arrow

अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
disabled-program-81-6-15.jpg

काठमाडौँ । काठमाडौँस्थित स्वावलम्बन जीवन पद्धति केन्द्रले पूर्ण र अति असक्त अपाङ्गता भएका व्यक्तिहरूका लागि विभिन्न सहायता र सेवामा पहुँच पुर्याउने उद्देश्यले अपाङ्गता समावेशी विकास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । 

यस अवसरमा अपाङ्गता विज्ञ र अधिकारकर्मी मनिष प्रसाईंले सहजीकरण गर्दै अपाङ्गताप्रतिको साझा बुझाइ, अपाङ्गता समावेशी कार्यक्रम, लक्षित योजनाहरू तथा विभिन्न सेवाहरूको विषयमा जानकारी दिए । उनले परिचय पत्र वितरण, अपाङ्गता पहिचान र परामर्श, अपाङ्गता सम्बन्धी जनचेतना, पारा खेलकुद, सहयोगी सेवा र हेरचाह सेवाका साथै विभिन्न तालिम, गोष्ठी र छलफल कार्यक्रमहरूबारे जानकारी गराए ।

समापन कार्यक्रममा प्रमुख अतिथि तथा दिगो विकास तथा सुशासन समितिका पूर्व सभापति प्रकाश पन्तले अपाङ्गता भएका व्यक्तिहरूको समावेशी विकासका लागि स्थानीय तहमा नै व्यापक पहल आवश्यक भएको बताए । उनले स्थानीय स्तरमै अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यक्रम सञ्चालन गर्न सबै सरोकारवाला निकायहरूले मिलेर काम गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा टोखा नगरपालिकाकी कार्यपालिका सदस्य शान्त राईले अपाङ्गता भएका व्यक्तिहरूका लागि अझै पनि शैक्षिक पहुँच र भौतिक संरचनामा चुनौतीहरू रहेको र यसलाई समाधान गर्न नगरपालिकाले विशेष पहल गर्ने बताइन् । 

बुढानीलकण्ठ नगरपालिका वडा नं ६ की वडा सदस्य मेनुका भुषालले स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूका लागि पर्याप्त काम गर्न नसकेको भन्दै आगामी दिनमा संघ संस्थाहरूले कामको अनुगमन र प्रभावकारिता मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।

दुई दिने कार्यक्रममा आयोजक संस्थाका महासचिव गणेश केसीले अपाङ्गता भएका व्यक्तिहरूले सरकारबाट प्राप्त गर्ने सेवा-सुविधाहरूका चुनौतीहरूबारे चर्चा गरे । साथै डिसएबिलिटी राइट्स फण्डका अधिकृत कृष्ण गहतराजले अपाङ्गता समावेशी विकासको आवश्यकता र आरसीआरडी भक्तपुरका निर्देशक सूर्यभक्त प्रजापतीले समावेशी समाज निर्माणमा स्थानीय सरकारको भूमिकाबारे आफ्नो प्रस्तुति राखे । निडवानकी अध्यक्ष प्रतिमा गुरुङले अपाङ्गता समावेशी विकास र अन्तर सम्बन्धबारे कार्यपत्र प्रस्तुत गरिन् । 

स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेकबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वावलम्बी बनाउन स्थापनाकालदेखि विभिन्न निकायहरूसँग सहकार्य गर्दै आएको र स्थानीय निकायहरूले पनि आफ्ना नियमित कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई समावेश गर्नुपर्नेमा जोड दिए । 

उक्त कार्यक्रम राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल (निडवान) र स्पाइनल कर्ड इन्जुरी नेटवर्कको सहकार्यमा, डिसएबिलिटी राइट्स फण्ड र डिसएबिलिटि राइट्स एड्भोकेसी फण्डको साझेदारीमा आयोजना गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ