हुम्लामा पहिलो हिमपात, जनजीवन कष्टकर, किसान खुशी [भिडियो]
जनकबहादुर शाही,
प्रकाशित २०८१ मंसिर २४ सोमबार
597
Shares
हुम्ला । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको छ । आइतबार मध्यरातिदेखि हुम्लामा हिमपात भएको हो । आइतबार मौसममा बदली भइ रातिदेखि हुम्लामा हिमपात भएको हो ।
गत वर्ष मंसिर दोस्रो सातामा हिमपात शुरु भए पनि यस पटक भने मंसिर अन्तिम सातामा हिमपात भएको हो । हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी प्रकाश भण्डारीले बताए ।
हिमपात सँगै अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । विद्यार्थीहरु कठिनपूर्वक विद्यालय गइरहेका छन् । हिमपातले हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी,चाला क्षेत्रमा पनि भारी हिमपात भएको छ ।
लामो समयदेखि हिउँदे झरी र हिउँ नपर्दा निराश बनेका किसानहरू सोमबार प्रतिकूल मौसमका कारण हिउँ पर्न थालेपछि खुशी भएका छन् । हिउँदे वर्षा र हिमपातले खेतिपाती र पशुपालनलाई तत्काल असर गरेको जस्तो देखिए पनि यसले पछि राम्रो गर्ने स्थानियको भनाइ छ ।
हिमपात भएसँगै हुम्लामा अत्यधिक चिसो बढेर तापक्रम माइनस ५ डिग्रीमा झरेको छ । चिसोले हुम्लाको जनजीवन प्रभावित भएको छ । हिमपातले हुम्लाको एक मात्र हवाई सेवा पनि अवरुद्ध भएको छ ।
हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका सबै क्षेत्रमा भारी हिमपात भएको छ। भने दक्षिणी क्षेत्रका सर्केगाड, चंखेली, अदानचुली र तांजाकोट गाउँपालिकाका लेकतिर हिमपात र बेसीतिर बर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।