माओवादी र कांग्रेसका प्रमुख सचेतकबीच आरोप-प्रत्यारोप [भिडियो]
माओवादी प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याए - कांग्रेस प्रमुख सचेतक
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १५ मंगलबार
530
Shares
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकले अतिरञ्जित तवरले भ्रम फैल्याएको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले आफूले भन्दै नभनेको कुरालाई अतिरञ्जना गरिएको स्पष्ट पारे ।
बैठक सकिएपछि प्रमुख सचेतक हितराज पाण्डेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख सचेतक घिमिरेले अध्यादेशबाटै सरकार चलाउने भनेको आरोप लगाएका थिए । उनले भने, ‘मन्त्रीज्यूले सरकारको आवश्यकता भएकाले अध्यादेश ल्यायौँ भन्नुभयो । त्यसपछि सदनको सबैभन्दा ठूलो दलको प्रमुख सचेतक मान्यज्युले अब त सरकार अध्यादेशबाट नै चलाउने हो भन्नुभयो । मैले प्रतिप्रश्न गरेँ । यसअघि पनि संसद् विघटन भएकै हो । अहिले ६ वटा त आएकै छ । त्यो ६ वटा अध्यादेश अहिले धेरै दिन छैन, यति थोरै समयमा किन ल्याउनुपर्यो भन्दा सदनमा विधेयक छिटो नआएपछि सरकार त अध्यादेश ल्याएर चलाउँछ भन्नुभयो । यो जनता, विपक्षीहरूको लागि महत्त्वपूर्ण हो । यो संसद्मा गम्भीर ढङ्गले प्रश्न उठाउँछौँ ।’
सोही कुराको खण्डन गर्दै कांग्रेसका प्रमुख सचेतकले आफूले बैठकमा संसद्मा पेस भएका विधेयकहरूलाई कानूनको रूप दिन ढिलाइ भइरहेको र यसले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गरिरहेकाले विधेयक छिटो, छरितो रूपमा टुङ्ग्याउनुपर्ने कुरा राख्दा अतिरञ्जना फैल्याइएको बताए । उनले कानून निर्माण गर्ने प्रक्रिया छिटो हुनुपर्ने बताए ।
उनले भने, ‘संसद्को सबैभन्दा ठूलो दलले अध्यादेशबाट सरकार चलाइन्छ भन्ने कुरा भने भन्ने कुरा सुनेँ । हाम्रो कानून निर्माण गर्ने प्रक्रिया संसद्मा असाध्यै धिमा गतिमा भयो । हामीले दुई वर्षको अवधिमा जम्मा बजेटसँग सम्बन्धित कानून बाहेक ११ वटा कानून निर्माण गरेछौँ । कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित ग¥यो । हामीले कानून बनाउने प्रक्रियालाई गति दिनुपर्यो । यो मैले भनेको कुरालाई उनले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उनले बोल्नुभयो ।’
उनले कुनै पनि विधेयक संसद्मा पेस भएको कति दिनभित्रमा कानूनको आकार ग्रहण गर्ने हो ? भन्ने कुराको निश्चितता र समयसीमा हुनुपर्ने बताए ।