arrow

सांसदहरु नै भन्छन् – भ्रष्टाचार निवारण ऐनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १४ आइतबार
corruption-ti-81-9-14.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले यहाँ आज आयोजना गरेको ‘महिलाका सामाजिक तथा आर्थिक अधिकारमा भ्रष्टाचारको नकारात्मक प्रभाव’ विषयक अन्तरक्रियामा सांसदहरुले भ्रष्टाचारको सम्बन्धमा सर्वसाधारणको सुख शान्ति र आर्थिक हितका लागि ऐनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताए । 

सांसद रोशना कार्कीले सबै क्षेत्रबाट भ्रष्टाचार हटाउन ऐनको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताइन् । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएकाले पनि भ्रष्टाचारलाई प्रशय पुगेको हो कि भन्ने उनको धारणा थियो । 

सांसद लक्ष्मी तिवारीले मुलुकमा व्यवस्था परिवर्तन भए पनि सामाजिक सोचमा खासै परिवर्तन नभएको उल्लेख गर्दै तुलनात्मक रुपमा महिलाले अवसर र जिम्मेवारी पाएमा भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने भनाइ राखिन् । 

सांसद शान्ति श्रेष्ठले महिलालाई हरेक क्षेत्रको नेतृत्वमा सुनिश्चित सहभागी गराई सुशासन स्थापित गराउन राज्यले विशेष नीति अवलम्बन गर्नुपर्ने बताइन् । 

भ्रष्टाचारका कारणले गर्दा विभिन्न वर्गका महिलालाई पर्ने असर कम गराई समग्र महिलाको आर्थिक र सामाजिक अधिकार सुनिश्चित गरिनुपर्नेमा उनको जोड थियो । 

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संसद्मा दर्ता भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुुसन्धान आयोग (तेस्रो संशोधन), २०७६ लाई प्रभावकारी बनाउने गरी शीघ्र पारित गरि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने धारणा राखिन् ।

 अधिवक्ता अजिता अर्यालले राजस्व चुहावट तथा निवारण ऐन २०५२, विशेष अदालत ऐन २०५९, सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ र निजामती सेवा ऐन २०७४ लगायत भ्रष्टाचारसँग सम्बन्धित सबै ऐन–कानूनको प्रभावकारी कार्यान्वयन र समय सापेक्ष आवश्यक सुधार गर्नेतर्फ थप छलफल चलाउनुपर्ने आवश्यकता औँल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ