arrow

दशैँमा मासु कति र कसरी खाने ?

logo
डा बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ असोज २४ बिहिबार
badri-ojha-81-6-24.jpg

एकजना मानिसले कति मासु पचाउन सक्ला ? सामान्यतया मानिसले आफ्नो शरीरको अनुपातमा प्रतिकेजी तौल बराबर एक ग्रामका दरले मासु पचाउँछ भनिन्छ । 

जस्तो कि ७० केजी तौल भएको मानिसले ७० ग्राम मासु पचाउँछ । त्योभन्दा बढी भए मलमात्र बढ्छ भनिन्छ । अमेरिकी कृषि मन्त्रालयले एक पटकमा ८५ देखि बढीमा एक सय ७० ग्राम मात्र मासु खानु भन्ने सुझाव दिएको छ । 

हाम्रोतिर काँचो मासु खाने प्रचलन खासै छैन । त्यसैले पनि मासु पचाउन त्यति कठिन पर्दैन । सबैलाई थाहा भएकै कुरो हो, कुखुराको मासु तथा माछा पचाउन सजिलो हुन्छ । खसी, भेडाच्यांग्रा, राँगा तथा बंगुरको मासु पचाउन अलि कठिन पर्छ । 

मासु पकाउने तरिकाले पनि मासु पचाउन सजिलो पर्दछ । आजकल आधुनिक तौरतरिका र यन्त्रउपकरणले पाककलालाई पनि सजिलो बनाएको छ । 

ग्रिल गरेको वा उसिनेको मासु बढी असल मानिन्छ । भुटेको मासुले अलि दुःख दिन्छ । तर बढी पाकेको मासु पनि पचाउन कठिन पर्ने पाकविद्हरु बताउँछन् । 

मासु राम्ररी चपाएर खानुपर्छ भन्ने त सबैलाई थाहैछ । मासु चपाउनाले मांशपेशी, रेसा र नसा छुट्टिने हुनाले पेटलाई पचाउन सजिलो पर्दछ । चपाउँदा निस्कने ग्रन्थीले पनि पचाउन सहयोग गर्दछ । 

मासु किन्दा भरसक आलो मासु किनौँ । ससेज जस्ता प्रशोधित मासुका तुलनामा आलो मासु नै शरीरका लागि असल मानिन्छ । सामान्यतया दशैँमा आलो मासु नै बढी उपभोग गरिन्छ । 

आज मासुमात्र खाऔँ भन्नु हुँदैन । मासुसँग तरकारी र सिंगो गेडागुडी खानाले पाचन क्रियामा सजिलो पार्दछ । मासु खाँदा हतार नगरी खानुपर्दछ भन्ने पनि सबैले जानेकै कुरो हो । 

अन्जानहरुलाई पनि यस्तो जानकारी दिऔँ । मासु खाएपछि पानी पनि प्रशस्त पिउनु पर्दछ । यसले पनि मासुलाई पचाउन सजिलो पर्छ । 

मासु खाएपछि दही गुन्द्रुक, किम्ची, आदि खानाले पनि पाचनमा सजिलो पर्दछ । मासु खाएपछि कसरत गर्नुपर्छ भन्नै पदैन । 

मादक पदार्थले मासु पचाउन सजिलो पार्छ ?
पार्दैन । सामान्यतया मासु खाएपछि मादक पदार्थ सेवन गरे पचाउन सजिलो पर्छ भन्ने गलत धारणा छ । मासु खाएका दिन महिलाले बढीमा एक सय ५० एमएल र पुरुषले तीन सय एमएलसम्म बियर  खानु ठिक्क मानिन्छ । 

यसैगरी एक सय ५० एमएल रेड वाइन खानु असल मानिन्छ । यसैगरी ४५ एमएलसम्म ह्विस्की वा भोड्का खानु ठिक्क मानिन्छ । यतिले पाचनक्रियामा असर गर्दैन तर यो भन्दा बढी खाए पाचन क्रियामा असर पर्दछ । 

सामान्यतया मादक पदार्थ स्वास्थ्यका लागि राम्रो मानिँदैन । विश्व स्वास्थ्य संगठनले रक्सी स्वास्थ्यका लागि हानिकारक नै मान्दछ । तर अमेरिकी रोग नियन्त्रण केन्द्रले भने केही मात्रामा मादक पदार्थ खासगरी रेड वाइनलाई स्वीकार गरेको छ । 

तथ्यांकअनुसार मासु बढी उपभोग हुने देशमा अमेरिका, अस्ट्रेलिया र अर्जेन्टिना पर्दछन् । यसैगरी बढी रक्सी उपभोग हुने देशमा फ्रान्स, जर्मनी र रुस पर्दछन् । 

अमेरिकी कृषि मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार मानिसले दैनिक सरदर माछा, मासु, अन्डा र गेडागुडी गरी बढीमा एक सय ८० ग्राम प्रोटिन खानु पर्दछ । 

यो क्रम मानिसको उमेर, लिंग र कामको प्रकृति अनुसार फरक पर्दछ । यसैगरी सातामा दुई २५ ग्राम समुद्री खाद्य तत्व खाए मानिसको मुटु स्वस्थ्यकर बन्दछ । 

यसैगरी शाकाहारीका लागि पनि आवश्यक प्रोटिनको मात्राका लागि मन्त्रालयले मापदण्ड तयार पारेको छ । 

माछा, मासु र अन्डा नखाने वयष्क महिलाले शरीरको आवश्यकता पूर्तिका लागि दैनिक ४६ ग्राम र पुरुषले ५६ ग्राम प्रोटिन खानैपर्दछ । 

अरु खानेकुराबाट विभिन्न तत्व पाइए पनि आइरन र भिटामिन बी १२ वनस्पतिबाट निकै कम पाइन्छ ।

त्यसैले शाकाहारीले यसमाथि विचार गर्नुपर्दछ नत्र कुपोषणको मारमा पर्ने संभावना रहन्छ । यसो भएमा नसाको समस्या, स्मरण शक्तिमा ह्रास र रगत कमी हुन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ