arrow

कांग्रेसले गण्डकी प्रदेश सभा सदस्यमा थापाकाे नाम गर्‍यो सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
sunita-thapa-gandaki.jpg

पोखरा । स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेश सभाको रिक्त समानुपातिक सदस्य पदमा सिफारिस भएकी छिन् ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिकाे आज बसेकाे बैठकले थापाको नाम प्रदेशसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले समानुपातिकको बन्द सूचीकाे पहिलाे नम्बरमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस सांसद म्याग्दीकी विमला गौचनको केही अघि निधन भएपछि गण्डकीमा कांग्रेसको तर्फबाट समानुपातिक महिला सांसद पद रिक्त थियो ।

कांग्रेसले निर्वाचन आयोगमा सिफारिस गरेपछि आयोगले मापदण्ड अनुसार भए/नभएको अध्ययन गर्नेछ ।

मापदण्ड पुगेमा आयोगले थापालाई सांसदमा नियुक्त गरेपछि सभामुखले शपथ ग्रहण गराउनेछन् ।

को हुन् सुनिता थापा ?
स्याङ्जा चापाकोटकी थापा निर्वाचनका बेला कांग्रेसले बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति क्लस्टरको पाँचौ नम्बरमा रहेकी थिइन् । यसअघिका चार नम्बरसम्मका सांसद बनिसकेका छन् । गौचन एक नम्बरमा थिइन् । उनको निधनपछि सुनिताको स्वतः पालो आएको हो । 

आदिवासी/जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार समानुपातिक सांसद बनेर प्रदेश सभामा पुगेका थिए । 

चापाकोट नगरपालिका-९ मा जन्मिएकी सुनिताले अपांगता भएका व्यक्तिहरुको हकहितमा काम गर्दै आएकी छिन् । उनी आफू पनि अपांगता भएकी हुन् ।  विभिन्न अपांगता भएकाहरुको क्षेत्रमा अभियन्ताका रुपमा उनी निरन्तर सक्रिय छिन् ।

सुनिताले ६ कक्षा पढ्दै गर्दा बिरामी भएर एक्कासी श्रवण शक्ति गुमाएकी थिइन् । आफूले नसुन्ने तर नेपाली, अंग्रेजी प्रस्टसँग बोल्न र आफ्नो भनाइ राख्न सक्ने सुनिताले विभिन्न गैरसरकारी संस्थामा काम गर्दै राजनीतिमा पनि सक्रिय बनेकी हुन् । 

३२ वर्षीया सुनिताले स्नातक पढेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ