arrow

३० घण्टाभित्र नेपाली र ७ दिन भित्र विदेशी उद्योग दर्ता नभए कारबाही

logo
नविन्द्रराज जोशी,
प्रकाशित २०७३ पुष ६ बुधबार
nabindra-raj-Joshi-congress.jpeg

काठमाडौं । हामी अहिले मुलुकको गम्भीर समस्याको रुपमा रहेको बेरोजगारी समस्या समाधान र नेपालमा नै नेपालीलाई रोजगारीको अवसर सिर्जना गराउनको लागि प्रयासरत छौं । लामो समयदेखि रोजगारीको लागि विदेशिनुपर्ने बाध्यतामा पिल्सिएका हामीहरु सम्भावनाको सपनामा तैरिँदै बैदेशिक र स्वदेशी रोजगारीको माध्यमबाट आफ्नै परिवारको साथमा बसेर रोजगारी पाउने सपनालाई सार्थकता दिन प्रयासरत छौं । 

त्यही प्रयासको एउटा खुड्किलो हो हामीले आज अन्तिम छलफलको लागि ल्याएको ‘वैदेशिक लगानी(एफडिआई) सम्बन्धि कानुनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ । जुन विधेयक आम अर्थशास्त्रीहरू तथा यस क्षेत्रका विज्ञहरूको सुझावबाट एकदमै राम्रो भएको छ भन्ने मैले महसुस गरेको छु । 
 
हामी अहिले रोजगारीको खोजीमा ५० डिग्रीको तातो भूमीमा पसिना बगाईरहन बाध्य छौं । हाम्रा दाजुभाइहरु आफ्नो परिवारको माया छाडेर विदेशिएको कुनै रहरले होईन भन्ने पनि हामीलाई थाहा छ । तर हामी किन कहिल्यै पनि नेपालीलाई नेपालमा नै रोजगारीको अवसर दिन सक्दैनौं ? विदेशबाट नेपालमा आएर रोजगारी खोजिरहेका छन् भनेर हामीले किन नभन्ने ? यो गम्भीर प्रश्न सबैसामु उब्जिएको छ । 
 
हामीले यो ऐनको विषयमा यस भन्दा अगाडि पनि धेरै छलफलहरु ग¥यौं । जब म उद्योग मन्त्रीको रूपमा रहेर यो मन्त्रालयमा प्रवेश गरेँ मैले धेरै अपेक्षा राखेको पनि थिईन र छैन पनि । मात्रै मैले आफू मन्त्री भईसकेपछि भनी राजनीतिक दलका नेताहरुलाइ सराप्दै कुनैपनि नेपालीले अरुको देशमा कामगर्न जानू नपरोस् भनेर नै केही प्रयास गरिरहेको छु । मैले म मन्त्री भईसकेपछि केही प्राप्त गर्न सकेको अनुभूति सबै नेपालीले गर्न सकून् भन्ने सोचले नै सुरूदेखि नै कामगर्दै आएको हुँ । 
 
कुनैपनि मुलुकमा औंद्योगीकरण विना रोजगारी सम्भव छैन । औद्योगीकरण विना आर्थिक विकास पनि सम्भव छैन । त्यसैले हाम्रो अर्थात् अहिले मैले नेतृत्व गरिरहेको उद्योग मन्त्रालयलाई आर्थिक समृद्धिदेखि रोजगारी सिर्जना गर्नुपर्नेसम्मको जिम्मेवारी रहेको छ । यसकोलागि नेपाली लगानीसँगै विदेशी लगानीको पनि उत्तिकै आवश्यकता रहेको देखिन्छ । त्यसैले कसरी बढी बैदेशिक लगानी भित्र्याउन सकिन्छ भन्ने सवालमा हामीले यो छलफल आयोजना गरेका हौं । यस कार्यक्रममा आएका अधिकांश सुझावहरू हामी ऐनमा समेट्ने कोशिष गर्नेछौ ।  
 
हामीलाई यो देशको आर्थिक रुपमा भविष्य सुन्दर बनाउनको लागि पनि औद्योगीकरणको आवश्यकता रहेको छ । हाम्रो मार्केट नै व्यवसायमा मात्रै केन्द्रीत छ भने हामीसँग उत्पादन गर्ने कुनैपनि बाटो नै छैन भने हामीले मुलुकमा आर्थिक विकासको सोचाई राख्ने, मुलुकलाई आत्मनिर्भरताको बाटो तर्फ लैजाने र मुलुकमा नै रोजगारीको सिर्जना गर्ने कुरा कोरा कल्पनामा मात्रै सीमित हुन्छ । 
 
मैले भन्ने गरेको छु कि रोड विकासको हिसावले नेपाल कुनैपनि मुलुकभन्दा कम छैन । विकासको लागि भन्नेहो भने हामी चीनको भन्दा पनि बढी अनुपातको भूभागमा रोडको पहुँचमा छौं । त्यसैले हामीले उत्पादन गरेका बस्तुहरू भारत र चीनमा समेत बजार पाउन सक्छन् भनेर हामीले सोच्न किन सकिँदैन ? त्यसैले हामीसँग धेरै ठूलो बजारको पहुँच छ भन्ने हाम्रो दाबी हो । 
 
वैदेशिक लगानी र बैदेशिक रोजगारीलाई समेटेर म तपाईँहरुलाई एउटा प्रश्न सोध्न चाहन्छु । के हाम्रा नेपाली युवाहरुचाहिँ सधैंभरी ५० डि. सेल्सियसको गर्मीमा काम गर्नु राम्रो हो ? कि आफ्नो देशमा आफूले भनेको कानून अनुसार कामगर्नु राम्रो ? यही दुई कुरालाई हामीले कसरी अघि बढाउने भन्ने कुरा हाम्रै हातमा रहेको छ । 
 
त्यसैले अहिलेको समयमा हामीले मुलुकलाई नै गम्भीर मोडबाट बदल्ने मौका मिलिरहेको छ । त्यसमा सबैजना मिलेर कामगर्नु आवश्यक रहेको छ । म के कुरामा गम्भीर छु भने हामी कहिले समितिमा प्रस्ताव पठाउने कुरा र छलफलको नाममा नै समय व्यतित हुने गरेको समस्याबाट ग्रसित छौ । 
 
तर यो समस्या अहिले आउँदैन कि भन्ने मेरो विश्वास हो । किनकी हामीले यो ऐनलाई भने पहिले नै धेरै छलफल र बहस मार्फत् काँटछाँट गरिसकेको छौं । त्यसैले यो यथाशीघ्र चाँडो मन्त्रालयबाट पठाईने छ । र जहाँसम्म रह्यो यहाँ प्राप्त सुझावहरूको कुरा यसलाई भने हामीले सकेसम्म धेरै सुझावहरू समेट्ने कोशिष गर्नेछौं । 
 
हामी अहिले एउटा यस्तो रेलमा चढिरहेका छौं । यो रेल मान्छे चढेपछि मात्रै अघि बढ्छ । जुन अहिलेसम्म त्यति छिटो हिँड्न सकेको थिएन । अब हामी द्रूत गतिमा गन्तव्यतर्फ लाग्नेछौं । 
 
अघि केही साथीहरूले पनि भन्नुभयो त्यही अनुरूप हाम्रो लक्ष्य पनि के हो भने कुनैपनि नेपाली अबको १० वर्ष भित्र रोजगारीको लागि विदेशिन बाध्य हुने छैन । नेपालमा नै रोजगारी नपाएर कुनैपनि नेपाली अरबको ५० डिग्रीमा खटिनुपर्ने अवस्था विस्तारै दूर हुँदै जानेछ र एक दशकमा यो निमिट्यान्न हुनेछ । यसका लागि लागि उद्योग मन्त्रालय जस्तोसुकै कदम उठाउन पनि तयार छ । हामी जस्तासुकै काम पनि गरेर अघि बढ्नेछौँ । 
 
अहिलेसम्म नेपालीहरुले जसरी विदेशमा गएर विदेशीको सेवा गरिरहेका छन् अब ती जनशक्तिहरूलाई नेपालमा नै बोलाएर नेपालीकै सेवा गरेर रोजगारी दिने हामो लक्ष्य हो । हामी अब त्यसको लागि धेरै व्यवस्थित पनि बनिरहेका छौ । हामी अब विदेशतिर जस्तै कुनै कुरा कम्प्युटरमा खोज्ने वित्तिकै सबै विवरण एकैपटक आउने प्रविधि पनि जडान गर्दैछौं । 
 
मैले उद्योग विभागमा भनेको छु कुनैपनि नेपाली उद्यमीले पूरा कागजात राखेर प्रस्ताव पेश गरेको ३० घण्टाभित्र उद्योग दर्ता भईसक्नुपर्नेछ । आज विहान १० बजे आएर कसैले प्रस्ताव दर्ता गरेको छ भने भोलि ४ बजेसम्म त्यो दर्ता भईहाल्नु पर्छ । होईन भने सम्बन्धित कर्मचारीले यसको जवाफ दिनुपर्छ । 
 
त्यस्तै, विदेशी लगानीको लागि पनि ७ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरिसक्न भनिसकेको छु । त्यसैले म समग्रमा भन्दैछु हामी अब लगानीमैत्री वातावरणको लागि पूर्ण प्रतिबद्ध रहेका छौं । त्यसको सवलताको लागि सबै क्षेत्रको साथको अपेक्षा पनि छ । 
 
(उद्योगमन्त्री जोशीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको मन्तब्यको सम्पादित अंश)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ