डेढ हजारलाई कांग्रेसमा स्वागत गर्दै निधी भन्छन् - मधेसको समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै
कृष्ण थपलिया,
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
2.6k
Shares
सर्लाही । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले मधेसको समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने दाबी गरेका छन् । जिल्लाको रामनगर गाउँपालिका - १ खैर्वामा कांग्रेसले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेसीहरुले लोकतन्त्र, समाजवाद, संघीयता, मिश्रित निर्वाचन प्रणालीसहित नौ ओटा मूलमन्त्र सधैं याद गर्नुपर्ने बताउँदै उनले कांग्रेसीजनको रक्षा नेपाली कांग्रेसले गर्ने बताए ।
उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै कांग्रेस अब एक ढिक्का भएर अघि बड्ने विश्वास व्यक्त गरे । उनले पार्टी भित्र सुदृढीकरण र शुद्धीकरण दुवै आवश्यक रहेको बताए ।
नेता निधीले पार्टी भित्रका आपसी मतभेदलाई एक ठाउँमा बसेर समाधान गर्न जिल्ला नेतृत्वलाई आग्रह गरे । 'लोकतान्त्रिक पार्टी भित्र सामान्य मतभेद हुन्छ, मतभेदको कारण पार्टीलाई कमजोर बनाउनेतिर लाग्नु भन्दा पनि बलियो बनाउनेतिर लाग्नुपर्छ, नेपाली कांग्रेस पार्टी पुरानो इतिहास बोकेको पार्टी हो, सबै मिलेर अघि बढौँ', उनले भने ।
कांग्रेस कमजोर भयो भने लोकतन्त्रमाथि खतरा हुने, पार्टीभित्रको आन्तरिक द्वन्द्वको फाइदा अरुले लिने हुँदा सबै सजक हुनु पर्नेमा नेता निधीको जोड छ ।
उनले १५ औँ महाधिवेशन एक वर्षपछि हुने बताउँदै सबै नेता कार्यकर्ताहरु एक भएर आगामी महाधिवेशन सफल बनाउन आग्रह गरे ।
'पार्टी आन्तरिक रूपमा बलियो भएमात्र कांग्रेसले ८४ सालमा बहुमत प्राप्त गर्न सक्छ, मधेसको समग्र विकासको लागि कांग्रेसको बहुमतको सरकार चाहिन्छ । त्यसका लागि आजैदेखि एक ढिक्का भएर अभियान लाग्नुपर्छ', उनले भने ।
नेपाली कांग्रेसले संविधानका केही बुँदालाई आवश्यकता हेरी संशोधन गर्न प्रस्ताव अघि सारेको बताए ।
नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक हजार ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई नेता निधी, नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहसहितका नेताहरुले अविरमाला लगाई पार्टीमा स्वागत गरेका थिए ।
आमसभामा पूर्व सभापति एवम् मन्त्री नागेन्द्र राय,संविधानसभा सदस्य एवम् पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,जंगिलाल राय, हरेश महतो,उप्रेन्द्र सिंह कुशवाह,कृष्णदेव यादव,जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह,महासमिति सदस्य प्रमोद बराल लगायतको उपस्थित रहेको थियो ।