arrow

समयको नाडी छाम्दै गरेको एक कवि      

logo
शीतल गिरी,
प्रकाशित २०८१ असोज ५ शनिबार
sheetal-giri-81-6-5.jpg

नेपाली कविताको क्षेत्रमा हिजो आज प्रयोगवादी लेखन अथवा विमर्शवादी लेखनको प्रचुरता छ । मैले बारम्बार भन्दै आएको छु कविको दायित्व लेख्नु मात्र नभएर विशिष्ट कविता सृजना गर्नु पनि हो । कवि पुडासैनीले विशिष्ट कविता सृजना गर्ने प्रयासमा यस संग्रहमा रहेका कवितामा आफ्नो सम्पूर्ण ज्ञान हतार हतारमा खन्याएको पाइन्छ । 

हुन त नेपाली पाठकमाझ धेरै राम्रा राम्रा कविताका कृतिहरू पनि आएका छन् तर तीमध्ये धेरै जसोले पाठकको साथमा भावनात्मक अत्याचार पनि गरेको पाइएको छ । यसकारण आज यस्तो कविताको अभाव महसुस गरिदैछ जसले पाठकलाई काव्यको झङ्कार पनि दिन सकोस् र साथै समय र समाजको विम्व पनि देओस् । यसमारण कविता लोकप्रिय त बनोस् नै साथै गंभीर साहित्यको गंभीर विशिष्टताहरू पनि बोकेको होस् । 

सुमन पुडासैनी ‘मित्र’ को कवितासंग्रह ‘तिम्रो स्मृति’ मा यस कसिमा घोटिन भनेर आएको छ । यसको सबभन्दा ठुलो विशेषता भनेको या यसमा रहेका कविताको क्षमताले यो एक बैठकमा पढ्न बाध्य बनाउँछ । यो सरल सहज शब्दले सिंगारिएको छ, यसमा कलाको लागि कला भनेर शब्दको खेलमा अल्झिएको छैन न त लोकप्रियतावादी तत्त्वहरूको अनावश्यक प्रयोग नै पाइन्छ । कविताको विषयवस्तु, शब्द बनावट र स्वरूप चट्ट मिलेको छ । आजको समयमा समय निकालेर साहित्य पढ्ने पाठकको संख्या दिनहुँ घटदो छ, यो कविता संग्रहमा रहेको क्षमताले भविष्यमा लेखिने कविताको लागि एउटा नमूना बन्न सक्नेछ ।        

‘तिम्रो स्मृति’ मा रहेका कवितालाई हिजोको परिभाषा र अर्थले अथ्र्याउन सक्छ जस्तो लाग्दैन । यस संग्रहमा रहेका कविताको संरचना, शिल्प, प्रस्तुति र प्रभावमा कवि पुडासैनीको छवि प्रस्ट देखापरेको छ । पुडासैनी अर्थ, शब्द र वाक्यलाई नै सबथोक ठानेर अल्झिएको पाइदैन । कविता सृजना गर्दा बडो संवेदनशील भएर भाव पक्षमा आफूलाई चुर्लुम्म डुबाएर अरू कुरो बिर्सिएर जीवन्त वनाउन जुटेको देखा पर्दछन् । वर्तमान युग गोपनीयताको नभएर पारदर्शिताको हो । कुनै पनि काव्य परिभाषाले पुडासैनीको कवितालाई समेट्ने गरी अथ्याएको पाइदैन । 

वास्तवमा भन्ने हो भने यस संग्रहमा रहेका कविताको जुन प्रवृत्ति छ, यस विषयमा कुरा गर्नु सहज भने छैन । किनभने कविको शिल्प चमत्कारले गर्दा सम्मोहित बन्न बन्न पुगेकोले यसको सतहमा प्रवेश गर्न म चाहँदिन । कतिपय कविहरूले कवितामा बढीभन्दा बढी महत्त्व ‘शब्द’ लाई दिएको पाएको छु । तर के शब्दले मात्र कविता जन्मन्छ ? ‘शब्द’ नै मात्र कविता हुन सक्छ ? अथवा ‘शब्द’ मात्रैले कविताको सम्पूर्णतालाई व्यक्त गर्न सक्छ ? कविताका संरचनालाई ‘शब्द’ ले थेग्न सक्छ ? यस संग्रहमा रहेका कविताको सन्दर्भमा भाव, शिल्पशैली, अर्थ, लय सबै कुरालाई ‘शब्द’ ले बोक्न सक्छ ? सिद्धान्तले कवितालाई अथ्र्याउन सक्छ जस्तो लाग्दैन ।     
    
परिवर्तनको प्रभाव बाह्य जीवनमा मात्र पर्दैन । समिक्ष कृतिमा जीवनका जटिलताहरू र परिवर्तनहरूलाई युवा कविले मनुष्यको स्वभाव र सम्बन्धको स्तरमा हेरेका छन्, र परिवर्तनहरूको परख सामान्य मानिसको चरित्रबाट छानेको छ । कवि पुडासैनीको समस्या साधारण मानिसका जीवनका सामान्य समस्याहरू नै हुन्, जसबाट बर्तमान समाज बनेको छ । धेरै जसो मानिसले राम्रो भनिदिएपछि नराम्रो कविता पनि राम्रो मानिने र धेरै मान्छेले चर्चा नै नगरीदिएपछि राम्रो कविता पनि नराम्रो मानिने प्रचलन पहिले पनि थियो, अहिले पनि छदै छ । 

एकातिर “झुटोे शान–सम्मानका लागि पुजेर पत्थरहरू” (पृ. ३०) भनेका छन् त अर्कोतिर “छलकपट, स्वाथीपन र निर्दयता सम्झदै” (पृ.६८) गुहार लगाइरहेका छन् । यी दुबैको बीचबाट कविता अगाडि बढाएका छन् र हाम्रो समाज र व्यवस्थाको कमजोर पत्र उधिनेका छन् । “फुल्ने प्रयासमा झर्दै गए” (पृ.९४) भनेर हाम्रो अगाडि यथार्थ चित्रण गरेका छन् । यहि यथार्थ चित्रण त हो आम जनता विवस भएर भोगिरहेको आजको समय । मुख्य कुरो त दुर्दमनीय विकास तथा अप्रासङ्गिक हुँदै गरेको पेसा र मनुष्य बीचका टकराहटबाट कवि पुडासैनीले आजको समय चिन्ने प्रयत्नमा लेखेका हुन् यी कविता ।       

पहिलो पटक कविताको यही कृतिमा काठमाडौँको बारेमा गहन चित्रण भएको हो भनेर म भन्दिन । हो कवि पुडासैनी आफ्नो निजी जीवनलाई केही समय पन्छाएर थुप्रै समस्याहरूका बीचबाट कुनै किसिमले काठमाडौंका मानीससम्म पुगेका छन्, यसको जीवन्त चित्र “यो काठमाडौँ गनायो” (पृ. १०९) मा छ । यस्तो कविताले कविलाई निकै यान्त्रिक पनि बनाइदिएको छ । 

धेरैथरिका तनाब र दबावको बीचबाट व्यवहार संझाउने पिताको आपसी संबन्धले कसरी बन्छ र बिग्रन्छ यसको प्रसङ्ग हो “तिम्रो स्मृतिमा” (पृ. ११९) । व्यग्रहतर्फ पनि संकेत गरेका छन् । स्पष्ट छ जीवन र जगतलाई बुझ्ने दर्शन कविको आध्यात्मिक छ र यीनी कर्मलाई महत्त्वदिने कर्मवादी भएकोदेखिएका छन् । भाषा मान्छेका लागि अनिवार्य माध्यम हो । मानव समाजको सर्वोत्तम उपलब्धिकै रूपमा रहेको छ भाषा । भाषाले नै मान्छेको ज्ञान विज्ञानलाई बढाएको छ । भाषाविना मानव गतिविधि शून्यमा पुग्छ । थोरैमा धेरे कुरा भनिने, सङ्क्षिप्त अभिव्यक्तिमा पनि गम्भीर कुरा गरिने भएकले यस पनि कविताको भाषा विशिष्ट हुन पुगेको छ । हो कविताको भाषा सामान्य भाषाभन्दा फरक हुन्छ । यसर्थ यस कविताको भाषा अद्भूत र चमत्कारिक पनि छ । 
        
कवि पुडासैनीले यस संग्रहको कवितामा प्रयोग गरेका नवीन दृष्टिकोण, संरचना र शिल्पलाई सिद्धान्तका पुस्तकमा रहेका परिभाषाहरूले समेटने क्षमता राख्दैनन् । तत्कालको लागि यति कुरा सजिलै मान्न सकिन्छ कि कविले कविताको माध्यमबाट समाजमा परिवर्तन ल्याउन संकेत गरेका छन् । कविले भूमण्डलीकृत वास्तविकताहरू आँकलनमा सहज रुचि प्रदर्शित गरेका छन् । कविता भनेको कलाको एउटा रूप त हो । 

मानव मनको प्राचीनतम कलात्मक कार्य । खास कुरा भनै पर्दा यस संग्रहका कवितामा विचारधाराप्रति उदासीनता देखिएको छ, तर पनि कविले मूल्यहीनता र मन्दस्वरतालाई स्वीकार गरेको पाइएको छैवा कविको रचनाको शक्ति, सीमा र सम्भावना विचार गर्दा यसमा हेरिएको या कविले नाडी छामेको समय नेपाली सामाजिकताको विस्तार हो । यो स्वतन्त्र वीचार हो, पूर्ण आत्मविश्वासको साथमा कविले आजको समयको नाडी छामेका छन् । 

कवितामा देखिने गुण–दोष विवेचन पछिको कुरा हो, पहिले यो तथ्य उजागर गर्नु आवश्यक छ, यस संग्रहका धेरैजसो कविता मानव जीवन सम्बन्धमा खरो छ, अर्को तर्फ वर्तमान समयको गतिमा केन्द्रित पनि छ । जीवनका दौडमा केही कवितामा कविले स्वयंलाई एक्लो पनि पाएका छन् । जीवन स्थितिहरू र प्रसङ्गहरूले बन्ने नेपाली यथार्थ जति जटिल र परिवर्तनहरूका साक्षी छ त्यसलाई कवितामा कवि पुडासैनीले आवश्यक सजगता र लचिलोपनकासाथ रुपान्तरित गरृका छन् । यसकारण जोड दिएर भन्न सक्छु युवा कवि पुडासैनीको शक्ति, सीमा र सम्भावना ‘शिल्प’ मा मात्र नभएर अनुभवको ‘प्रक्रिया’ मा पनि देखिएको छ ।         

सुमनले सामाजिक परिवर्तनको एउटा चिंताजनक स्वरूप तर्फ संकेत गरेका छन् । वर्तमान समयको सामाजिक विकासको शक्ति एउटा सबभन्दा ठुलो मूल्य बनेर उदाएको छ । जोसँग तागत छ, यसले समाजलाई नियन्त्रणमा राखेको छ । कविको आशय अनुसार भन्न सकिन्छ— त्यही नै समाजको मूल्य बन्दै गैरहेको छ । मिडियालाई पनि त्यस्तैले नियन्त्रत गर्दै गरेको हामी देख्दैछौं । अहिलेको मिडिया उस्को हो, जोसँग पूँजीको तागत छ । सुमनको कवितामा हामी आख्यानको अंशको गन्ध पनि पाउँछौं । यस्तो प्रवृत्ति नेपाली कवितासम्म मात्र सीमित छैन । साहित्यसम्म मात्र पनि सीमित छैन । आख्यानले जीवन स्थितिहरूको संरचनामा स्थिर गराउँदैन । 

यो सत्य हो, भूमण्डलीकृत परिदृश्यमा विचारधाराप्रति होइन, कुनै पनि किसिमको प्रकट या गुप्त सन्देशप्रति जुन उदासीनता देखापरेको छ, त्यो आजको प्रतिनिधि कविताको आम कुरा हो । भय र अमानवीयता समाप्त हुने आशाले मानिसलाई लाचार र स्तब्ध हुन दिँदैन । बजार, देश र समाजको सीमाहरू तोड्दै छन्, राजनीतिक विचारधारा र नैतिकताको सीमाहरू टुटदै छन्, अनी कविताको सीमा पनि भत्किदै छ । समाजमा ढाँचागत पुनर्गठन उच्च वर्गको पक्षमा भइरहेको छ, कवितामा संरचनागत पुनर्गठन भने साधारण जनको पक्षमा भइरहेको छ । आज कविको संवेदनशीलता जीवन–प्रक्रियाको चित्रणप्रति हो । यस लक्ष्यमा कवि पुडासैनी सफल छन् । यथार्थलाई गतिशीलता, चञ्चलता, उल्झनको साथमा चित्रित गर्नु एउटा नयाँ किसिमको वस्तुपरकता हो, यसलाई “तिम्रो स्मृतिमा” भीत्रका कविताले आर्जित गरेको छ । 

पुडासैनीको कवितामा शिल्पको युक्ति पर्याप्त छ । शिल्पको साथै वर्णनको शैली पनि छ । शिल्प र भाषाप्रति अत्यनत सजग र आग्रहशील युवा कवि सुमन सजग छन् । जीवन सुख पनि हो, दुःख पनि हो । मान्छे सुखमा खुसी हुन्छ, हाँस्छ र दुःखमा दुःखित हुन्छ, स्न्छ । जीवनपक्षीय कवि पुडासैनी जीवनलाई सामान्यतः त्यही रूपमा लिएका छन् । जीवनलाई अनेकौं दुःख पीडा र अभावहरूले थिचिरहेको बेला त्यसबाट मुक्ति पाउनु नै प्रमुख कुरा हो । कवि पुडासैनीको जीवनको आत्मपरक अथवा दार्शनिक, कुनै पनि किसिमको व्याख्यामा भएजस्तो लागेन । 

हो एकआध ठाउँमा शब्द शुद्ध छैन, कतै भाव खजमजिएको पनि पाइन्छ र वाक्यको अभाव पनि भेटाइन्छ । तर पनि कविताको मर्ममा अन्तर भने देखा पर्दैन । कविताको स्तर निर्धारणका पक्षहरू अनेक हुन्छन् । कविताको भाषा एकदम स्वच्छ र टपक्क टिपेर सजाइएको जस्तो लाग्दछ । यस संग्रहको कविताको प्रभाव पाठक र मूल्याङ्कन कर्तामा एउटै हुनुपर्छ भन्न हुदैन । सबैभन्दा महत्त्वपूर्ण कुरो कवितामा कविको हस्तक्षेप एकदम न्यून छ । हिजो आजका कवितामा प्रायः कविको हस्तक्षेप पाइने गरेको छ— यस अर्थमा सुमनले कविता बुझेर लेखेका हुन् भन्न सकिन्छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ