अर्ब रुपैयाँ बराबर छ । त्यस्तै राष्ट्रिय तथ्यांक कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८०–८१ मा नेपालको कुल गार्हस्थ उत्पादन करिब ५७ खर्ब ४ अर्ब रुपैयाँ रहेको उल्लेख गरिएको छ । यी दुई तथ्यांकको आधारमा बजार पूँजीकरण–जीडीपी अनुपात सो बराबर पुगेको हो । 

बजार पूँजीकरणको विगत र अहिलेको अवस्था

शेयर बजारको पूँजीकरणमा अरु विभिन्न विषयले समेत प्रभाव पार्ने भए पनि मुख्यतः परिसूचक नै सबैभन्दा महत्वपूर्ण हुन्छ । यस अनुसार २०७८ भदौ २ गते शेयर बजार झण्डै ३१९९ को उच्चतम विन्दुमा थियो । त्यो दिन सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण ४४ खर्ब ६५ अर्ब हाराहारीमा पुगेको थियो । अहिले शेयर बजार २७५५ अंकको हाराहारीमा छ ।

नेपालको शेयर बजारले अहिलेकै सूचीकृत कम्पनीको आधारमा बजारपूँजीकरणमा विगतको रेकर्ड तोड्न अब करिब ९३ अर्ब रुपैयाँ बढ्नुपर्ने देखिन्छ । अर्थात् बजार परिसूचक २८१३ विन्दुको हाराहारीमा पुग्दा यो रेकर्ड ब्रेक हुने देखिन्छ । 

तीन वर्षको अवधिमा बजारमा ८ खर्ब भन्दा बजारपूँजीकरण भएको नयाँ शेयर जारी भएको देखिन्छ । सोही कारण बजार ३०० अंकभन्दा कम भए पनि शेयर बजारपूँजीकरणले रेकर्ड ब्रेक गर्ने अवस्था देखिएको हो । 

यदि शेयर बजारले ३१९९ को पुरानो रेकर्डलाई तोड्यो भने बजार पूँजीकरण ५० खर्ब ८० अर्बको हाराहारीमा पुग्नेछ । यसका लागि अब ७ खर्ब भन्दा धेरैको सम्पत्ति बढ्नुपर्छ । 

नेपालमा अहिलेसम्म बजार पूँजीकरण कुल ग्राहस्र्थ उत्पादनको ९५ प्रतिशतसम्म पुगेको इतिहास छ । जबकी अहिले बजारपूँजीकरण ७६ प्रतिशत हाराहारीमा मात्रै छ । यदि जीडीपी–बजारपूँजीकरणको विगतको रेकर्ड तोड्नेगरी बजार अघि बढ्ने हो भने अब झण्डै १० खर्ब ५० अर्ब रुपैयाँ बराबरले बजार बढ्नुपर्छ । यो रेकर्ड तोड्न बजार परिसूचकले झण्डै ३४०० अंक भेट्नुपर्छ । 

त्यस्तै, अहिलेको नेपालको कुल ग्रार्हस्थ उत्पादनको शतप्रतिशत बजारपूँजीकरण पुग्न भने बजार परिसूचक झण्डै ३६०० अंकमा पुग्नुपर्छ ।

कतिसम्मको पूँजीकरण बजारले धान्छ ?

शेयर बजारको पूँजीकरणलाई दोस्रो बजार सुधारको अवस्था मापनमा एउटा मुख्य आधारको रुपमा लिइन्छ । यद्यपि बजार पूँजीकरण जीडीपीको कति प्रतिशत हुनुपर्छ भन्ने कुनै अन्तर्राष्ट्रिय मापदण्ड छैन । विश्वको अवस्था हेर्ने हो भने पनि यो अवस्था देशैपिच्छे फरक फरक रहेको देखिन्छ । 

ग्लोबल इकोनोमि डटकमको तथ्यांक हेर्दा सन् २०२४ को मध्यसम्मको अवस्था हेर्ने हो भने छिमेकी राष्ट्र भारतको बजारपूँजीकरण १४० प्रतिशत रहेको छ। तर, चीनकोपूँजीकरण भने ६५ प्रतिशत हाराहारीमा मात्रै रहेको छ । 

उता सबैभन्दा ठूलो जीडीपी रहेको संयुक्त राज्य अमेरिकाको कुल बजारपूँजीकरण १९४.५ प्रतिशत रहेको छ । त्यस्तै, बेलायतको १०० प्रतिशत, अष्ट्रेलियाको १२९ प्रतिशत, फ्रान्सको ८५ प्रतिशत, जर्मनीको ६० प्रतिशत रहेको छ । बंगलादेशको भने यस्तो अनुपात करिब २७.७ प्रतिशत मात्रै छ । 

यो अनुपात सबैभन्दा धेरै हुने देशमा हङकङ सबैभन्दा अगाडी छ । २०२४ को अन्त्यसम्म हङकङमा सूचीकृत कम्पनीको बजारपूँजीकरण हङकङको जीडीपीको १२६२ प्रतिशत छ । त्यस्तै, इरानमा ३९० प्रतिशत, दक्षिण अफ्रिकाको ३४८ प्रतिशत, साउदी अरब ३४७ प्रतिशत रहेको छ । 

शेयर बजारको पूँजीकरण र जीडीपीको तुलना हुने गरे पनि यसले अर्थतन्त्रको वास्तविक अवस्थाको भने प्रतिनिधित्व गर्दैन । यसको दुईवटा कारण रहेको विज्ञहरुको बुझाइ छ । पहिलो भनेको अर्थतन्त्रभित्र भएका व्यवसायिक संस्थाहरु कति सूचीकृत छ भन्ने आधारमा हुन्छ । चीनमा अर्थतन्त्र मजबुत भए पनिपूँजीकरण कम हुनुमा त्यहाँ सञ्चालित अधिकांश साना तथा मझौला प्रकृतिका उद्योग एवं सरकारको स्वामित्वमा रहेका संस्थाहरु बजारमा सूचीकृत छैनन् । 

अर्कोतर्फ कतिपय अवस्थामा भने उक्त देशभित्र व्यवसाय सञ्चालन भएर पनि अर्को देशको बजारमा सूचीकृत हुने अवस्था समेत हुने गरेको छ । चीनकै ठूला कम्पनीहरु समेत विदेशी शेयर बजारमा सूचीकृत हुने गरेका छन् । यस्तो बजारमा लाग्नेपूँजीगत लाभकर तथा बजारसम्बन्धी प्रावधानका कारण यस्तो हुने गरेको उनीहरुको भनाइ छ । 

अहिले हङकङको स्टक एक्सचेञ्जमा चीनदेखि अन्य विभिन्न देशका कम्पनीहरु सूचीकृत हुँदै आएका छन् । हङकङ आफैँमा विकसित अर्थतन्त्र भएका कारण त्यहाँका अधिकांश कम्पनीहरु सूचीकृत समेत छन् । सोही कारण त्यहाँकोपूँजीकरण सबैभन्दा धेरै देखिएको छ ।

नेपालमा सञ्चालित कम्पनीलाई अहिले विदेशी शेयर बजारमा सूचीकृत हुन निषेध गरिएको छ । तर अझै पनि यहाँ सञ्चालित अधिकांश कम्पनीहरु बजारमा सूचीकृत भएका छैनन् । बैंक, वित्तीय संस्था लगायत नियामक निकायहरुको नियन्त्रणमा रहेको निजी क्षेत्रका कम्पनीहरुलाई शेयर जारी गर्न अनिवार्य भए पनि अरु कम्पनीलाई यो अनिवार्य नगरिँदा नेपालमा बजार पूँजीकरण अपेक्षित रुपमा छैन । यद्यपि सूचीकृत कम्पनीको आधारमा अहिलेकोपूँजीकरणलाई उच्च मान्नुपर्ने अवस्था रहेको विज्ञहरुको भनाइ छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ