arrow

कांग्रेस एमालेबीचको सहमति कुनै पार्टीको खिलाफमा होइन- देउवा [भिडियो]

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
deuba-05-03.jpg

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो । 

उनले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताए । सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढ्न तयार रहेको बताए । सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताए । 

उनले भने, ‘बहुदलवादमा आधारित प्रजातान्त्रिक समाजवाद उन्मुख सिद्धान्तको आधारमा हामी अघि बढिराखेका छौं । अहिले पनि संविधान संशोधनको विषयमा ओलीजी र मेरो बीचमा सहमति भएको हो । केही कुराहरू छन् । त्यसमा नौलो कुरा केही छैन हेर्नुस् । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । अव यो राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? यही सहमति बन्छ भने उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ । यावत कुराहरूमा गर्ने गरेर अघि बढेका हुन । त्यसकारण यी विषयमा दुइटा पार्टीबिच सहमति भएको छ । यो दुई पार्टीबीचको सहमति कुनै पार्टीको खिलाफमा होइन । यो सहमतिमा अरू सबै पार्टीहरूलाई समेट्दै लैजाने हो । र नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्तलाई समाजवाद उन्मुख बनाउने विषयलाई ध्यानमा राखेर हामी अघि बढ्न खोजिराखेका छौं । हाम्रो पार्टी हो । त्यसकारण यसमा कुनै पनि साथीभाइहरूले आशंका गरिरहनुपर्ने आवश्यकता छैन । ओलीजी पनि प्रजातन्त्रको मूलभूत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली कांग्रेस प्रजातन्त्रप्रति प्रतिबद्ध हुने नै भइहाल्यो । त्यसैले जुन हामी बीचमा सहमति भएको छ । त्यो सोची विचारकन भएको सहमति हो । दुई वटा पार्टी मिले भइहाल्यो नि भन्ने पनि सुनियो । दुई वटा पार्टी मिल्नुको मतलब अरू कुनै पार्टीको खिलाफमा होइन । त्यसकारण नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), माधवकुमार नेपालजीको पार्टी नेकपा एसलगायत हामी सबै दलहरूलाई एकसाथ लिएर अघि बढाउने हो । सबै पार्टीहरूलाई साथसाथै लिएर जाने हो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ