सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाका चार विषगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । लामो समयदेखि नेतृत्वविहीन रहेका प्रदेशसभाका विषयगत समितिका सभापतिको नेतृत्वका बारेमा दलहरुबीच भएको सहमतिबमोजिम ती समिमिका सभापति निर्विरोध निर्वाचित भएका हुन् ।
प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट विशेषाधिकार समितिको सभापतिमा तुल्सी देवकोटा निर्वाचित हुँदा अर्को सत्ता साझेदार नेकपा एमालेका धर्मराज पाठक सामाजिक विकास समितिको सभापति भएका छन् ।
सत्तामै रहेको नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी अर्थविकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा निर्वाचित भएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबाट लेखा समितिको सभापतिमा अक्कलबहादुर रावल निर्वाचित भएका छन् ।
निर्वाचन गराउन प्रकाशित निर्वाचन कार्यतालिका अनुसार चार समितिको सभापतिमा एक एक जनाको उम्मेदारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशसभा नियमावलीबमोजिम दलहरुबीच प्रदेशसभामा विषेशाधिकार समिति गठन गर्ने सहमति भएको थियो ।
यसअघिसम्म प्रदेशसभामा चार विषयगत समिति क्रियाशील रहेका थिए । दलहरुको सहमतिबमोजिम विषेशाधिकार समिति गठन गरिएको हो । विधायन तथा प्रदेश मामिला समितिका सभापतिबाहेक अन्य समिति नेतृत्वविहीन हुँदा समितिहरु ज्येष्ठ सदस्यको भरमा चल्दै आएका थिए । विषयगत समिति नेतृत्वविहीन हुँदा समितिका कामकारबाही प्रभावित भएका थिए ।
झण्डै एक वर्षअघि अर्थविकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी, सामाजिक विकास समितिमा नेकपा एकीकृत समाजवादीकी माया पन्त, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका वीरबहादुर थापा र विधायन तथा प्रदेश मामिला समितिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्वाचित भएका थिए ।
सत्ता समीकरण फेरबदल भएसँगै विधायन तथा प्रदेश मामिला समिति सभापतिबाहेकका अन्य समिति गत असार महिनादेखि नेतृत्वविहीन थिए ।