arrow

यो पो खुशीको खवरः ‘विकट गाउँका आठ सय घरमा ‘एक घर एक धारा’

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
tap-water.jpeg
फलेवास । व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । 
 
गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । 
 
अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ । 
 
अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजवासीहरु अब भने लाभान्वित हुने भएका छन् । 
 
जिल्लाकै दोस्रो ठूलो योजनाका रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नु पर्ने छ । 
 
उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो । 
 
अहिले आयोजनाको काम धमाधम भइरहेको छ । २०६७÷६८ बाट सुरु भएको योजना पाँच वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा सञ्चालन भएको थियो । 
 
रु चार करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयवासीले झन्डै रु ३९ लाख बराबरको श्रमदान गरेका छन् । पाइपलाई विस्तार र विभिन्न ट्याङ्की निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिए । 
 
चालु आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जनाए । योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उनको भनाइ छ । 
 
एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिए । उनका अनुसार योजनालाई चालु आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष रु ८० लाख विनियोजन भएको छ । 
 
योबाहेक पर्वतको फलेवासमा रु सात करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । 
 
उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ । 
 
जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रुपमा लिन सकिने उनी बताउँछन् ।  
 
घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयम् उपभोक्ताले तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर रु सात हजार तोकिसकेको छ । 
 
सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क रु ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि रु सात हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए । 
 
उनका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ