arrow

एकै दिन थपिए ४० सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
dengue--ji-ha.jpeg

गण्डकी । कास्कीमा एकै दिन ४० जना डेंगी सङ्क्रमित भेटिएका छन् । योसँगै गत एक सातामा जिल्लामा ७५ जना डेंगीका बिरामी थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गत पुस यता यहाँका तीन सय ६२ जनामा डेंगीको सङ्क्रमण भएको कार्यालय प्रमुख रामबहादुर नेपालीले जानकारी दिए । 

“समयमा नियन्त्रण गर्न नसके डेंगीले भयावह रुप लिन सक्छ”, उनले भने, “पोखरा महानगरभित्रका केही वडामा तीव्र रुपमा डेंगीको सङ्क्रमण फैलिएको छ ।” उनले डेंगीले मानिसको ज्यानैसम्म लिने भएकाले सामान्य रुपमा लिन नहुने बताए । डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने उनको भनाइ छ ।

यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगी सङ्क्रमण हुने गरेको उनको भनाइ छ । समयमा उपचार नभए डेंगीबाट बिरामीको मृत्युसमेत हुन सक्ने प्रमुख नेपालीले बताए । 

पोखरा महानगरपालिका डेंगीबाट बढी प्रभावित रहेको पोखरा महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले बताए । उनका अनुसार जिल्लाभरिका सङ्क्रमित तीन सय ६२ मध्ये तीन सय १९ सङ्क्रमित पोखरा महानगरपालिकाभित्रका हुन् । सबैभन्दा धेरै वडा नं ८ मा १६ जनामा सङ्क्रमण देखिएको जनाइएको छ । 

गत वर्ष कास्कीमा तीन हजार ६९ जनालाई डेंगी लागेको थियो । तीमध्ये पोखरा महानगरपालिकामा दुई हजार आठ सय नौ थिए । “असारदेखि कात्तिकसम्म डेंगी सङ्क्रमणको जोखिम उच्च रहन्छ, यसबाट बच्ने उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो”, जनस्वास्थ्य निरीक्षक रेग्मीले भने । 

‘डेंगी सङ्क्रमण बढ्न थालेपछि पोखरा महानगरपालिकाले ‘खोज र नष्ट गर’ अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन सर्वसाधारणमा अनुरोध गरेको छ । डेंगीको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ